नेपालमा एकै दिन थपिए ४ हजार ३६४ संक्रमित

भरतपुर, २२ असोज ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । यो हालसम्म नेपालमा एकै दिनमा थपिएका संक्रमितको सर्वाधिक संख्या हो । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९८ हजार ६१७ पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ५४० संक्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौँमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित थपिएको जनाएको छ । यस्तै अन्य जिल्लाहरूमा मोरङमा २४९, चितवनमा ६९, सुनसरीमा २१४, सुर्खेतमा १०६ र रुपन्देहीमा १९९ जना संक्रमित थपिएका छन् । माथि उल्लेख गरिएका जिल्लाहरूमा सक्रिय संक्रमितको संख्या अझै पनि ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा धादिङमा ७१, नवलपुरमा २८, मकवानपुरमा १०५ र बाँकेमा पनि ५७ जनामा संक्रमित पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मनाङ र मुस्ताङ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या शून्य रहेको छ ।

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि २६ हजार ६८४ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये ११ हजार ७१७ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी १४ हजार ९६७ जना होम आइसोलेसनमा बसेका छन् । त्यस्तै देशभर ४ हजार ४६० जना क्वारेन्टिनमा रहेका छन् । वाग्मती प्रदेशमा मात्रै ७ हजार ८८४ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने ९ हजार ८२८ जना होम आइशोलेसनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ३९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भई घर फर्किनेको संख्या भने २ हजार ६७५ पुगेको छ । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । यो कूल संक्रमितको करिब ७२.३ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म २५ हजार ३०५ जना संक्रमणमुक्त भइसकेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर १२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । मन्त्रालयले जनाएअनुसार मृतकमध्ये ४ जना महिला हुन् भने ८ जना पुरुष हुन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ५९० पुगेको छ । पछिल्लो एक दिनमा वाग्मती प्रदेशमा मात्रै ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयले हालसम्म पीसीआर विधिबाट हालसम्म कूल ११ लाख ३१ हजार ९५८ वटा परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा देशभर १८ हजार ४७३ वटा परीक्षण भएका छन् । मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ४२ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने २३५ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ३० जनाको भेण्टिलेटरमा तथा १२८ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट