भरतपुर, २२ असोज ।
इण्डियन प्रिमियर लिगमा आज राति किंग्स इलवेन पञ्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुनेछ । जारी प्रतियोगिताको अंकतालिकामा हैदराबाद छैटौँ स्थानमा छ भने पञ्जाब पुच्छरमा रहेको छ । पाँच खेल खेलेको हैदराबादको दुई जीत र तीन हारसहित ४ अंक छ भने समान पाँच खेल खेलेको पञ्जाबले जम्मा एक खेल जित्दै दुई अंक बटुलेको छ । आजको खेलमा जीत हात पारेका खण्डमा हैदराबादले दुई स्थान सुधार गर्नेछ । पञ्जाबले खेल जितेको खण्डमा भने ऊ पाँचौँ स्थानमा पुग्नेछ । यद्यपि जीत हात पार्न दुवै टोलीले कडा मिहिनेत गर्नुपर्ने देखिन्छ । हैदराबाद डेविड वार्नरको कप्तानीमा मैदान उत्रँदै छ भने पञ्जाबको नेतृत्व विकेटकिपर ब्याट्सम्यान लोकेश राहुलले गर्नेछन् ।
प्रतियोगितामा ओपनरद्वय लोकेश राहुल र मयंक अग्रवालले बनाएको रन चुलिने क्रममा रहेपनि त्यसले पञ्जाबको प्रदर्शनमा भने प्रभाव पार्न सकेको छैन । रन बनाउन पञ्जाबको खेमा ओपनर राहुल र अग्रवालमाथि नै बढी भर पर्ने गरेको छ । त्यसकारण पनि अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक छैन । प्रतियोगितामा पाँच खेलबाट राहुल र अग्रवालले मात्रै ५७४ रन जोडेका छन् । जबकि यी दुई बाहेक पञ्जाबका अन्य खेलाडीले २९३ रन मात्रै बनाउन सकेका छन् । उता बलरहरूले पनि अनुशासित बलिङ नगर्दा पनि पञ्जाब निरन्तर हान बेहोर्न बाध्य बनेको छ ।
यता हैदराबाद भने ब्याटिङमा युवा प्रियम गर्ग र अभिषेक शर्माको उपस्थितिले पनि केही हौसिएको छ । ओपनर डेविड वार्नर तथा जोनी बेयरस्टोसँगै गर्ग र शर्माको प्रदर्शनमा हैदराबादको खेल निर्भर रहनेछ । यद्यपि उत्कृष्ट ११ खेलाडीलाई मैदान उतार्ने मामलामा भने उसले केही सजगता अपनाउनुपर्ने हुन्छ । हैदराबादका तीव्र गतिका बलर भुवनेश्वर कुमारले चोटका कारण आइपिएलका बाँकी खेल गुमाउने भएपछि खलील अहमद र सिद्धार्थ कौलका काँधमा थप जिम्मेवारी पर्ने देखिन्छ । हैदराबादसँग विदेशी खेलाडीका रूपमा अलराउण्डर जेसन होल्डर पनि छन् जो उसका लागि म्याच विनर सिद्ध हुन सक्छन् ।
हैदराबाद र पञ्जाबबीच हालसम्म आइपिएलमा कूल १४ पटक भेट भइसकेको छ । जसमा १० खेल हैदराबादले जित्दा पञ्जाबले भने ४ खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ ।





