तिहारलाई सयपत्री माला तयार गर्दै पौडेल दम्पती

भरतपुर, २५ कात्तिक ।
कालिका नगरपालिका वडा नम्बर २ पदमपुरस्थित बलरामपुरका कृष्णप्रसाद पौडेलले मकै, गहुँ, तोरी लगाउने बारीमा तिहारलाई लक्षित गरेर भदौदेखि सयपत्री लगाए । अहिले सयपत्री फुलेर उनको बारी हराभरा भएको छ । तिहार नजिकिँदै गर्दा फूल खोज्नेहरू उनको घरमै आउँछन्, मोलमोलाइ गर्छन्, अर्डर दिन्छन् र जान्छन् । उनीसँगै छिमेकीहरू पनि उनको फूलखेती देखेर दङ्ग छन् ।
खेतबारीमा परम्परागत खेती गर्दै आएका जिल्लाका कतिपय किसानले हिजोआज प्रयोगस्वरुप अन्य खेती रोजेका छन् । कृष्णप्रसाद पौडेलले पनि फरक खेती गरौं न त भन्ने सोच बनाए । `तरकारी र फूल खेतीमा धेरैले चासो दिएको देखेपछि मलाई पनि फूलखेती गर्न मन लाग्यो´, श्रीमती साबित्रीसँग डालोमा फूलका थुङ्गा टिप्दै गरेका पौडेलले भने- `राम्रै फलेको छ, माग पनि आएको छ, फूलखेती गरेर ठिकै गरिएछ झैं लागेको छ ।´

लकडाउनका बेला धेरैले धेरैथरी योजना बनाएको देखेर पौडेल पनि फूलखेतीमा आकर्षित भएका हुन् । पौडेलले पश्चिमचितवनको ज्योतिनगर पुगेर सयपत्रीका २० हजार बिरुवा ल्याए । उनले ती बिरुवा ६० हजारमा खरिद गरेका हुन् । बिरुवा रोप्दा कुल १ लाख खर्च भएको उनले बताए । भदौ, असोजमा नियमितरूपमा पानी परेकोले फूललाई सिँचाइको अभाव पनि भएन । पदमपुरको माटो मलिलो र खेतीका लागि सुहाउँदो पनि भएकोले फूल राम्रोसँग फुलेका छन् । भदौको दोस्रो साता रोपेका बिरुवामा अहिले सयपत्री फुलिरहेका छन् । रोपेको ७०/७५ दिनमा सयपत्री फुल्दछ । अहिले पौडेल केही खेताला र परिवारसहित फूल टिप्नमा व्यस्त छन् । टिपेर ल्याएका फूल आँगनमा राखेर माला उन्नलाई ८/९ जना दिदीबहिनी खटिएका छन् । `यो सबै काठमाडौँको अर्डर हो´, पौडेलले भने- `पशुपतिनाथलगायतका मन्दिरमा पूजाआजाको लागि यी फूल पठाइएको छ ।´ प्रतिमाला २५ देखि ३५ रुपैयाँमा बिक्री भैरहेको उनले बताए । तिहार नजिकिँदै गर्दा फूलको माग धेरै छ । पौडेलले सबैतिर पुर्‍याउन सकिरहेका छैनन् । फूल खोज्दै घरमै आउनेहरूलाई उनी फूल बेच्नमै व्यस्त छन् । नियमितरूपमा उठाउनेलाई भने पौडेलले डेलिभरी दिने गरेका छन् ।

पौडेलले आफ्नै बारीमा फूलखेती गरेका हुन् । १८ कठ्ठाको समथर बारीमा करिव २० हजार सयपत्रीका बिरुवा छन् । उनले अहिलेसम्म करिव डेढ लाख बराबरका ५ हजार माला बिक्री गरेको बताए । `यो हप्ता अलि धेरै फूल बिक्री हुन्छ´, पौडेलले भने- `अहिले खेताला लगाएर माला बनाउने काम गरिरहेको छु ।´ तिहारमा आफूले करिव १० हजार माला बिक्री गर्ने उनले अनुमान गरेका छन् । बिरुवाबाट अहिले पनि कोपिला लागिरहेका छन् । ती फूल तिहारपछि तयार हुन्छन् । तिहारपछि पनि अरु ५ हजार जति माला तयार गरेर बजारमा पठाउने उनको योजना छ । २० हजार बिरुवा रोप्दा एक चरणमा करिव २० हजार वटै माला बन्ने उनले सुनाए । त्यसबाट करिब ५ लाखको कारोबार हुने उनको अनुमान छ । पौडेलले अब फूलखेतीलाई निरन्तरता दिने योजना बनाएका छन् ।

अहिले चितवनका रत्ननगर, खैरहनी, राप्ती, भरतपुर साथै छिमेकी जिल्ला मकवानपुर र नवलपरासीबाट पनि फूलको माग आइरहेको उनले बताए । तिहारलाई लक्षित गरेर माला बजार पठाउने तयारी पौडेलले गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट