लकडाउनले निजीस्रोतका शिक्षकलाई बिदा

भरतपुर/कोरोना भाइरस महामारी रोकथाम गरिएको बन्दाबन्दीका कारण आर्थिक अवस्था खस्किएपछि विभिन्न विद्यालयहरु मर्कामा परेका छन् । निजी विद्यालयले त मुख्य आम्दानीको स्रोत शिक्षण शुल्क लिन नपाएपछि सबै शिक्षकलाई बेतलबी बिदा दिन थालेका छन् । सामुदायिकले पनि निजीस्रोत शिक्षकलाई कामविहीन बनाउँदै छन् ।

भरतपुर महानगरपालिका–४ स्थित श्री माध्यमिक विद्यालयले त्यहाँ कार्यरत तीन जना निजीस्रोतका शिक्षिका र एक परिचारिकालाई बिदा दिएको छ । बन्दाबन्दीका कारण खर्च धान्ने अवस्था नरहेको जनाउँदै विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूको उपस्थितिमा आइतबार बसेको बैठकले उनीहरू चार जनालाई बिदा दिन बाध्य भएको विद्यालयका प्रधानाध्यापक सानुकाजी श्रेष्ठले बताए । “विगतमा देउसीभैलो खेलेर जम्मा भएको पैसाबाट नै निजीस्रोतका कर्मचारीहरूलाई तलब दिने गरेका थियौँ । केही वर्ष अघिदेखि देउसीभैलो खेलेर करिब १२ लाख जम्मा गरेका थियौँ”, प्रधानाध्यापक श्रेष्ठले भने, “त्यो सबै पैसा निर्माणको काममा खर्च भयो । निजीस्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन हामीसँग अब पैसा नै बाँकी छैन ।”

बन्दाबन्दीका कारण विद्यालयका कतिपय आम्दानी शून्य भएको कारण समस्या परेको उनले बताए । त्यस्तै विगतमा अभिभावकहरूले दिने गरेको चन्दावापतको रकम निजीस्रोतका शिक्षिका र परिचारिकाका लागि छुट्याउने गरेको भए पनि हाल कतै गएर माग्न सक्ने स्थिति नरहेको उनले कायाकैरनसँगको कुराकानीमा बताए । “विद्यालयको नियमित खर्च धान्नै मुस्किल परेको छ । विद्यालयमाथि करिब ४ लाख ८० हजार बराबरको ऋण चुक्ता गर्नुपर्ने भार पनि छ”, प्रधानाध्यापक श्रेष्ठले थपे, “यस्तो अवस्थामा आफ्ना कर्मचारीलाई विदा दिनु पर्दा हामीलाई पनि दुःख लागेको छ ।”

जागिरबाट बिदा पाएकाहरुले पनि दुःख लागे पनि विद्यालयले बाध्य भएर बिदा गरेको भन्दै चित्त बुझाएका छन् ।

“विद्यालयले लिएको निर्णयसँग गुनासो छैन । किनकि त्यो एक जनाको निर्णय होइन”, बिदा पाएकी एक शिक्षिकाले भनिन्, “शिक्षण पेशाबाहेक अन्य विकल्प नसोचेका हुनाले निर्णय दुःखदायी लागेको छ ।” निराश हुँदै उनले भनिन्, “जीविकोपार्जन कसरी गर्ने भन्ने पीर परेको छ । भोग्नेलाई भन्दा अरुलाई त्यसको पीडा के थाहा ?”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट