विश्व रेकर्ड बनाउन जलरङ चित्र कार्यशाला

गैंडाकोट,२५ कात्तिक ।
मौलाकालिका मन्दिरको फेदीबाट मंगलबार अपरान्ह सिँढी उक्लेको कलाकारहरूको टोली मौलाकाली सामुदायिक वनको सुन्दरतासँग रमाउँदै घाम डुब्नु अगावै मन्दिर परिसरमा पुगे । टोली एकछिन थकान मेट्न सुस्ताए त्यसपछि आफ्नो सिर्जना कर्ममा लागे ।
अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल च्याप्टरले आयोजना गरेको अविछिन्न १०० घन्टे जलरङ सिर्जना कार्यशाला कार्यक्रममा सहभागी हुन चितवन र नवलपरासीका १० जना स्रस्टासहितको टोली पूर्वीनवलपरासीको मौलाकालिका मन्दिरमा पुगेका हुन् । मंगलबार साँझ ६ बजेबाट सुरु भएको चितवन र नवलपरासीका कलाकारको यो सामूहिक चित्र सिर्जना कार्यशाला बुधबार बिहान ९ बजेसम्म चल्नेछ ।

कार्यशालाको सुरुवातमा गैंडाकोट निवासी कलाकार भीम शर्माले चित्रपटमा कुची दौडाए । पानी रङका विभिन्न प्रकारलाई कागजमा पोखे । हाफसाइजको कागजमा चित्र सिर्जना गरेका शर्माले केही बेरमा नै चित्रलाई आकार दिए । रुखमा गुँड बनाएर बसेका जोडी चरालाई चित्रमा उतारे । तोकिएको समयावधि १ घण्टा ३० मिनेटमा शर्माले आफ्नो जिम्मेवारी पूरा गरे । तयार भएको चित्रमा हस्ताक्षर गरेपछि सबैले ताली बजाएर शर्मालाई अभिनन्दन गरे । शर्मापछि प्राज्ञ लालकाजी लामा प्रस्तुत भएका छन् । उनले पनि कुची समातेर कागजमा रङ भर्दैछन् । लामाले नेपाललाई बुद्धको देश भनेर चिनाउन मिल्ने गुम्बा, हिमाल र थांका देखिने चित्र उतारेका छन् । चित्रकार लामा नेपाल प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख हुन् भने अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका केन्द्रिय उपाध्यक्ष हुन् । कार्यशालाका अन्य सहभागीहरूमा प्रकाश थापा, दामोदर बराल, बरुणबाबु घिमिरे, राजेश बराल, मिलन गुरुङ, सुशील गुरुङ, दिनेश्वर महतो र योगेश खनाल छन् ।

कात्तिक २३ गते काठमाडौंबाट सुरु गरिएको चित्र सिर्जना कार्यशालामा नेपालभित्र र बाहिर रहेका कलाकारहरू सहभागी छन् । कार्यशालामा ७३ जना कलाकार सहभागी हुनेछन् । सबै कलाकारले डेढ घण्टाको समयावधिमा चित्र कोर्नुपर्ने हुन्छ । चार दिन, चार रात र चार घण्टा गरि कुल १०० घण्टामा यो अभियान सकिनेछ ।

१०० घण्टे रिले चित्र सिर्जना कार्यशाला पहिलोपटक आयोजना गरिएको हो । यसअघि भारतका कलाकारले ७२ घण्टाको यस्तै चित्र कार्यशाला गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाएका छन् । १०० घण्टाको कार्यशाला सकेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दाबी गराउने योजना रहेको कार्यशाला संयोजक एवम् अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल बागमती प्रदेश संयोजक प्रकाश थापाले बताए ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण भीड गरेर कार्यक्रम आयोजना गर्न संभव नभएकोले स्वदेश तथा बिदेशमा रहेका कलाकार सबैजसोले आफ्नै घरमा बसेर चित्र कोरेका छन् । चितवन र नवलपरासीका कलाकारले भने सुरक्षाविधि अपनाएर सामुहिकरूपमा कार्यशाला चलाएका हुन् । कार्यशाला हेर्न मन्दिर परिसरमै आएका बरिस्ठ कवि तथा कलाकार गोविन्दराज बिनोदीले कलाकारहरूको यो अभियान सहितको सिर्जना देखेर आनन्द लागेको बताए । `उहाँहरूको विभिन्न प्रकारका जलरङ सिर्जना हेर्दा उकालो चढ्दाको थकान भुलेको छु´- बिनोदीले भने । कार्यशालाका सहयोगी संस्थाहरूमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हामी कलाकार, कलावती आर्ट काउन्सिल तथा धार्मिक सेवा समिति मौलाकालिका मन्दिर रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट