भरतपुर, २२ असोज ।
साझा पार्टी चितवनका संयोजक रहेका भूपेन्द्र बस्नेत पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
पार्टीले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको जनाएको छ । गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो ।
पार्टीको राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अझ व्यापक र विस्तारित गर्दै पार्टी निर्माणको अभियानलाई सुदृढ गर्न केन्द्रीय समिति पुनर्गठन गरिएको जनाएको छ । पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरी नै विश्वासिलो विकल्पका रूपमा जनता माझ जाने पार्टीको दाबी छ ।
नयाँ जोडिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन् । यद्यपि समय दिएर अग्रपंक्तिको राजनीतिक नेतृत्व लिन चाहने महिलालगायत विभिन्न समावेशी समूहका सदस्यको अझै पनि पार्टीले अभाव महसुस गरिरहेको जनाइएको छ । साझा पार्टी महिला तथा समावेशी नेतृत्वलाई व्यापकरूपमा प्रवर्द्धन गर्न चाहने पार्टीले जनाएको छ । विज्ञप्तिमा भनिएको छ- `हामी महिलालगायत सबै समावेशी समूहका सदस्यलाई वैकल्पिक र सुसंस्कृत राजनीतिको हाम्रो अभियानमा संलग्न हुन आह्वान गर्दछौं ।´
विज्ञप्तिमा पार्टीले केन्द्रीय समितिको पुनर्गठन सँगसँगै वैकल्पिक राजनीतिको गुरूत्व शक्ति बनाउने उद्देश्यका साथ समान विचार र उद्देश्य भएका राजनीतिक पार्टी, समूह र अभियानहरुसँग समेत पार्टी एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु गरेको जनाएको छ । देशमा परिणाममुखी लोकतन्त्र, सुशासन, विकास र समृद्धि सुनिश्चित गर्ने हो भने अब फरक धारबाट अगाडि बढेका पछिल्ला राजनीतिक प्रयत्नहरुलाई एकीकृत गर्नुपर्छ भन्ने पार्टीको ठहर रहेको जनाएको छ ।





