भुइँ मान्छेहरूको आख्यान :फुर्लुङ उपन्यास

सुरेन्द्र अस्तफल
महेश्वर पन्तको पहिलो उपन्यास फुर्लुङ साङ्ग्रिला बुुक्सबाट २०७६ सालमा प्रकाशित उपन्यास हो । यस उपन्यासमा आञ्चलिकताकोे प्रयोग गरिएको छ । फुर्लुङको भाषा, स्थान, संस्कार र परम्परा पर्वत जिल्लाको रहेको छ । उपन्यासमा पर्वती उपभाषिकाको स्वाभाविक प्रयोग भेटिन्छ । फुर्लुङको अर्थ प्रशस्त चोयाले बुनेको, मुख केही सानो र पेट फुकेको हुने चरा, माछा , कुराउनी आदि हाल्ने भाँडो हो । यस उपन्यासमा फुर्लुङलाई माछा राख्ने भाँडाको रूपमा प्रयोग गरिएको छ । मोदीखोला र कालीगण्डकीको उत्तरपश्चिम दोभानमा माछा मारेर र डुङ्गा तारेर गुजारा चलाउने बोटे माझी परिवारको विस्थापनको कथालाई यस उपन्यासमा चित्रण गरिएको छ ।

यस उपन्यासको प्रमुख पात्र बतासे अर्थात् पूर्णबहादुर हो । उसकी आमा झुम्रीले विवाहपूर्व नै उसलाई नै जन्माएकीले गाउँमा उसलाई सबैले बतासे भन्छन् । उसकी आमाले उसको बाउ चिनाएकी छैन । ऊ बाजेले बनाएको झुप्रोमा हजुरआमा काली माझी र आमा झुम्रीसँग बस्छ । उसका हजुरबा सत्तलका मुखिया थिए । बतासेलाई उसका बाउ हरिकान्त हुन कि भन्ने शङ्का छ । गोरे र गाउँलेहरूको खासखुस उसले पनि सुनेको छ तर प्रकटमा भन्न सक्दैन ।

बतासेकी आमा झुम्रीले उसलाई छोडेर हर्कबहादुर नेपालीसँग पोइला गएपछि बतासेको बेहाल हुन्छ । उसलाई उसकी हजुर आमा अर्थात् मुखिनी काली माझीले हुकाउँछे । उसलाई पण्डितले मन्दिर प्रवेशमा रोक लगाउँछ । बाबुको ठेगान नहुनाले उसले धेरै दुःख पाएको विषयलाई उपन्यासको अधिकांश स्थानमा प्रस्तुत गरिएको छ ।

आर्थिक अभावको जाँतोले पिसिएपछि ऊ हरिकान्तको पसलमा काम गर्छ । कुस्माबाट खच्चडमा सामान बोकाएर स्याङ्जा , नौडाँडा, कार्कीनेटातिर सामान पु¥याउने काम गोरेलगायत बतासेले पाउँछन् । यस्तै आमा र बाबुकी ठेगान नभएकी कमलासँग बतासेको भेट हुन्छ । भुँडे साहुले कमलालाई सित्तैमा भाँडा मझाएको हुन्छ । होटलकी साहुनी आफै देहव्यापारमा संलग्न छे ।

गाउँमा क्रान्तिकारीको आवतजावत बढ्छ । गरिबहरूको सत्ता ल्याउने सपना पूरा गर्ने चाहनामा गोरे र बतासे जङ्गल पस्छन् । क्रान्ति सफल भएपश्चात्को निर्वाचनमा क्रान्तिकारी पार्टीले बहुमत ल्याई सरकार बनाउँछ ।

बतासे, गोरेजस्ता गरिबहरू अत्यन्त खुसी हुन्छन् । जनताको सरकार आएको र अब सामन्ती हरिकान्तहरूको अन्त्य हुने कुराले ढुक्क हुन्छन् । तर गरिबको सरकार गठन भएको केही दिनमा नै बतासेको पुर्खाहरूले भोगचलन गर्दै आएको सत्तल वरिपरि नापीका मानिसहरूका साथमा हरिकान्तको चहलपहल देखिन्छ । पर्वतबाट निर्वाचन जितेकी सांसद भूमिमन्त्री बनेको अवस्थामा आफ्नो थातथलो हरिकान्तले सरकारी मिलेमतोमा कब्जा गर्न खोजेकोमा बतासेलगायत गरिबहरूको उठिबास गराउन नब्बे दिनमा घर,सत्तल खाली गर्नुृपर्ने सूचना टाँस गरिन्छ । हरिकान्तले पार्टी भूमिगत हुँदा दिएको चन्दाको बकसस्वरूप सरकारले सरकारी सत्तललाई उसको नाममा दर्ता गर्न खोजेकोमा बतासेको चित्त दुख्छ ।

बतासेले हारगुहार गर्छ । ऊ बसेको सत्तल हरिकान्तको भएको र उसको नाम सुकुम्बासीमा दर्ता गराइदिने मन्त्रीको आश्वासन पाउँछ । तर बाबुको ठेगान नभएको बतासे र बाबुआमा दुवैेको ठेगान नभएकी कमलीको नागरिकता बन्दैन । अन्त्यमा झड्केलो बाबु हर्कबहादुर नेपालीको छोराको नाममा बतासेको नागरिकता बन्दछ । उसको सत्तल बुलडोजरको भत्काउँछ , धुलो उड्छ , त्यही धुलोसँग बतासेको परिवर्तनको सपना पनि धुलो बन्दछ ।

यस उपन्यासमा गाउँमा हुने गरिब दुःखीहरूको प्रतिनिधित्व बतासे, झुम्री, कमली, गोरे आदिले गरेका छन् भने हुने खानेहरूको प्रतिनिधित्व भुँडे साहु तथा हरिकान्तहरूले गरेका छन् । बतासेहरूको जति नै दुःख गरे पनि उनीहरूको जीवनमा कुनै परिवर्तन आएको छैन । उनीहरू एककिसिमले हरिकान्तहरूको दास बनेका छन् । गाउँमा धनीहरूले गरिबका छोरीचेलीहरूको यौवन लुट्ने गरेको विषयलाई पनि यस उपन्यासमा प्रस्तुत गरिएको छ । झुम्रीको गर्भ कसको हो ? भन्ने विषयमा कथाकार मौन रहे पनि प्रकारान्तरले झुम्रीको गर्भ हरिकान्त बाजेको हो भन्ने सङ्केत गरेको छ । झुम्रीले बतासेको बाबु बताउन नसक्नुको कारणबाट पनि धनीहरूको गाउँमा कत्तिको हैकम थियो भन्ने स्पष्ट हुन्छ ।

त्यस्तै कमली पनि यौनधन्दामा संलग्न महिलाबाट जन्मेकीले उसको पनि जीवनकहानी डरलाग्दो देखिन्छ । भरियाहरू काम गरिरहेका छन् तर उनीहरूको जीवनमा पहारिलो घाम लागेको छैन । जीवनभर हाड घोट्ताघोट्तै उनीहरूको बैस , वसन्त समाप्त हुने गरेको तितो यथार्थ उपन्यासमा प्रस्तुत गरिएको छ । त्यस्तै गरी आफूलाई क्रान्तिकारी भन्नेहरूले बतासे, गोरेजस्ता गरिबहरूलाई क्रान्ति गर्न उक्साएर आफ्नो राजनीतिक स्वार्थ पूरा गरिरहेको विषयलाई उपन्यासमा उठाइएको छ । सीमान्त वर्गका मानिसहरू भुइँ मान्छे बन्न विवश भएको तथ्यलाई उपन्यासमा प्रस्तुत गरिएको छ ।

उपन्यासमा पर्वती उपभाषिकाको प्रयोग पात्रानुसार गरिएकोले उपन्यासको भाषा रोचक बनेको छ । यस उपन्यासले पाठकलाई एकपटक मोदी खोला र कालीगण्डीको दोभानमा पु¥याउँछ । त्यहाँ बसोबास गर्ने बोटे माझीहरूको जीवनपद्धतिसँग भेट गराउँछ । सामाजिक यथार्थवादलाई आत्मसात् गरिएर लेखिएको फुर्लु«ङ उपन्यास भुइँमान्छेहरूको कथा हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट