आइपिएल इलिमिनेटरः हैदराबादले क्वालिफायर्स खेल्ने, बेंगलोर भने बाहिरियो

भरतपुर, २२ कार्तिक ।

युएईमा जारी १३औँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेटको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । गएराति सम्पन्न खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले हराएको हो । जीतपछि हैदराबादले दोश्रो क्वालिफायर्समा दिल्ली क्यापिटल्ससँगको भेट पक्का गरेको छ । दोश्रो क्वालिफायर्समा जीत निकाल्ने टोलीले उपाधिका लागि फाइनलमा मुम्बई इण्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । यता इलिमिनेटर खेलमा हार भोगेपछि बेंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

Photo: BCCI

बेंगलोरले प्रस्तुत गरेको १३२ रनको लक्ष्य हैदराबादले खेल सकिन २ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टाएको थियो । सामान्य आँकिएको लक्ष्य पछ्याउने क्रममा हैदराबादका ब्याट्सम्यानले खुबै संघर्ष गर्नुपरेको थियो । उसका ओपनर श्रीवत्स गोत्स्वामी शून्य रनमा आउट हुँदा कप्तान डेविड वार्नरले १७ रन मात्रै जोड्न सके । यस्तै मनिष पाण्डे २४ तथा प्रियम गर्ग ७ रनमा आउट हुँदा हैदराबादमाथि हारको बादल मडारिन थालेको थियो । त्यसपछि भने केन विलियम्सन तथा जेसन होल्डरले सातौँ विकेटका लागि अविजित ६५ रनको साझेदारी गर्दै टोलीलाई हारको मुखबाट बचाएका थिए । विलियम्सनले ४४ बलमा अविजित ५० रन जोड्दा होल्डरले पनि २० बलमा २४ रनको नट आउट पारी खेले । विलियम्सन म्यान अफ दि म्याच समेत घोषित भए । बेंगलोरका मोहम्मद सिराजले २ तथा एडम जाम्पा र यजुवेन्द्र चहलले १–१ विकेट हात पारेपनि टोलीलाई जीत दिलाउन भने सकेनन् ।

Photo: BCCI

यसअघि अबु धाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस जितेर हैदराबादले पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । हैदराबादको बलिङसामु बेंगलोरको ब्याटिङ फेरि पनि फ्लप साबित भयो । उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर जम्मा १३१ रन बनाउन सक्यो । बेंगलोरका लागि एबी डेभिल्लर्सले ५६ र एरोन फिन्चले ३२ रनको योगदान गर्नु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेको थिएन । प्रतियोगितामा पहिलो पटक पारी ओपन गर्न आएका कप्तान विराट कोहली ६ रन बनाएर आउट हुँदा देवदत्त पदिकालले १ रन मात्रै जोड्न सके । बेंगलोरलाई सामान्य योगफलमा समेट्न जेसन होल्डरले ३ विकेट लिए । यस्तै थंगरासु नटराजनले २ तथा शहबाज नदिमले पनि १ विकेट चट्काएका थिए । अर्काे एक विकेट भने रन आउटको रूपमा झरेको थियो ।

प्रतियोगिताको प्लेअफ चरणअन्तर्गत दोश्रो क्वालिफार्यस आइतबार राति ७ः४५ बजे खेलिने कार्यतालिका रहेको छ ।
(क्रिकइन्फोको सहयोगमा)

Photo: BCCI
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट