कोलकत्ता विरुद्ध चुक्यो चेन्नई

भरतपुर, २२ असोज ।

इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत बुधबार राति खेलिएको खेलमा कोलकत्ता नाइट राइडर्सले जीत हात पारेको छ । उसले चेन्नई सुपर किंग्सलाई १० रनको अन्तरले हराएको हो ।

कोलकत्ताले दिएको १६८ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो । ओपनर शेन वाटसनले टोलीलाई शानदार सुरुवात दिलाएपनि मध्यक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन नगर्दा चेन्नई हार्न पुगेको हो । ४० बल खेलेका वाटसनले छ चौका र एक छक्का सहित ५० रनको योगदान दिए । अर्का ओपनर फाफ डु प्लेसिस १७ रनमा आउट भएको खेलमा अम्बाती रायुडुले ३० रन बटुले । कोलकत्ता विरुद्ध चौँथो क्रममा ब्याटिङ गर्न आएका कप्तान महेन्द्र सिंह धोनीले १२ बलमा जम्मा ११ रन जोड्न सके । ११ बलमा १७ रन प्रहार गरेका सेम कुरानले जीतका लागि केही भोक देखाएको भएपनि अन्य ब्याट्सम्यानबाट उनलाई साथ मिल्न सकेन । पारीको अन्तिम ओभरमा रवीन्द्र जडेजाले केही विष्फोटक ब्याटिङ गरे पनि त्यो जीतका लागि पर्याप्त भने हुन सकेन । जडेजाले ८ बलमा नट आउट २१ रनको पारी खेल्दा केदार जाधव भने १२ बलमा ७ रन जोड्दै अविजित रहे । कोलकत्ताका शिवम् माभी, वरुण चक्रवर्ती, कमलेश नगरकोटी, सुनिल नरैन र आन्द्रे रसेल सबैले एक–एक विकेट हात पारे । प्याट कमिन्सले भने विकेट लिन नसकेपनि किफायती बलिङ गरेका थिए । आफ्नो ४ ओभरको स्पेलमा ११ वट डट बल फ्याँकेका कमिन्सले जम्मा २५ रन खर्चिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १६७ रनको योगफल टाँगेको थियो । चेन्नईका बलरको सटिक बलिङमा कोलकत्ताको मध्यक्रम पनि तासको पत्ताझैँ ढल्न पुग्यो । ओपनर राहुल त्रिपाठीको अर्धशतकीय पारीको मद्दतमा कोलकत्ताले सम्मानजनक स्कोर खडा पार्न सकेको हो । ५१ बल खेलेका त्रिपाठीले ८१ रनको योगदान दिए । म्यान अफ दि म्याच समेत बनेका उनले आफ्नो पारीमा ८ चौका र ३ छक्का जोडेका थिए । अर्का ओपनर शुभमन गील भने ११ रनको स्कोरमा आउट भए । विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिक १२ रन बनाएर प्याभेलियन फर्कँदा छ जना ब्याट्सम्यान दोहोर अंकको स्कोर नछोई आउट भए । ९ बलमा एक छक्का र एक चौकाको मद्दतमा १७ रन बनाएका कमिन्स भने नट आउट रहे । आफ्नो जन्मदिन मनाइरहेका चेन्नईका ड्वेन ब्राभोले ३ विकेट हात पार्दा सेम कुरान, सार्दुल ठाकुर र कर्ण शर्माले समान दुई–दुई विकेट चट्काए । चेन्नईका लागि कप्तान धोनीले स्टम्प पछाडि ४ वटा क्याच लिएका थिए ।

जीतसँगै २ अंक प्राप्त गरेको कोलकत्ता अंकतालिकामा तेश्रो स्थानमा पुगेको छ । पाँच खेलमा ३ जीत र २ हारको नतिजा निकालेको उसको ६ अंक रहेको छ । यता चेन्नईले भने आफ्नो छैटौँ खेलमा चौँथो हार बेहोर्न पुगेको हो । जारी प्रतियोगितामा दुई खेल मात्रै जितेको चेन्नई ४ अंक सहित तालिकाको पाँचौँ स्थानमा छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट