भरतपुर, २ कार्तिक |
गत वर्षको चैतमा देशमा कोरोना भाइरसको महामारी सुरु हुँदैगर्दा लाखौं विद्यार्थीहरु एसईई परीक्षाको तयारी गर्दै थिए । भाइरसले पार्नसक्ने असरलाई मध्यनजर गरेर सरकारले परीक्षा सुरु हुनुभन्दा अघिल्लो दिन स्थगित गरिदियो ।
विद्यार्थीले परीक्षा दिन त पाएनन् नै बिना परीक्षा उत्तीर्ण भएकाहरुले अझै पनि औपचारिकरुपमा उपल्ला कक्षाको पढाई सुरु गर्न पाएका छैनन् । अधिकांश विद्यार्थीको पछिल्ला ७ महिना यसै खेर गइरहेको छ ।
तर यही महोलका बीच पनि केही किशोरहरु यस्ता भेटिए जसले आफ्नो फरक क्षमतालाई यही समयमा उपयोग गरे । जसले प्रायःले यसै खेर फालेको समयलाई अवसरकारुपमा परिणत गरे ।
भरतपुर महानगरपालिकाको वडा नम्बर ६ घर भएका दाजुभाई सफल र कुशल पौडेलले लकडाउन सुरु भएयता दुईवटा गाडी निर्माण गरिसकेका छन् । सुरुआतमा पेट्रोलबाट चल्ने ‘गल्फ गाडी’ तयार गरेका उनीहरुले अहिले सौर्य उर्जाबाट चल्ने गाडी‘नेप्रो सोलार गाडी’समेत तयार पारेका छन् ।
खोपा कलेजमा पहिलो वर्षको दोश्रो सेमेष्टरमा ईलेक्ट्रिकल ईन्जिनियरिङ पढ्दै गरेका सफल २० वर्षका भए । १७ वर्षीय कुशलले भरतपुरको ओमशान्ति एकेडेमीबाट एसईई उत्तीर्ण गरे । अहिले अंकुरम एकेडेमीमा ११ कक्षामा भर्ना भएका छन् ।

भरतपुरको चौबीसकोठीबाट भरतपुर–माडी–ठोरी हुलाकी मार्ग हुँदै करिब ७ किलोमिटर दक्षिणतर्फ लागेपछि पुगिन्छ चोकबजार । यस क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै एउटा नौलो गाडी कुँदिरहेको भेटिन्छ । त्यो गाडी यीनै दाजुभाईले तयार पारेका हुन् ।
गाडीको आगाडि एउटा, छतमा दुईवटा र पछाडी एउटा १५०/१५० वाटका सोलार पाता टाँसिएका छन् । पछिल्लो भागमा ५०/५० एम्पियरका पाँचवटा व्याट्रीहरु राखिएका छन् । अगाडिका चक्का स्कुटीका, पछाडीका ई–रिक्साका छन् । ४८ भोल्टको डिसी मोटरको प्रयोग गरिएको छ ।
सोलार पाता जोडिएका कारण दिउँसोको समयमा गाडी चलाउन समस्या छैन । दिनभर भएको चार्जले राति ३५ किलोमिटरसम्म चलाउन सकिने सफल बताउँछन् । उनीहरुले अहिले प्रतिघण्टा ५० किलोमिटर कुद्ने गरी गाडी तयार पारेका छन् । यसमा ४ जना चढ्न मिल्छ ।
सोलार पाता र केही स्टीलबाहेक सबै सामग्रीहरु पुराना प्रयोग गरिएका छन् । घरको छतको भागलाई वर्कसप बनाइएको छ । पार्टपुर्जा जोड्ने काम उनीहरु छतैमा गर्छन् ।

भदौको पहिलो साताबाट बनाउन थालेको नयाँ गाडी १५ दिनमा तयार भएको सफलले बताए । त्यसयता निरन्तर परीक्षण गरिरहेको उनी बताउँछन् । वडा नम्बर ६ को कार्यालयले उनीहरुलाई उक्त वडाभित्र गाडीको परीक्षणका लागि अनुमति दिएको छ । एक भाईले गाडी चलाउँछन् अर्का सँगै बस्छन् । उनीहरुले अहिले परीक्षणमा समय खर्च गरिरहेका छन् ।
अघिल्लो गाडी भने उनीहरुले गत जेठमा तयार पारेका थिए । होस्टलमा बसेर परीक्षाको तयारी गर्दैगर्दा सरकारले लकडाउनको घोषणा गरेपछि खाली समयमा केही काम गरौं भनेर गाडीको निर्माण सुरु गरेको कुशलले बताए । ‘हामीबीच लकडाउन भइहाल्यो तर यसलाई यसै खेर नफालौं भन्ने सल्लाह भयो । दुःखद् विषय भएपनि खाली समयमा दिमागलाई सृजनशील काममा प्रयोग गर्नुपर्छ भन्ने सल्लाह भएपछि हामी गाडी बनाउनतर्फ लाग्यौं’, कुशलले भने ।
‘पेट्रोलबाट चल्ने गाडीको सफल परीक्षण भइसकेपछि हामीलाई लाग्यो अब सौर्य उर्जाबाट चल्ने गाडी किन निर्माण नगर्ने ?’, उनले भने, ‘चाहयो भने हामी सक्छौं भनेर लाग्यौं ।’ उनीहरुले करिब ३ लाख रुपैयाँको लागतमा उक्त गाडीको निर्माण पुरा गरेका छन् । अघिल्लो गाडी निर्माणका लागि उनीहरुले एक लाख रुपैयाँ खर्च गरेका थिए ।
‘बिना इन्धन उज्यालो नेपाल’ को नारालाई सार्थक बनाउन यस्ता सवारी साधनको महत्वपूर्ण भूमिका हुने सफल बताउँछन् । ‘ईन्धनका लागि नेपालले ठूलो रकम विदेश पठाइरहेको छ, यस्ता उत्पादनलाई प्रोत्साहन भयो भने त्यो रकम विदेश जानबाट रोकिन्छ’, कुशल भन्छन्, ‘हामीले हाम्रो सीपको प्रयोग गरेर गाडी तयार पारिसकेका छौं । अब हामीलाई प्रोत्साहन चाहिएको छ ।’
सौर्य उर्जाको प्रयोगले नाकाबन्दी र लोडसेडिङ्मा पनि कुनै असर नगर्ने भएकाले नेपाल जस्तो भूपरिवेष्ठित त विकासोन्मुख देशका लागि उपयुक्त रहेको उनीहरु बताउँछन् ।

बावु खेमराज पौडेलले ईलेक्ट्रिक पसल चलाउन थालेको २५ वर्ष जति भयो । घरमै भएको ईलेक्ट्रिक पसलबाट उनीहरुले सानै देखि कामहरु सिक्दै आएका थिए । केही न केही गर्नुपर्छ भन्ने हुटहुटी सानै देखि थियो । ‘हामीसँग समय थिएन । जब देश नै लकडाउन भयो, हामीलाई यही हो मौका भन्ने लाग्यो अनि काम सुरु गरिहाल्यौं’, सफलले भने, ‘हामीले यो काम गर्छौं भनेपछि बुवा, आमा, आफन्तहरु सबैले सहयोग गर्नुभयो ।’
उनीहरुले कहिले युटुव हेर्दै त कहिले चिनेजानेका गाडी बनाउने अनुभवी तथा गाडी चलाउनेहरुसँग परामर्स लिए । अनि घरमै रहेका केही पुराना सामान र केही बाहिरबाट ल्याएर गाडी तयार गरे ।
उनीहरु वडाबाट स्वीकृति मात्र पाएका छैनन् अघिल्लो गाडी बनाउँदा एक लाख रुपैयाँ सहयोगको वचन पनि पाएका छन् । यी दाजुभाईले भरतपुर महानगरपालिकालाई पनि आफ्नो काम देखाएर सहयोगको आग्रह गरेका छन् । ‘उहाँहरुले हाम्रो कामको तारिफ गरेर सहयोगको वचन दिनुभएको छ’, कुशलले भने, ‘तर ठ्याक्कै यो सहयोग गर्छौं भन्नुभएको छैन । आगामि दिन सहयोग पाइन्छ कि भन्ने लागेको छ ।’

एक्लो प्रयासले एक–दुईवटा गाडी बनाएर मात्र केही हुँदैन भन्ने उनीहरुलाई थाहा छ । त्यसैले उनीहरुले आफूले तयार पारेका गाडीलाई विभिन्न माध्यमबाट सरकारी निकाय तथा गाडीका निर्माण कम्पनीहरुसमक्ष पु¥याउने प्रयास गरिरहेका छन् । ‘हामीले गर्न सक्ने गरिरहेका छौं तर हामीले मात्रै यसलाई व्यवसायिकरुप दिन सक्दैनौं’, सफल भन्छन्, ‘हाम्रो डिजाइनलाई कसैले व्यवसायिकता दिन खोज्छ भने हामी तयार छौं ।’
सौर्य उर्जाबाट पनि गाडी तायर गर्न सकिन्छ भनेर सुरुआतमा देखाएका यी दाजुभाईले अब यो गाडीको अन्य डिजाइनतर्फ ध्यान दिने बताए । सुरुआतमा परीक्षणका लागि स्थानीयरुपमा पाइने सोलार पाता राखिएपनि उनीहरुको लक्ष्य विदेशमा पाइने विभिन्न डिजाइनका, बंग्याउन मिल्ने सोलार पाता प्रयोग गर्ने छ ।
‘सुरुआतमा गाडी तयार पार्दा केही अप्ठ्याराहरु आइलागेपनि अब भने सहजरुपमा निर्माण गर्न सक्छौं’, सफल भन्छन्, ‘साढे २ लाख रुपैयाँसम्ममा गाडी तयार गर्न सक्छौं जस्तो लाग्छ ।’ विदेशबाट गाडी आयात गर्दा ठूलो रकम गुमाउनु परेको भन्दै उनी देशमै लगानी गरेर निर्माण गर्न सक्ने हो भने आर्थिक घाटा पनि कम हुने बताउँछन् ।




