कार्तिक २५, भरतपुर ।
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले सञ्चारसम्बन्धी कानूनमा आवश्यक सुधार ल्याउँदै त्यसमा मर्यादित पत्रकारितालाई पनि स्थान दिइने बताएका छन् । मंगलबार मिडिया एक्सन नेपालले पत्रकारका लागि सञ्चालन गरेको भ्रामक सूचनाको पहिचान र रोकथामसम्बन्धी अनलाइन क्षमता अभिवृद्धि तालिमको समापन शत्रमा बोल्दै मन्त्री गुरुङ्गले पत्रकारहरू मर्यादित बन्न आवश्यक रहेको बताएका हुन् । “तपाईहरूले के उद्देश्य राखेर पत्रकारिता थाल्नुभएको थियो ? त्यो उद्देश्य पूरा गर्नुभयो त ? कि कतै रुमल्लिनुभएको त छैन ?”, जुम वेबिनारमा मन्त्री गुरुङ्गले प्रश्न गरे । हालको युगमा सूचना सबैका लागि महत्त्वपूर्ण रहेकाले पत्रकारहरू थप मर्यादित भई सत्यतथ्य जानकारीको प्रसारणमा मात्रै लाग्नुपर्ने मन्त्री गुरुङ्गको भनाइ थियो । त्यसैगरी उनले तालिममा सहभागी पत्रकारहरूलाई जनतालाई निराश पार्ने खालका नभई समाजलाई रूपान्तरणको दिशामा अघि बढाउने खालका विषयवस्तुमा मात्रै समाचार लेख्न आग्रह गरे । फरक प्रसंगमा मन्त्री गुरुङ्गले पत्रकार महासंघको सदस्य बन्नका लागि निश्चित मापदण्ड पूरा गरेको हुनुुपर्ने नियम बनाउन पनि आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले पनि मयार्दित पत्रकारिताका बारेमा आफ्ना भनाइ राखेका थिए । पत्रकारले दुष्प्रचारजन्य सामग्री प्रसार गरिदिँदा त्यसको नतिजा राष्ट्रिय हितविपरीत पनि हुनसक्ने भन्दै राजदूत बेरीले पत्रकारहरूलाई त्यसबारेमा सजग रहन आग्रह गरे । त्यस्तै पत्रकारद्वारा प्रसारित सामग्रीले जनताको दृष्टिकोण बदल्न सहयोग पु¥याउने भएकाले पत्रकारहरूलाई सत्य र तथ्यमा मात्रै आधारित भएर समाचार लेख्न उनले सुझाव दिएका थिए ।
त्यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले जनताको विश्वासलाई जोगाई राख्न पत्रकार मर्यादित बन्नुपर्ने विचार प्रकट गरे । पत्रकारहरूले आफूमा भएका कमजोरीलाई सुधार्न थप निर्मम भई लाग्नुपर्ने उनको भनाइ थियो ।
मिडिया एक्सन नेपालले झापा, इलाम, पाँचथर, चितवन, नवलपुर र नवलपरासी जिल्लाबाट सञ्चालित दैनिक अखबार तथा अनलाइन न्यूज पोर्टलका १२ हजार ६२७ वटा सामग्री संकलन गरी भ्रामक जानकारी संप्रेषण गरेको/नगरेको अध्ययन गरेको थियो । अध्ययनको प्रतिवेदन सार्वजनिक गरेपछि मिडिया एक्सन नेपालले तिनै ६ जिल्लाका ६४ जना पत्रकारहरूलाई सहभागी गराई भ्रामक सूचनाको पहिचान र रोकथाम सम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको थियो । त्यसमा चितवनबाट १६ तथा नवलपुर र नवलपरासीबाट पनि १६ जना पत्रकारहरू सहभागी भएका थिए ।




