भरतपुर, कार्तिक २५ ।
युएईमा जारी तेह्रौँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा आज डिफेण्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुँदैछ । मुम्बईले पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनल यात्रा तय गरेको हो भने दिल्लीले दोश्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई हराउँदै अन्तिम दुईमा पुगेको हो । हालसम्म कूल ४ पटक आइपिएल उपाधि जित्न सफल मुम्बईले छैटौँ पटक फाइनल खेल्न लागेको हो । दिल्लीले भने पहिलो पटक आइपिएल फाइनल खेल्न लागेको हो ।
जारी प्रतियोगितामा मुम्बई र दिल्लीबीच ३ खेल खेलिएका छन् । जसमा मुम्बईले शतप्रतिशत जीतको नतिजा निकालेको छ । त्यसकारण पनि फाइनलमा दिल्लीमाथि मुम्बई मनोवैज्ञानिक रूपमा हावि रहने देखिन्छ । दिल्ली विरुद्ध जीत निकालेका खण्डमा मुम्बईले कीर्तिमानी पाँचौँ पटक मात्रै उपाधि जित्ने छैन । उसले गत वर्षको उपाधि समेत रक्षा गर्नेछ । आइपिएल इतिहासमा हालसम्म चेन्नई सुपर किंग्स बाहेक अन्य टोलीले उपाधिको रक्षा गर्न सकेका छैनन् । उता दिल्लीले भने मुम्बईसँग अघिल्ला हारको बदला लिँदै पहिलो पटक आइपिएल उपाधि हत्याउने दाउमा हुनेछ । यद्यपि मुम्बईलाई हराउन दिल्लीले कडा परिश्रम गर्नुपर्ने देखिन्छ ।
मुम्बईसँग गहिरो ब्याटिङ लाइन अप हुनु नै उसको बलियो पक्ष हो । मुम्बईका विष्फोटक ओपनर क्विन्टन डि ककदेखि मध्य र तल्ला क्रममा किरोन पोलार्ड, हार्दिक पाण्डेय र क्रुनाल पाण्डेयलाई शान्त राख्नु दिल्लीका लागि ठूलो चुनौति हुनेछ । फेरि कप्तान रोहित शर्मा, ईशान किसन र सूर्यकुमार यादव पनि दिल्लीका लागि खतरा बन्न सक्छन् । मुम्बईलाई हराउन दिल्लीका अन्य बलरहरूले पनि कागिसो रबाडा र आरिन्च नोकियाको साथ निभाउनुपर्ने हुन्छ ।
यता मुम्बईका तर्फबाट जस्प्रित बुम्राहा र टे«न्ट बोल्ट अघिल्ला खेलकै लयलाई कायम राख्ने प्रयासमा हुनेछन् । दिल्लीका ब्याट्सम्यानहरूमा ठूलो पारी खेल्ने क्षमता भएपनि सबैले एकैनासको प्रदर्शन भने गर्न सकेका छैनन् । हैदराबाद विरुद्धको क्वालिफायर खेलमा उत्कृष्ट ब्याटिङ गरेका मार्कस स्टोइनिस र सिमरन हिटमेयरले फाइनलमा पनि सोही खेल दोहो¥याउनेमा सबैको आश रहनेछ ।
यी दुई टोली आइपिएल इतिहासमा हालसम्म कूल २७ पटक भिडेका छन् । जसमा १५ खेल मुम्बईले जित्दा १२ खेलको नतिजा भने दिल्लीले आफ्नो पक्षमा पारेको छ ।
(क्रिकइन्फोको सहयोगमा)





