इच्छाकामना, २ कार्तिक ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर १ का विपन्न परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ । सौराहास्थित सपना भिलेज सोसियल इम्प्याक्टले दशैं मनाउन सहयोग पुगोस् भनी ६६५ विपन्न चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
दशैं कोसेलीस्वरूप चेपाङ समुदायलाई प्रति घरधुरी १५ किलो चामल, एक किलो दाल, एक लिटर तेल र एक किलो नुन प्रदान गरिएको सोसियल इमप्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । सो वडाको रम्बासिंह डाँडामा आयोजित कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ र इम्प्याक्टका अध्यक्ष गिरीले खाद्यान्न हस्तान्तरण गरेका थिए ।
सोही क्रममा गाउँपालिका अध्यक्ष गुरुङले चेपाङ समुदायको आर्थिक र सामाजिक विकासको लागि सपना भिलेजले गरेको कामलाई गाउँपालिकाले संरक्षण गर्ने बताइन् । इम्प्याक्टका अध्यक्ष गिरीले परियोजनामार्फत त्यहाँका स्थानीयको जीवनस्तर सुधारको लागि अन्तरघर, अन्तरविद्यालय तथा अन्तरस्वास्थ्यकर्मी प्रतियोगितासँगै विद्यालयको पूर्वाधार निर्माणको काम भइरहेको जानकारी दिए ।
इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले स्वागत मन्तव्य राखेको सो कार्यक्रम इम्प्याक्टका व्यवस्थापक अनिल अर्यालले सञ्चालन गरेका थिए ।




