भरतपुर, कार्तिक २१ ।
युएईमा जारी १३औँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टीको प्लेअफ अन्तर्गतको पहिलो क्वालिफायर्समा मुम्बई इण्डियन्स विजयी भएको छ । उसले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराउँदै सोझै फाइनलमा स्थान सुरक्षित गरेको हो । दिल्लीले भने फाइनल प्रवेशका लागि इलिमिनेटरमा विजयी हुने टोलीसँग दोश्रो क्वालिफायर्समा फेरि खेल्ने मौका पाएको छ ।

खेलमा मुम्बईले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याउन उत्रिएको दिल्ली २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो । उच्च योगफल पछ्याउने क्रममा दिल्लीले पहिलो ओभरदेखि नै विकट गुमाउन सुरु गरेको थियो । दिल्लीका शीर्ष ३ ब्याट्सम्यान पृथ्वी शाह, शिखर धवन र आजिक्य राहाणे शून्य रनमा आउट भएका थिए । पहिलो ओभर फ्याँक्ने क्रममा मुम्बईका टे«न्ट बोल्टले विना रन खर्चिएर २ विकेट लिएका थिए । दिल्लीले १.२ ओभरमा नै ० रनको स्कोरमा ३ विकेट गुमाएको थियो । सो अवस्थाबाट टोलीलाई उकास्न मार्कस स्टोइनिसले ४६ बलमा ६५ रनको पारी खेले । यस्तै, अर्का अलराउण्डर अक्षर पटेलले पनि ३३ बलमा ४२ रन बटुले । स्टोइनिसले ६ चौका र ३ छक्का प्रहार गर्दा पटेलले २ चौका र ३ छक्का जोडेका थिए । यद्यपि दिल्लीलाई जीत दिलाउन भने उनीहरू असफल रहे । मुम्बईका तर्फबाट लोभलाग्दो प्रदर्शन गर्दै जस्प्रित बुम्राहाले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १ मेडेन ओभर राख्दै जम्मा १४ रन खर्चिएका थिए । बुम्राहा म्याच अफ दि म्याच समेत घोषित भए । उनीसँगै तीव्र गतिका ट्रेन्ट बोल्टले २ तथा क्रुनाल पाण्डेय र किरोन पोलार्डले पनि १–१ विकेट हात पारे ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०० रन जोडेको थियो । मुम्बईलाई पारीको सुरुवातमा क्विनटन डि कक र सूर्यकुमार यादवको साथ मिलेको थियो भने अन्त्यतिर ईशान किसन र हार्दिक पाण्डेयले विष्फोटक ब्याटिङ गरेका थिए । जम्मा १४ बलको सामना गरेर ५ छक्का प्रहार गरेका हार्दिकले अविजित ३७ रनको योगदान दिए । त्यसैगरी किसनले ३० बलमा नट आउट ५५ तथा यादवले ३८ बलमा ५१ रनको पारी खेलेका थिए । ओपनर डि ककले पनि २५ बलमा ४० रन बनाएर टोलीका लागि राम्रो आधार खडा गरेका थिए । मुम्बईले सुरुवाती ६ ओभरको पावरप्लेमा १ विकेट गुमाउँदै ६३ रन जोडेको थियो । जबकी अन्तिम ६ ओभरमा उसले १ विकेटको क्षतिमा ९२ रन जोड्यो । हार्दिकका दाजु क्रुनालले १३ जोड्दा किरोन पोलार्ड शून्य रनमा आउट भए । पोलार्डसँगै मुम्बईका कप्तान रोहित शर्मा पनि डक आउट भई प्याभिलियन फर्किएका थिए । आइपिएल इतिहासमा सर्वाधिक डक आउट (१३) हुनेको सूचीमा पनि शर्माले संयुक्त रूपमा पहिलो स्थान हात पारे । बलिङमा भने दिल्लीका रविचन्द्रन आश्विनले ३ तथा आन्रिच नोकिया र मार्कस स्टोइनिसले १–१ विकेट चट्काए ।
इण्डियन प्रिमियर लिग आइपिएलको इलिमिनेटरमा आज रोयल च्यालेन्जर्स बेंगलोर तथा सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल अबु धाबीस्थित शेख जायद क्रिकेट मैदानमा नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

(क्रिकइन्फोको सहयोगमा)





