आज साउन ६ गते ३८ औं बीपी स्मृति दिवस, उहाँको सम्झनामा केही लेख्न मन लाग्यो । फेरि मनमा उब्जिरह्यो कि यो सजिलो विषयचाहिँ होइन । म बीपी कोइरालाको नाति पुस्ताको मान्छे, न मैले बीपीलाई देख्न पाउनु, न भोग्न पाउनु । तैपनि उहाँले जन्माएको पार्टी नेपाली कांग्रेसको एउटा साधारण कार्यकर्ताका हैसियतले आँट देखाउनुुपर्ने बाध्यता मलाई छ । तर, मलाई निकै सहयोग पनि भएको छ कि उहाँसँग संगत गरेका थुप्रै नेताहरुलाई देख्न र भोग्न आजका मितिसम्म पाइ नै रहेको छु । उहाँका लेख रचनाहरु, लिखितरुपमैै भएपनि महत्वपूर्ण भाषण, दर्शन र वाणीहरु अध्ययन गर्न भने मैले पाइरहेको छु । उहाँको बारेमा लेख्दै गर्दा यो मन, मष्तिष्कले भ्याएसम्म उच्च मेहनत गर्नेछु । मेरो लेखाइमा कुनै तलमाथि भएमा मेरो अज्ञानताका कारण हुनेछ । कहीँकतै उहाँप्रति लेखाइमा अन्याय भएमा मेरो लेखाई स्वतः अमान्य भएको मानिने छ । तत्कालीन समयमा दक्षिण एसियाकै प्रजातन्त्रवादी, समाजवादी नेता, बीपी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका सुत्राधार, प्रजान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका विषयमा लेख्न अत्यन्तै गाह्रो विषय पो हो यो त । तर, पनि हामीले नलेखे कसले लेख्छ त बीपीका बारेमा ? त्यसैले जानी–नजानी लेख्ने जमर्को गर्दैछु ।
बीपी कोइरालासँग मेरो परिवारका तीन पुस्ते आस्था र भरोसाको नाता छ । मेरा आदरणीय पिता स्व. गुरुदत्त न्यौपाने, मेरा आदरणीय काका एवं अभिभावकहरु, गोरखा जिल्ला नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं जिल्ला विकास समिति गोरखाका पूर्व सभापति चन्द्रप्रसाद न्यौपाने, नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति टीकाराम न्यौपाने, सत्याग्रही, प्रजातन्त्र सेनानी स्व. चन्द्रकान्त न्यौपाने, सत्याग्रही प्रजातन्त्र सेनानी स्व. श्रीधर न्यौपाने र तत्कालीन समयका प्रजातन्त्र सेनानी स्व. दामोदर तिमल्सेनालगायतहरुबाट मैले पाएको जानकारीनुसार नेपालको इतिहासमा नै पहिलो पटक जनताको अभिमतद्वारा लिइएको निर्वाचन २०१५ साल फागुन ७ गतेबाट सुरु भएको संसदीय निर्वाचनमा नेपाललाई १०९ क्षेत्रमा विभाजन गरिएको थियो ।

उक्त निर्वाचनमा नेपाली कांग्रेसले ७४ सिटमा विजय प्राप्त गरेको थियो । लमजुङ जिल्लालाई १०० र १०१ गरी दुई वटा क्षेत्रमा विभाजन गरेकोमा मेरो पुख्र्यौली जन्मथलो ऐतिहासिक भूमि दुराडाँडा, देवतापानी १०० नम्बर क्षेत्रमा पर्दथ्यो । उक्त संसदीय निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट हाम्रा काका स्व.कृष्णप्रसाद न्यौपाने र स्व.श्रीकान्त अधिकारीको दाबी रहेकोमा पार्टीले स्व.श्रीकान्त अधिकारीलाई उम्मेदवार बनाएपछि चुनावी प्रचारप्रसारका क्रममा नेपाली कांग्रेसका संस्थापक नेताहरु बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह लमजुङको सोतीपसल हुँदै भाइरथीभञ्ज्याङबाट कोइरालाफाँट हुँदै घोडामा चढी दुराडाँडा, देवतापानीमा (घोडामा सवार गर्दा सुवर्ण शमशेरको शरीर अलि ठूलो भएकोले निकै गाह्रो भएको) पुगी चुनावी सभालाई सम्बोधन गर्नु भएको र त्यहीँ नजिकका रहेको देवतापानीेको खुल्ला खेतमा तयार भएको सामुहिक भान्सामा सबै नेताहरुले खाना खानु भएको थियो ।
त्यस समयमा महिलाहरुले चोखो एकसरो ध्वती लगाएर भान्से बस्ने चलन थियो । ठूलो भान्सा हुने भएकोले उक्त भान्सामा ८ देखि १० जनासम्म महिला बस्ने गर्दथे । त्यस भान्सामा भान्सेको रुपमा मेरी हजुरआमा स्व. बाटुलीदेवी न्यौपाने, साइली हजुरआमा स्व. हरिमाया न्यौपानेसमेत हुनुहुन्थ्यो । २०१९ सालमा लमजुङबाट बसाइसराइ गरी चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ६, देवनगर (साविक गीतानगर गाउँ पञ्चायत वडा नं.४, देवनगर) मा स्थायी बसोबास गरी बस्दै गर्दा २०३६ सालको जनमत सङ्ग्रह र बीपी कोइरालाको स्वास्थ्योपचारपछि तत्कालीन समयमा राजनीतिकरुपमै ‘कन्फ्युजन’ रहेका विषयवस्तुहरुलाई स्पष्ट पार्ने अभिप्रायले २०३७ साल फागुन १२ गतेबाट चैत ५ गतेसम्म देशका विभिन्न ठाउँमा भएका आमसभा र कार्यक्रमहरुलाई सम्बोधन गर्ने क्रममा फागुन २९ गते नारायणगढको क्याम्पाचौरमा भएको आमसभामा बीपी आउने खबरले ७५ वर्षकी मेरी साइली हजुरआमा हरिमायालाई २०१५ सालमा आफँैले खाना खुवाएका बीपीलाई नजिकैबाट हेर्ने र फुल दिने जिद्दी गरी आमसभामा आउनुभएको थियो । त्योबेला जब बीपीले बोल्ने पालो आएको थियो, त्यही बखतमा तत्कालीन पञ्चायतका मण्डलेहरुले बालकुमारी मा.वि.को कम्पाउण्डबाट साढेहरुको गुँदद्वारमा पेट्रोल राखी आगो लगाई आमसभातिर छोडीदिँदा भागदौड मच्चियो । मान्छे नै मान्छेको भिडले कुल्चिँदा मेरी हजुरआमाको कम्मर (हर) भाँचियो ।
आर्थिक अवस्थाका कारण नजिकैे उच्च प्रविधिको स्वास्थ्योपचार सुविधा नभएकाले घरैमा जडीबुटी उपचार मात्र गर्दा राम्रो उपचारै नपाएर थलिएरै २०४० साल भदौ १९ गते उहाँको निधन भयो । अन्ततः उहाँको बीपीलाई नजिकैबाट देख्ने र फूल दिने इच्छा त पूरा भयो । तर, उहाँ आफैँले अलि लामो समयसम्म बाँच्ने इच्छाचाहिँ पूरा गर्न पाउनुभएन । यो घटना हाम्रो न्यौपाने परिवारमा अविस्मरणीय छ । तत्कालीन समयमा बीपी कोइरालासँग आस्था र भरोसा राख्ने यस्ता परिवारहरु लाखौँलाख थिए । यो त एउटा प्रतिनिधि घटना मात्रै हो ।
पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको माइलो सन्तानको रुपमा यस धर्तीमा १९७२ साल भदौ २४ गते भारतको बनारसमा बीपी कोइरालाको जन्म भएको थियो । बीपी कोइरालाको न्वारानको नाम चुडामणि कोइराला थियो ।

पिता कृष्णप्रसाद, दाजु मातृकाप्रसाद, भाइहरु गिरिजाप्रसाद, तारणीप्रसाद, केशवप्रसाद कोइरालालगायत कोइराला परिवारका सबै सदस्यहरु राजनीतिक परिर्वतन र सामाजिक रुपान्तरणका पक्षमा सक्रिय रहेका कारण घरायसी वातावरणबाट नै राजनीतिक परिर्वतन र समाजिक रुपान्तरणका पक्षका गतिविधिका विषयमा बीपी कोइराला चिरपरिचित हुनुहुन्थ्यो । परिवार नै राजनीतिक परिवर्तन र सामजिक रुपान्तरणमा सक्रिय रहेका कारण बीपीलाई बाल्यकालदेखि नै हरेक विषयमा चासो राख्ने, समाधानका उपायहरुको पहिचान गरी अगाडि बढ्दै जाने दृढ इच्छा शक्तिले बीपीलाई नेतृत्वमा अगाडि आउने, सबैको प्रिय बन्ने वातावरणको सिर्जना गरेको हामी पाउँदछौँ ।
बीपी कोइराला नरिसाई सबैसँग हाँसी–हाँसी बोल्ने, जस्तोसुकै दुःख कष्ट आइपरे पनि संयमित भएर नेतृत्व सम्हाल्ने, ठुल्ठूला जोखिमहरु उठाउन तयार हुने, निडर स्वाभिमानी स्वभावका धनी हुनुहुन्थ्यो । उहाँ सबै उमेरका नेता तथा कार्यकर्ता साथीहरुले सजिलो गरी बीपीबाबु भनी बोलाउँदा खुसी नै हुनुहुन्थ्यो ।
तत्कालीन राणा शासनका बेलामा राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका विषयमा कुरा मात्रै गर्दा जेल जानुपर्ने, ज्यानसमेत जाने र सर्वश्वहरण भई देश निकालासमेत गरिदिने प्रशस्त सम्भावनाहरु हुन्थ्यो । पिता कृष्णप्रसाद, उहाँ र भाइहरुलगायत परिवारका सबै सदस्यहरु राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका अगुवाको रुपमा चिनिनुहुन्थ्यो । त्यसैले तत्कालीन राणा सरकारले उहाँ र उहाँका परिवारका सदस्यहरुलाई पटक–पटक जेल सजाय, सर्वश्वहरणसहित देशनिकाला गरेका थिए । पटक–पटक जेलजीवन र देश निकाला गर्नु उहाँ र उहाँका परिवारका सदस्यहरुका लागि पानीपँधेरोजस्तै थियो ।
उहाँ प्रजातान्त्रिक भावनाबाट पे्ररित भएर भारतमा अङ्गे्रज विरोधी अभियानमा लाग्दा १९८७ सालमा पहिलो पटक जेलको यातना सहनुप¥यो । नेपाल र भारतमा गरी पटक–पटक ३ वर्षको जेल यातना सहनुप¥यो र नेपालको सुन्दरीजल जेलमा मात्रै लगातार ८ वर्ष जेलजीवन बिताउनु प¥यो । उहाँले एकपटक चिनजान भएको मानिसलाई कहिल्यै भल्नु हुन्थेन । बीपी कोइरालाको जीवन नै सहीरुपमा भन्ने हो भने आजसम्म कसैले पढ्न नसकेको ग्रन्थ हो ।
बीपी कोइरालाको जीवनलाई दुई भागमा हेर्नुपर्दछः एउटा राजनीतिक र अर्को साहित्यिक ।
साहित्यिक जीवनमा उहाँका विभिन्न प्रकाशित, अप्रकाशित साहित्यक कृतिहरु हामीले पाउँदछौँ ।
जस्तै : १) कथासङ्ग्रहहरुमा ःदोषी चश्मा, श्वेत भैरवी, विश्वेश्वरप्रसाद कोइरालाका कथाहरु ।
(२) उपन्यासहरुमा ः तीनघुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदी आइन्, हिटलर र यहुदी, बाबु, आम र छोरा ।
(३) निबन्ध र दैनिकीहरुमा ः जेलजर्नल, फेरि सुन्दरीजल, कोइरालाको डायरी ।
(४) संस्मरणहरुमा ःआत्मवत्तान्त, जीवनी, उपनाम, आफ्नो कथा र विश्वेश्वरप्रसाद कोइरालाका कविताहरु आदि छन् ।
जननायक बीपी कोइरालाको जीवनका महङ्खवपूर्ण राजनीतिक घटनाहरुको सारसङ्क्षेप:
विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक जीवनलाई विश्लेषण गर्दा, बीपी कोइरालाले नेपाललाई विकास गर्न प्रजातान्त्रिक माध्यमबाट मात्रै सम्भव भएकोले प्रजातान्त्रिक संगठन निर्माणको अभियानमा २००३ साल कात्तिक १५ गते वनारसमा बस्ने सबै नेपालीहरुलाई समावेश गराई औपचारिक अधिवेशनले अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको गठन हुनपुग्यो र पुनः बृहतसभा गर्ने निर्णयानुसार २००३ साल माघ १२ र १३ गते भारतको कलकत्ताको भवानीपुरस्थित खालसा हाइस्कुलमा सम्पन्न अधिवेशनले अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसबाट परिवर्तन गरी नेपाली राष्ट्रिय कांग्रेस गठन गरी ३३ वर्षका बीपीलाई कार्यकारी सभापति र नेपालको जेलमा रहनुभएका टंकप्रसाद आचार्यलाई मानार्थ सभापतिमा चयन गयो । उक्त अधिवेशनले मूलतः ३ वटा राजनीतिक प्रस्तावहरु पारित गयो ।
(१) राज्य स्थापनाको दैविक मान्यतालाई चुनौती दिँदै नेपाल र नेपाली जनताका सार्वभौम अधिकारको स्थापनाका लागि आफ्नो कर्तव्य नबुझ््ने राजा नै जनताको सत्रु हो ।
(२) देशमा प्रजातन्त्र स्थापनाका लागि अहिंसात्मक सशक्त जनक्रान्ति गर्ने ।
(३) सबै जात, धर्म, लिङ्ग, वर्ण, आर्थिक अवस्थाका नेपालीहरु यस पार्टीको सदस्य र पदाधिकारी बन्न सक्नेछन् ।
बीपीकै निर्देशनमा नेपालको इतिहासमा पहिलो पटक २००३ साल फागुन २० मजदुर आन्दोलन भएको थियो । त्यसको प्रभाव दशैभरी पहाड, तराई र काठमाडौँ उपत्यकामा आन्दोलन सशक्त हँुदै गएको अवस्थामा अझ सशक्त बनाउनका लागि २००३ साल चैत ३० गतेबाट सत्याग्रह सुरु भएको थियो । नेपालमा यो नै पहिलो सत्याग्रही आन्दोलन थियो । त्यसपछि नेपालमा विभिन्नरुपमा शान्तिपूर्ण आन्दोलन सञ्चालन हुँदै गएको अवस्थामा २००४ माघ २० देखि २२ गतेसम्म भारतको वनारसमा नेपाली कांग्रेसको दोस्रो अधिवेशन सम्पन्न भयो । बीपी कोइरालालाई एकल सभापति चयन गर्दै विभिन्न निर्णय गरी अधिवेशन सम्पन्न भयो ।
१) जनआन्दोलनको स्वरुप अहिंसात्मक हुनेछ ।
२) अहिंसात्मक आन्दोलनको सबैभन्दा सशक्त हतियार जनताको संगठन भएकोले जनताका कार्यहरुमा सहयोग गरेर कांग्रेसलाई जनजागरण मार्फत संगठित र खुल्ला संस्था बनाउने ।
३) देशमा नागरिक अधिकारको स्थापना गरी नागरिकबाट निर्वाचित जनप्रतिनिधिहरुको विधान परिषद्ले देशको शासन व्यवस्थाको स्वरुप निर्धारण गर्ने ।
(४) पार्टीका सबै गतिविधिहरुलाई जनताका बीचमा जानकारी गराउने उद्देश्यले ‘युगवाणी’ पत्रिका सञ्चालन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई जिम्मा लगाउने ।
नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो महाधिवेशन २००५ फागुन १८ गते भारत विहारको दर्बङ्गामा सम्पन्न भयो । उक्त महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापतिमा चयन गयो । २००६ फागुन १२ गते दुवै पार्टी नेपाली राष्ट्रिय कांग्रेस र सुवर्ण शमशेरको सक्रियतामा २००४ साल श्रावण १ मा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेसबीचमा एकीकरण गर्ने संयुक्त विज्ञप्ति जारी भयो । नेपाली जनताको स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्न ऐतिहासिक आवश्यकतालाई समेत महसुस गरी २७ चैत २००६ मा दुवै पार्टीहरुको एकीकरण गरी पार्टीको नाम नेपाली कांग्रेस नामाकरण गर्ने काम सम्पन्न भयो । भारत कोलकाताको टाइगरहलमा सम्पन्न संयुक्त चौंथो महाधिवेशनले बीपी कोइरालालाई पुनः सभापतिमा चयन गयो ।
नेपाली कांग्रेसले तत्कालीन राणा शाही सरकारका विरुद्धमा जनताका बीचमा शान्तिपूर्ण आन्दोलन सञ्चालनका लागि २००६ सालमा आफ्नो ३ पृष्ठको प्रथम घोषणापत्र प्रकाशित गयो । उक्त घोषणापत्रको संक्षेपमा नेपालमा वर्तमान शासनप्रणाली स्थापित भएको एक सय वर्षभन्दा बढी भयो । यस व्यवस्थालाई राणा शाहीका नामले पनि सम्बोधन गर्ने गरिएको छ । विगत शताब्दी नेपालमा भयङ्कर राजनीतिक, आर्थिक र सामाजिक दुष्परिणामका ऐतिहासिक घटनाहरु बने । यस पारिवारिक शासन व्यवस्थाको सुत्रपात जंगबहादुरले छल र कपटको भरमा गरे ।
तत्कालीन नेपालका वास्तविक शासक राजालाई समेत नजरबन्दमा दरबारमा नै राखेका छन् । राजा र जनताका बीचमा राणाशाही तगारो बनेको छ । राणावंशीय प्रधानमन्त्रीलाई जनताप्रति कुनै स्नेह छैन । विश्वका अन्य देशका जनताले प्राप्त गरेको संवैधानिक अधिकार नेपाली जनताका लागि पनि स्वप्नवत् छ । राणशासनको निरङ्कुशता र स्वेच्छाचारिता नै यस व्यवस्थाको वास्तविक स्परुप हो । अतः यस प्रकारको शासन व्यवस्था जनतामा कहीँ कहिल्यै पनि अप्रिय नै हुन्छ ।
देशमा रहेको सम्पूर्ण प्राकृतिक स्रोतसाधन र सम्पत्तीको मुख्य भाग राणाहरुको बिर्ता बनिसकेको छ । नेपालमा अहिले तीन आर्थिक वर्गहरु शेष छन् । शासक वर्ग जोसँग कुवेरकोे ढुकुटी छ । मध्यम वर्ग जो दिनप्रतिदिन कङ्गाल बन्दैछ । गरिब वर्ग जो दिनप्रतिदिन लुटिँदै छन् । नेपालमा विदेशी सामरिक, आर्थिक कुनै प्रकारको पनि हस्तक्षेप नेपाली कांग्रेसले मन पराउँदैन ।
नेपालको वर्तमान निरकुङ्श शासकले स्वयंलाई अझै केहीदिन कायम राख्ने उद्देश्यले विदेशी शक्तिलाई भित्राएर अधिकका अधिक शक्ति प्राप्त गर्न सक्ने नीति बनाएका छन् । नेपालमा विदेशी शक्तिको हस्तक्षेपलाई नेपाली कांग्रेस घोर विरोध गर्दछ ।
मूलतः घोषणापत्रमा निरङ्कुश राणा शासनको समूल अन्त्य र जनताबाट निर्वाचित जनताको सरकारको अनिवार्यतालाई स्वीकार गरेको थियो । नेपाली कांग्रेसको आयोजनामा बीपी कोइरालाको नेतृत्वमा २००७ साल असोज १० गते रौतहटको वैरगनियामा रणनीतिक, राजनीतिक सम्मेलनले अहिंसात्मक आन्दोलनबाट जनताको अधिकार प्राप्त हुन नसक्ने निष्र्कषसहित सशत्र आन्दोदन गर्ने निर्णय गरी, २००७ साल कात्तिक २१ गते नै शसस्त्र आन्दोलन तयारी पूरा गरी पहिलोपटक २५ गते राति र २६ गते बिहान वीरगञ्ज कब्जा गयो । त्यसपछि क्रमशः देशका विभिन्न ठाउँहरु कब्जा ग¥यो ।
क्रान्तिकारीहरु युद्धका विभिन्न मोर्चाहरुमा ज्यानको बाजी लगाएर लडिरहेका थिए । राणाशाही सरकार अत्तालिएर भारत सरकारसँग खुसामत गर्दै थियो । क्रान्तिकारीहरुले देश भरिका ठाँउ–ठाउँ आक्रमणलाई तीव्रता बढाएपछि राणाशाही लत्रिन बाध्य भयो । अन्ततः २००७ साल फागुन ७ देशमा प्रजातन्त्रको घोषणा भई जनताका प्रतिनिधि सम्मिलित सरकार बन्यो । देशमा अन्तरिम संविधान बन्यो । चैत १७ गते देशमा कानूनी शासनको सुरुआत भयो । देशमा छिटोभन्दा छिटो विधानसभाको चुनाव गराउने त्यो अन्तरिम सरकारको प्रमुख दायित्व थियो ।
यसैबीच बीपी कोइरालाले नेपाली कांग्रेसजनहरुका बीचमा सरकारका गतिविधिहरु र विधानसभाको चुनावमा भएको आनाकानीलाई समावेश गरी जानकारी गराउने उद्देश्यले २००८ साल चैत २५ गते घोषणापत्र जारी गर्नु भयो । नेपाली कांग्रेसको २००९ साल ज्येष्ठ १० देखि १३ सम्म जनकपुरमा सम्पन्न पाँचौं महाधिवेशनले पुनःबीपी कोइरालालाई सभापति चयन गयो । महाधिवेशनले विभिन्न राजनीतिक प्रस्तावहरु पारित ग¥यो ।
(१) छोटो समयमै महान् राजनीतिक क्रान्ति सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा गर्व गर्दै क्रान्तिका सबै शहीद र योद्धाहरुप्रति श्रद्धा र सम्मान प्रकट गयो ।
(२) यसभन्दा अगाडिका महाधिवेशनहरुमा राखिएको राजनीतिक उद्देश्य प्राप्तिका लागि ठोस अभियान सञ्चालन गर्ने ।
(३) जिम्मेवारीलाई राजनीतिक र आर्थिक दिशाबाट सम्पन्न गर्नुपर्ने, प्रजातान्त्रिक संस्थाको रुपमा राज्यको राजनीतिक ढाँचा निर्धारण गर्नुपर्ने ।
(४) जनप्रतिनिधिहरुले नै मुलुकको शासन पद्धति तयार गर्नुपर्ने भएकोले विधानसभाको निर्वाचन गरी जनप्रतिनिधिसभाको निर्माण गर्ने र उनीहरुले तयार गरेको विधानका आधारमा मुलुकको शासन व्यवस्थालाई सञ्चालन गर्नुपर्ने ।
(५) जनअधिकार तथा कानुनी शासनको संरक्षणका लागि स्वतन्त्र न्यायलयको निर्माण गर्ने, विकेन्द्रित शासन प्रणालीको अवलम्बन गरी स्थानीय संरचनाहरुमा जनप्रतिनिधिहरुमार्फत शासन सञ्चालन गर्ने ।
(६) सामाजिक न्याय प्रदान गर्ने संस्थाको रुपमा राज्यको आर्थिक ढाँचा, भूमिकामा व्यापक सुधार, विर्ता, बटैया, प्रथाको अन्त्य, सहकारीखेती प्रणाली, अन्न कोष वा धर्म भकारीको निर्माण गर्ने, औद्योगिक नीति निर्माण गर्ने ।
(७) पञ्चशीलको सिद्धान्तका आधारमा नेपालको विदेश नीति हुनेछ । हामी कसैको पनि सम्प्रभुता र सम्मानमा असर पार्ने छैनौँ र हामी कसैको अनावश्यक हस्तक्षेप स्वीकार गर्ने छैनौँ ।
२००९ साल श्रावण २२ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई राजीनामा दिन बाध्य पारियो । नेपाली कांग्रेसलाई विधानसभाको चुनाव नगराउने षड्यन्त्र दरबारबाट सुरुआत भएको आभास प्राप्त भएपछि पार्टी आन्दोलनमा जानुको विकल्प रहेन । विभिन्न आन्दोलनका कार्यक्रमहरु चलाउँदै विभिन्न मागहरु राखी २०११ पुस २६ दोस्रो सत्याग्रहको सुरुआत गर्नु प¥यो । त्यसैगरी पार्टीका छैटौँ महाधिवेशन २०१२ साल माघ १० देखि १२ गतेसम्म वीरगञ्जमा सम्पन्न भयो । महाधिवेशनले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई उच्चतहको निर्देशन दिने निर्णय ग¥यो ।
(१) प्रजातन्त्रवादका आधारमा समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्धनबाट समाजवादी समाजको निर्माण गर्ने ।
(२) सामाजिक न्यायका आधारमा आर्थिक सम्वृद्धिका लागि भूमि सुधार र औद्योगिकरण गर्ने ।
(३) धार्मिक, जातीय, वर्गीय र लिङ्गीय निरपेक्षताका आधारमा प्रजातान्त्रिक समाजवादको स्थापना गर्ने ।
(४) सामाजिक रुपान्तरणका लागि विकेन्द्रीकरण कार्यक्रम लागू गर्ने ।
(५) विधानसभाको निवार्चन तत्काल गर्न दबाब दिने ।
(६) एसिया समाजवादी सम्मेलन सदस्यता लिने ।
(७) समाजवादी समाजको निर्माणका लागि राष्ट्रिय योजना समिति निर्माण गर्ने आदि ।
जननायक बीपी कोइरालाले २०११ सालमा जापानमा सम्पन्न भएको प्रथम एसियाली समाजवादी सम्मेलनमा भाग लिनुभयो । २०१३ सालमा भारतको बम्बईमा सम्पन्न भएको द्वितीय एसियाली समाजवादी सम्मेलनमा नेपाली कांग्रेसले त्यस संगठनको पूर्ण सदस्यता प्राप्त गरेको थियो । नेपाली कांग्रेसको आयोजनामा बीपी कोइरालाको अगुवाइमा २०१४ साल चैत १३ देखि १५ गतेसम्म काठमाडौँमा एसियाली समाजवादी सम्मेलन सम्पन्न भयो ।
उक्त सम्मेलनमा भारत, पाकिस्तान, बर्मा, जापान, पश्चिम इजरायल, इन्डोनेसिया, भियतनामलगायतका देशहरुको सहभागिता रहेको थियो । नेपाली कांग्रेसको विशेष महाधिवेशन २०१४ जेठ १० बिराटनगरमा सम्पन्न भएको थियो । २०१४ मंसिर २२ गते भद्र अवज्ञा आन्दोलन सुरु भयो । देशभरी नेता तथा कार्यकर्ता उल्लेखनीय सहभागीले पार्टीको संगठन राम्रो हुन गई २०१५ सालको निर्वाचनमा राम्रो परिणाम आउन सक्यो ।
तत्कालीन राजा महेन्द्रले २०१५ माघ १९ गते शाही घोषणामार्फत विधानसभाको होइन संसद्को निर्वाचन हुने घोषणा गरेपछि, जननायक बीपी कोइरालाले संसद्को निर्वाचनमा गए पार्टीको अडान छाड्नुपर्ने । नजाउँ भने कांग्रेसले चुनाव चाहँदैन भनेर आलोचना गर्ने स्थिति देखाप¥यो । बीपीले २९ गते नेपाल पुकारमा अन्तरवार्ता दिँदै भन्नुभयो । ‘निश्चय नै शाही घोषणालाई प्रजातन्त्रको घोषणापत्र भन्न मिल्दैन र सैद्धान्तिक दृष्टिबाट त्यसको सफलतापूर्वक आलोचना गर्न सकिन्छ । तर, राजनीतिक सिद्धान्त विश्वासको वस्तु मात्र होइन व्यवहारको विषय पनि हो । यदि कुनै पनि कुराले आजको असह्य स्थितिमा सुधार ल्याउँछ भने त्यो ग्राह्य हुन्छ’ भन्नुभयो । जब संसदीय निर्वाचन हुने नै भएपछि बीपीले देशभरि निर्वाचनमा जुट्न सबै तहका नेता तथा कार्यकर्तालाई ४ पृष्ठको लिखित निर्देशन दिनुभयो । नेपाली कांग्रेसको सक्रियता र अग्रसरताका कारण नेपालको इतिहासमा पहिलो पटक नेपाली जनताले मतदान गर्ने अवसर पाए ।
२०१५ साल फागुन ७ गतेदेखि २०१६ बैशाख २८ सम्म सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले कुल १०९ सिटमध्ये ७४ सिटमा विजयी भई नेपालको इतिहासमा जनताले निवार्चनद्वारा प्रथम जननिर्वाचित सरकारको नेतृत्व गर्ने अवसर नेपाली कांग्रेसलाई सुम्पिए र २०१६ जेठ १३ गते जननायक बीपी कोइरालाले प्रथम जननिर्वाचित प्रधानमन्त्रीका हैसियत सपथग्रहण गर्नुभयो । १८ महिनाको बीपीको नेतृत्वको सरकारले व्यापक सुधारका कार्य सम्पन्न गयो । जस्तैः स्वतन्त्र र निष्पक्ष न्यायालयको विकास, प्रशासनिक सुधार, विकेन्द्रीकरण कार्यक्रमका लागि जिल्ला जिल्लामा विकास बोर्ड गठन, आर्थिक सुधारका कार्यक्रमहरु, जिल्लाको कुल आम्दानीको २५ प्रतिशत सोही जिल्लामा खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था, कर्मचारीको तलब वृद्धि, भ्रष्टाचारविरुद्धको अभियान, विर्ताउन्मूलन ऐनको व्यवस्था, सम्पत्ती करको व्यवस्था, जंगलको राष्ट्रियकरण, मुद्रा प्रचलनमा एकरुपता, औद्यौगिक विकास संघको स्थापना, शान्ति सुरक्षाको प्रत्याभूति, राष्ट्रिय योजना समितिको निर्माण, राज्य रजौटाहरुको उन्मूलन, सहकारी संस्थाहरुको गठन, ग्राम विकास कार्यक्रमको सुरुआत, रोयल नेपाल एयरलाइन्स कर्पोरेसनको राष्ट्रियकरण, राजमार्गहरुको सर्वेक्षण, हवाई यातायातको विस्तार र पुलहरुको निर्माण, सिँचाई तथा कृषि विकासका क्षेत्रमा मुलुकभरी अनेकौँ परियोजनाहरुको सुरुआत, दशैभरी स्कुलहरु खोल्ने नीतिलाई खुल्ला, देशको प्रथम विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापना, बालाजु औद्योगिक क्षेत्रको स्थापना, चिनी र चुरोट कारखानाहरुको स्थापना, देशैभरि घरेलु उद्योगहरुको सुरुआत, नेसनल ट्रेडिङको स्थापना, किसानलाई बढी अन्न उब्जाउका लागि प्रोत्साहन कार्यक्रमको सुरुआत, देशको विकासका लागि सुव्यव्यस्थित बजेट र योजनाबद्ध आर्थिक विकासको गतिशील मार्ग अँगालेर नेपाली कांग्रेस अग्रसर हुन लागेको देखेर यहाँका सामन्ती र प्रतिक्रियावादी तत्वहरुले अब हाम्रो सबै अधिकारहरु यो बीपी कोइरालाको सरकारले जनतामा पुराउने भयो भनि राजालाई उस्काए ।
बीपीले यो जानकारी पाएपछि २०१० कात्तिक १० गते गठन भएको नेपाल तरुण दललाई देशैभरि जागरुक गराई परिचालन गर्ने उद्देश्यका साथ तरुणहरुको राष्ट्रिय सम्मेलनमा सम्बोधन गरिरहेका बखत २०१७ साल पुस १ गते जनताबाट निर्वाचित सरकारलाई ‘कु’ गरी राजाले शासन व्यवस्था आफँै लिई, बीपीलगायत नेताहरुलाई सुन्दरीजल जेलमा राखियो । स्मरण रहोस् २०१५ सालको संसदीय निर्वाचनमा ४ सिट ल्याएका कम्युनिष्टहरुले २०१७ साल पुस १ गते घर घरमा दीपावली मनाएका थिए ।
अन्ततः नेपालको इतिहासमा प्रजातन्त्रका लागि पुस १ गते कालो दिनको रुपमा रह्यो । बीपीलाई जेलमा राखिए पनि अप्रत्यक्षरुपमा आन्दोलनको नेतृत्व उहाँबाटै भइरहेको थियो । पुनः राजाबाट २०१७ पुस २२ गते देशका सबै पार्टी उपर प्रतिबन्धको घोषणा गरियो । फेरि नेपाली कांग्रेसलाई आन्दोलनमा जानुको विकल्प रहेन । २०१८ देखि २०१९ सालसम्म इलामको च्याङथापुदेखि जनकपुर, भरतपुर, गुल्मी, बझाङसम्म देशैभरि सशस्त्र प्रतिरोध आन्दोलन चलायो । पुनः२०१९ साल कात्तिक २३ गते सशस्त्र आन्दोलन स्थगित गरी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय ग¥यो । नेपाली कांग्रेसको २०२४ साल १ देखि ६ गतेसम्म भारतको कलकत्तामा बसेको कार्यकारी परिषद्को बैठकले संविधानसभाको निर्वाचन, बन्दी नेताहरुको रिहाइ, भूमिसुधारका माध्यमबाट सामाजिक न्याय, ट्रेड युनियन अधिकारको स्थापनालगायतका मागहरु पूरा गराउन आन्दोलन गर्ने निर्णय गयो । २०२५ साल जेठ २ गते राजासँग मेलमिलापको नीति अगाडि राख्ने निर्णयनुसार संविधानसभाको चुनाव प्रथम प्राथमिकता दिने निर्णय ग¥यो । २०२५ कात्तिक १४ गते बीपी कोइरालालगायत नेताहरु सुन्दरीजल जेलबाट रिहा हुनुभयो । नेपाली कांग्रेसले २०२६ देखि २०३३ सालसम्ममा आन्दोलनको त्रिकोणात्मक रणनीतिक कार्यनीति अगाडि ल्यायो ।
(१) सुवर्ण शमशेरको नेतृत्वमा राजासँग वार्ता समझदारी कायम गर्ने ।
(२) कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अहिंसात्मक र असहयोग आन्दोलन मुलुकभित्रबाटै सञ्चालन गर्ने ।
(३) बीपी कोइरालाको नेतृत्वमा नेपालको तराई क्षेत्रबाट सशस्त्र संघर्ष गर्ने निर्णय गयो । विगत १० वर्षदेखि स्वतन्त्र विद्यार्थी आन्दोलनका नामबाट चलिरहेको संगठनलाई २०२७ साल बैशाख ६ नेपाल विद्यार्थी संघको नामबाट विधिवतरुपमा गठन भयो । भारतमा निर्वासित बीपी कोइरालाले २०२९ सालमा नेपाली मातृभूमिलाई वर्तमानको प्रसव वेदनाबाट मुक्त पार्न आवश्यक परेमा शल्यक्रिया पनि गर्नुपर्ने वक्तव्य बिराटनगर दिनुभएपछि नेपालको राजनीतिमा ठूलो हलचल ल्यायो ।
पुनः २०२९ भदौ ९ गतेबाट बीपीको नेतृत्वमा सशस्त्र क्रान्ति सुरु भयो । त्यस क्रममा हरिपुर काण्डदेखि लिएर विराटनगर बमकाण्डसमेतका अनेक काण्डहरु घटे, हजारौैँ नवयुवकहरु फेरि एकपल्ट प्राणको बाजी राखेर तानाशाहीका विरुद्ध वीरतापूर्वक संघर्षमा उत्रिए । नेपाली कांग्रेसले आन्दोलनलाई अगाडि बढाउन २०३० सालमा विराटनगरबाट काठमाडौँका लागि उडेको तत्कालीन शाही नेपाल वायुसेवा निगमको प्लेन अपहरण ग¥यो ।
बीपीलगायत नेताहरु भारत निर्वासनमा रहेका बेला २०३२ मंसिर १ भारतमा संकटकालको घोषणाले नेपाली कांग्रेसका नेताहरुको सुरक्षा स्थिती अत्यन्तै नाजुक भयो । बीपी कोइरालालगायत नेताहरुलाई भारतमा पनि खतरा नेपालमा पनि खतरा उत्पन्न भयो । जसका कारण नेपालको राष्ट्रियताप्रति पनि गम्भीर खतरा उत्पन्न भएको महसुस गर्दै बीपीले २०३३ साल पौष १६ गते राष्ट्रिय मेलमिलापको नीति अगाडि सार्नुभयो ।
तत्कालीन शाही सरकारले बीपीलाई ७ वटा मुद्दाहरु लगाएको थियो । एउटा मात्र मुद्दा सक्रिय हुँदा बीपीलाई फाँसीको सजाय हुन सक्दथ्यो । एउटा कुरा स्मरण रहोस्, बीपी कोइरालाले आन्दोलनका बखत नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई लगाइएका सम्पूर्ण मुद्दाहरु उहाँ आफैँ स्वीकार गर्नुहुन्थ्यो । म बाँचे पनि नेपालमा नै बाँच्छु, मरे पनि नेपालमा नै मर्छु भनी, देशमा प्रजातन्त्रका सवालमा राजासँग मेरो गम्भीर असहमति छ । तर, राष्ट्रियताका सवालमा मेरो र राजाको घाँटी जोडिएको छ, मेरो घाँटी काटिँदा राजाको घाँटी पनि बाँकी रहने छैन भनी, अपिल प्रकाशित गरी बीपी नेपाल आउनुभयो । तर, बीपीलगायत नेताहरुलाई गिरफ्तार गरी जेल राखियो ।
उहाँमा घाँटीको क्यान्सरको समस्या देखिएपछि बन्दी अवस्थामा नै उपचारका लागि अमेरिका जानुभयो । नेपाली कांग्रेसले देशभरिका नेता तथा कार्यकर्ताहरुलाई आन्तरिकरुपमा जागरुक गराइरहेको अवस्था र २०३६ सालको विद्यार्थी आन्दोलन र देशैभरि आन्दोलनले भित्रभित्रै सशक्त रुप लिने अवस्था देखेपछि राजाले फेरि अर्को षडयन्त्रको रुपमा नेपाली कांग्रेसको संविधानसभाको चुनावको विकल्पको रुपमा २०३६ साल जेठ १० जनमत सङ्ग्रहको घोषणा गरे ।
तत्कालीन शाही सरकारले बहुदल नीलो, निर्दल पहेँलो रङ हुने गरी ०३७ साल बैशाख २० गते जनमत सङ्ग्रह सम्पन्न भयो । २०३७ साल जेठ १ गतेको मत परिणमानुसार बहुदल निलोको पक्षमा २० लाख ७ हजार ६५ र निर्दल पहेँलोको पक्षमा २४ लाख ३३ हजार ४ सय ५२ बनाई जबरजस्ती निर्दललाई विजयी गराइयो ।
बीपी कोइरालाले आफ्नो राजनीतिक जीवनमा नेपालको प्रजातान्त्रिक आन्दोलन र दक्षिण एसियामा नै प्रजातान्त्रिक समाजवादका लागि सशक्त भूमिका निर्वाह गरिरहेका बखतमा आफूलाई क्यान्सरजस्तो भयानक रोगले समातिरहेको अवस्थामा देशमा देखिएको राजनीतिक कन्फ्युजनहरुलाई स्पष्ट पार्ने अभिप्रायले २०३७ साल फागुन १२ देखि चैत ५ गतेसम्म नेपालका विभिन्न ५ स्थानमा नेपाली कांग्रेस र यसका भातृ संस्थाहरु, शुभेच्छुक संस्थाहरुले आयोजना गरेका आमसभाहरुलाई सम्बोधन गर्नुभयो । यिनै कार्यक्रमहरु नै जननायक बीपी कोइरालाका औपचारिक अन्तिम कार्यक्रमहरु रहे । क्यान्सर रोगसँग लड्दालड्दै, नेपाल र नेपालीको अझै सेवा गर्ने तीब्र इच्छा हुदाँहुँदै २०३९ श्रावण ६ गते काठमाडौँमा उहाँले देह त्याग गर्नुभयो ।
जननायक बीपी कोइरालाको देशमा प्रजातान्त्रिक समाजवाद र प्रजातान्त्रिक सरकारको स्थापना गरी देशमा भएको सम्पूर्ण प्राकृतिक स्रोतसाधनको अधिकतमरुपमा आधुनिक र वैज्ञानिक ढंगले उत्पादन एवं परिचालन गरी सबै नेपाली जनतालाई युग सुहाँउदो रुपमा अगाडि बढाउने इच्छा अपूरै, अधुरै रह्यो ।
जननायक बीपी कोइरालालाई अन्तरमनबाट कसरी बुझ्ने ?
बीपी कोइरालाले गरिब किसान, मजदुर, विद्यार्थी, शिक्षक, निजामती कर्मचारी, व्यापारी, डाक्टर, इन्जिनियर, पाइलट, वकिल, सैनिक, भूपू सैनिक, भूपू राष्ट्रसेवक, पत्रकारहरुलगायतका विषयमा उनीहरुको अवस्था, समस्या, उनीहरुको राष्ट्र निर्माणका लागि क्षमता र योग्यताका बारेमा सबैलाई मान्य हुने सर्वमान्य सिद्धान्त उहाँमा थियो ।
जननायक बीपी कोइरालाले भन्ने गर्नुहुन्थ्यो, हाम्रो देशमा १०० जनामा ९० जना गरिब र श्रमजीवी छन् । जसलाई बिहान बेलुुका खान लगाउनको समस्या छ । हो नेपाल भनेको तिनै खान लगाउन नपाउने गरिब किसान र श्रमजीवी मजदुरहरुको हो । जब म नेपालको कल्पना गर्न थाल्दछु तिनै गरिब, श्रमजीवी नेपालीहरुको तस्विर मेरो मनमा झल्झली आउँछ । हामी राजनीतिमा लागेको खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस्, रोगीले समयमा नै औषधी पाओस्, पढ्न नपाएका केटाकेटीहरुले पढ्न पाउन् भनेर नै हामीहरु राजनीतिमा लागेका हौं । मन्त्री हौंला, ठुल्ठूला कुर्सीमा जाउँला भनेर राजनीति गरेका होइनौँ । बीपी कोइराला समाजवादका विषयमा भन्नुहुन्थ्यो कि समाजवाद भनेका हाम्रो मुलुक किसानहरुको, गरिबहरुको, श्रमजीवीहरुको मुलुुुुुक हो । जसले गाउँमा बस्ने गरिब, किसान र श्रमजीवीहरुको भलाइ गर्दछ । जसले उनीहरुको मुहारमा मुस्कान ल्याउन सक्दछ । त्यही नै असली समाजवाद हो । के आज नेपाली कांग्रेस पार्टीमा किसान, गरिब र बलाई चिन्ने, नेता छ ? के गरिब, किसान र श्रमजीवीले नेपाली कांग्रेसको नाम लिन्छ ? जब गरिब र श्रमजीवी जनताले नेपाली काँगेसलाई चिन्दैन अनि कसरी बीपी लाई चिन्दछ ?
अहीले हामीले सत्य मानी देखीरहेका छौँ कि असली राष्ट्रवादीहरु, प्रजातन्त्रवादीहरु इमान्दार व्यक्तिहरु जो शोषण, भ्रष्टाचार, दूराचार, अत्याचारको विरोधमा छन् । विस्तारै पार्टीका गतिविधिहरुबाट उनीहरु टाढा हुने अवस्था आउँदै छ । तर, जसले आज देशलाई, पार्टीलाई यस अवस्थामा ल्याए, जो बाहिरबाट सञ्चालित छन् र अरु राष्ट्रप्रति बफादार छन् । पार्टीभित्र उनीहरुको हालिमुहाली बढ्दै गइरहेको छ । त्यसैले त अहिले राष्ट्रियता, पार्टी र लोकतन्त्रप्रति नै खतरा उत्पन्न भइरहेको छ ।
आज देशमा परिर्वतन भएको यतिका बर्ष भइसक्यो । देशमा धेरै शासकहरु आए–गए । तर, देश र जनताले के पाए ? यसको जिम्मेवारी लिने कोही छ ? महामानव बीपी कोइरालाले २०१६ सालमा यो मुलुकको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुँदा जनताको बीचमा कसम खाएर भन्नुभएको थियो कि म १५ बर्षमा सबै नेपालीहरुलाई मेरो हैसियत बरावरको बनाउने छु । तर, आज सम्म देशमा कति जना प्रधानमन्त्रीहरु भए कसैले यसरी भन्न सकेको छ ।
संविधानका विषयमा बीपी कोइरालाको आफ्नो स्पष्ट धारणा थियो कि संविधान भनेको त्यस्तो हतियार हो, जसले जनताको भलाइ पनि गर्न सक्दछ र शोषण पनि । संविधानानुसार शासन सत्ता सञ्चालन गर्ने शासक पनि प्रजातान्त्रिक आचरणको हुनुपर्दछ । संविधानमा लेखिने कुराहरु जनताको पक्षमा हुनुपर्दछ । त्यसैले त एक थान असली र लोकतान्त्रिक संविधानका लागि हजारौँ हजार नेपालीहरुले बलिदानी दिनुप¥यो, हजारौँ हजार मानिसहरु घाइते, अपाङ्ग, घरवारविहीन हुन पुगे । तर, देश र नेपाली किसान, गरिब र श्रमजीवी जनताले न्याय भने आजका मितिसम्ममा पनि पाउन सकेका छैनन् ।
बीपी कोइरालाले चिन्ता व्यक्त गर्दै भन्नुहुन्थ्यो कि देशको राष्ट्रियस्तरदेखि तल्लोस्तरसम्ममा यहाँ एउटा यस्तो वर्ग हुन्छ, न त्यो सामन्त हो, न पुँजीपति । पुँजीपति वर्गलाई पनि म धेरै राम्रो व्यापार, व्यवसाय गरेर प्रशस्तै धन आर्जन गर्न सकूँ भन्ने, आम्दानी धेरै भएपछि मेरो पनि र देशको बिकाश हुन्छ भन्ने स्वार्थ हुन्छ । तर, उसले श्रमजीवी मजदुरहरुको मैले कति शोषण गरिरहेछु भन्ने ख्याल राख्दैन । त्यस्तै अर्को सामन्ती वर्गलाई पनि खेतिपातीमा स्वार्थ हुन्छ । यद्यपि उसले किसान र श्रमजीवीहरुको शोषण गर्दछ,तैपनी पानी परोस्, उब्जनी धेरै होस् भन्ने उसको चाहाना हुन्छ ।
यहाँ एउटा खतरनाक वर्ग छ, देशको मथिल्लो तल्लो तहदेखि तल्लोसम्म, जो अधिकारको केन्द्रमा बस्दछ धन कमाइरहन्छ । त्यस वर्गलाई देशको ,किसानको,गरिबको,श्रमजीवीहरुको कुनै वास्ता हँुदैन । देशको बजेट र बाहिरबाट विभिन्न दातृ राष्ट्रहरुबाट आएको बजेटसमेत अधिकांश हिस्सा प्रत्यक्ष अप्रत्यक्षरुपमा उसैको पाकेटमा जान्छ । देशमा जति व्यापारको नाउँमा कालो बजारी हुन्छ, त्यसमा पनि उसैको हिस्सा हुन्छ । ऊ केही काम गर्दैन, बिहान उठेदेखि सुटेडबुटेडमा नै हुन्छ, सबैभन्दा धेरै सम्पत्ती आर्जन गरेको हुन्छ । उसको जीवनशैली पूँजीपती र सामन्ती वर्गभन्दा माथिल्लो स्तरको हुन्छ, त्यो एउटा भुँईफुट्टा वर्ग हो । अहिले नेपाली कांग्रेसको केन्द्रीय तहदेखि स्थानीयसम्म त्यही भुईफुट्टा वर्गको जालोले ढपक्कै ढाकेर कांग्रेसलाई चल्न बल्न नदिई अँठ्ठाइरहेको छ । यो जालो तोड्न नेपाली कांग्रेसका माथिदेखि तलसम्मका इमान्दार र असली नेता तथा कार्यकर्ताले भ्याउ नै पाउन सकेका छैनन् । किनकि अहिले उनीहरुलाई पार्टी भन्दा गुट ठुलो हो भनी आन्तरिक प्रशिक्षण चलाइएको छ । सबै गुटमा असल मान्छेहरु हुन्छन् भन्ने चेतनाको कमी छ र उनिहरुले गुटका नाममा तिनै भँुईफुट्टा वर्गलाई नेता मान्नुपर्ने बाध्यता उनीहरुलाई छ । अब हामी अड्कल लगाउँ त ती गुटमा समर्पित नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेसलाई, जननायक बीपीलाई कसरी चिन्छन् त ? पार्टी जतिसुकै पुरानो भए पनि, आदर्श र सिद्धान्त राम्रो भए पनि त्यसमा काम गर्ने सबै तहका नेता तथा कार्यकर्ता असल भएनन् भने आदर्श र सिद्धान्तको केही अर्थ रहँदैन ।
जननायक बीपी कोइराला कम्युनिष्टहरु र पूर्वपञ्चहरुका विषयमा बडो स्पष्ट हुनुहुन्थ्यो कि कम्युनिष्टहरु जनताका बीचमा कोरा आदर्शका कुरा गरेर, चर्का आकाश पाताल जोड्ने कुरा गर्दछन्, जनतालाई दिगभ्रमित पार्दछन् । पूर्वपञ्चहरु व्यवहारिकताका कुरा गरेर अलमल्याउने कोसिस गर्दछन् । यिनीहरुसँग कुनै पनि हालतमा सँगै राजनीतिक यात्रा गर्नु भनेको प्रजातन्त्रको हत्या गर्नु जस्तै हो । तर, नेपाली कांग्रेसले केवल शत्ताका लागि २०४६ सालको आन्दोलनदेखि आजका मितिसम्म कुनै न कुनै ढंगले नेपालमा रहेका विभिन्न नामधारी कम्युनिष्टहरुको संगतलाई छोड्न सकेको छैन । हाल आएर माथिल्लो तहदेखि तल्लोसम्मका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता हुदाँ–हुँदा भोट साटासाट गर्ने, सत्ताको मोलमोलाइचा गर्नेदेखि, आश्चर्यलाग्दो कुरा के छ भने दिउँसो–दिउँसो कम्युनिष्टहरुको चर्को विरोध गर्ने, रात परेपछि कम्युनिष्टहरुसँग सत्ता र निजी स्वार्थका लागि सम्झौता गर्ने चरित्रले नेपाली कांग्रेसको आन्तरिक संगठन अत्यन्तै कमजोर हुँदै गइरहेको छ ।
जननायक बीपी कोइरालाले भन्ने गर्नुहुन्थ्यो सक जुनै पनि तहको जनताको प्रतिनिधिले जनताको सेवा गर्दा वा उनीहरुका नाममा योजना बनाउँदा गरिब किसान, श्रमजीवी मजदुरको तस्विर अगाडि राखेर योजना बनाउनुपर्छ । के आजका जनप्रतिनिधिहरु त्यसो गरेका छन् ? आजका हाम्रा जनप्रतिनिधिहरुले किसान, गरिब, मजदुरहरुलाई चिन्दछन् ? जब जनप्रतिनिधिहरुले उनीहरुलाई चिन्दैनन् भने नेपाली कांग्रेसलाई कसरी चिन्दछन्, बीपीलाई कसरी चिन्दछन् त ? के पार्टीले यस बिषयमा ख्याल राख्या’छ ?
बीपी कोइरालाको जीवन दुःखै दुःखमा बितेको हामी पाउँदछौँ । व्यक्तिगत सुख, सुविधामा उहाँले आफूलाई कहिल्यै पनि ख्याल गर्नुभएन । एउटा स्मरणीय घटना छ, २०१६ सालमा बीपी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुदाँ, उहाँकी धर्मपत्नी सुशीला आमाले बीपी कोइरालासँग काठमाडौँमा एउटा आफ्नै घरको इच्छा राख्दा उहाँले हामीलाई किन घर चाहियो, हामीहरु यहाँ राम्रैसँग बस्न पाइरहेछौँ, विराटनगरमा हाम्रो आफ्नै घर छ त भने । अन्ततः सुशीला आमाको काठमाडौँमा घर बनाउने इच्छा कहिल्यै पूरा भएन । बीपी कोइरालाले चाहेको भए त्यो त मामुली कुरा थियो । के आज हाम्रो पार्टीमा यो हिम्मत र तागत भएका नेताहरु छन् ? के उनीहरुको सबै दैनिकीलाई राम्ररी अनुसन्धान गर्ने हो ?
यो २१ औं शताब्दी हो । सूचना तथा सञ्चारको युग हो यो । मानिस, किसान होला, गरिब होला, श्रमजीवी होला । तर, ऊ सूचनामा धनी छ, सबै कुराको उसले हेक्का राखिरहेको छ, गुहु र गोबरलाई छुट्टाउन ऊ सक्दछ ।
आज नेपालमा जननायक बीपी कोइरालाको आदर्श, विचार, सिद्धान्त र जीवनशैलीलाई बुझ्ने नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा छन् ? छैनन् । अलिअलि गर्दै हरेक अधिवेशनबाट विस्तापित हुँदैछन् । बीपी कोइरालाकोे सिद्धान्त र विचारलाई नबुझ्ने मानिसहरुको बाहुल्यता नभएपछि आज नेपालको राजनीतिमा बीपी कोइरालाको विचार र सिद्धान्त डाँडापारिको अस्ताउन लागेको घामजस्तै भएको छ ।
हामी स्पष्टताका साथमा भन्न सक्छौँ कि विश्व मानचित्रमा र विश्व राजनीतिमा नेपाल प्राकृतिक स्रोतसाधनको हिसाबले हराभराको देश हो भने राजनीतिक र नैतिकरुपले मरुभूमिको देश हो ।
अत्यन्तै शालीन र भ्रद स्वभावका धनी जननायक बीपी कोइरालालाई नेपालमा धेरैले चिन्न र बुझ्न सकेनन् । आज धेरै पक्षहरु पछुतो मानिरहेछन् । धेरैले बीपी नेपालको भूगोलमा जन्म लिनु नै विश्वमा प्रजातान्त्रिक अभियानका लागि ठूलो क्षति हो पनि भनेका छन् । सौभाग्यले बीपी नेपालमा जन्मनुभएको थियो, तर के गर्नु हाम्रो देशको राजनीतिले उहाँलाई पहिचान गर्ने क्षमता समयमै राख्न सकेन । अभूतपूर्व क्षमताका धनी बीपीलाई आज सबैले सम्झी–सम्झी पछुतो मानिरहेका छन् ।
अलबिदा बीपी बाबु । अलबिदा ।
email:- rajeevneupane99@gmail.com
(लेखक नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका सचिब हुन् ।)





