भरतपुर, २ कार्तिक ।
गैंडाकोटमा केन्द्रिय कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कात्तिक १ गते शनिवारदेखि नारायणगढबाट पनि एकिकृत सेवा शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ नारायणगढ कमलनगर चोकमा दियालो सेवा केन्द्रमार्फत सेवा शुभारम्भ गरेको हो । नवलपुर र चितवन जिल्लामा सेवा प्रवाह गरिरहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नारायणगढमा रहेको दियालो बचत तथा ऋण सहकारी संस्था लि. बिच एकिकरण भएको थियो । संस्थाले कात्तिक १ गते घटस्थापनाका दिन एक कार्यक्रमका बिच नयाँ सुविधायुक्त कार्यालय सहित दियालो सेवा केन्द्रको बैद्धिक पूजाआजा तथा एकिकृत सेवा शुभारम्भ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको शुभारम्भ गदै संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले विकू नेपालको सर्वोत्कृट बचत तथा ऋण सहकारी रहेको बताउँदै नीति, विधि र प्रविधि नै विकूको सफलता भएको बताए । नवलपुर र चितवन जिल्लाका सबै स्थानीय तहमा उत्कृष्ट वित्तिय सेवा पुर्याउने उद्देश्यले संस्थाले कार्यक्षेत्र बिस्तार गरेको उनले बताए । सापकोटाले भने- `सहकारी भावनाले सम्पूर्ण चितवनबासीलाई संस्थामा आवद्ध गरि सर्वसुलभ वित्तिय तथा गैरवित्तिय कार्यक्रम मार्फत सदस्यहरुको जीवनस्तर वृद्धि , वित्तिय साक्षरता, प्रविधि साक्षरता, व्यावसायिकता विकास, उद्यमशिलता विकास र निरन्तर सामाजिक उत्तरदायित्व बहन गर्ने मुख्य उद्येश्यले सेवा बिस्तार गरिएको हो ।´ ५० पैसाबाट ६ अर्व र २६ जनाबाट ८० हजार शेयर सदस्य पुग्नु नै ठुलो सफलता रहेको कुरा व्यक्त गर्दै अध्यक्ष सापकोटाले संस्था राष्ट्रिय सहकारी अभियानमा सिकाइको पाठशाला तथा अन्तराष्ट्रिय सहकारीका लागि उदाहरणीय नमुना रहेको बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थापक अध्यक्ष खेमराज सापकोटाले विगतमा अप्ठेरो परिस्थितिको सकरात्मक सामना गर्दै चुनौतीलाई अवसरको रुपमा सदुपयोग गर्दै निरन्तर सदस्य सेवामा लागेकोले यो उपलब्धी सम्भव भएको बताउँदै आगामी दिनमा सबैलाई समेटेर अगाडी बढ्ने कुरा व्यक्त गरे ।
कार्यक्रममा मन्तव्य दिँदै भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष एवम् जनप्रतिनिधि पुर्णकुमार क्षेष्ठले विकू सहकारी उत्कृष्ट, सक्षम र सबल सहकारी रहेको बताउँदैे यस क्षेत्रको विकासमा विकूको महत्वपुर्ण योगदान रहने बताए । साथै संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै स्थानीय निकाएको तर्फबाट सधैं सहयोग रहने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रममा दियालो सेवा केन्द्रका संयोजक एवं पूर्वअध्यक्ष जीवराज अधिकारीले विकू बचत तथा ऋण सहकारीसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी भएको बताउँदै विकूले अगाडी सारेको नीति तथा कार्यक्रमहरुले चितवनकोे विकास र सदस्यको जीवनस्तर परिवर्तत गर्ने विश्वास व्यक्त गरे । सदस्य सेवामा विकूको नीति, विधि तथा प्रविधि नै संस्था एकिकरण गर्न महत्वपूर्ण पक्ष रहेको बताए ।
कार्यक्रमको सहजीकरण गर्दै प्रमुख अधिकृत माधवप्रसाद पौडेलले उच्च प्रविधियुक्त वित्तिय तथा गैरवित्तिय सेवा प्रदान गर्दै दियालो सेवा केन्द्रलाई डिजिटल सेवा केन्द्रको रुपमा विकास गरिने बताए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीय सामाजिक व्यक्तित्वहरु, शेयर सदस्यहरु, स्थानीय व्यावसायीहरु, पूर्वअध्यक्ष, संचालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न सेवाकेन्द्रका संयोजक, प्रमुख अधिकृतलगायत उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।
कार्यक्रममा कोरोना भाइरस संक्रमण कोभिड–१९ को प्रकोपलाई मध्यनजर गर्दै उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाईएको थियो ।





