भरतपुर, २४ जेठ
नेपालमा थप दुई जनाको मृत्यु कोरोनाका कारण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा थप एक महिला र एक पुरुषको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको जानकारी प्रवक्ता डा. विकास देवकोटाले दिए ।
डोल्पामा जेठ २१ गते राति २ बजे निधन भएका दमका रोगीमा कोरोना पनि देखिएको उनले जानकारी दिए । १६ गते सुर्खेतबाट गएको र १८ गतेदेखि क्वारेन्टिनमा बसेका दमको रोगी पुरुषको २१ गते भएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती व्यक्तिको पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै धनगढी–४ की ५५ वर्षीया महिलाको मृत्यु पनि कोरोनाबाट भएको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा उनको कोरोना पुष्टि भएको हो । जेठ २३ गते हिजो डायलाइसीसको क्रममा सेती प्रादेशिक अस्पतालमा दिनको १२ बजे उनको निधन भएको थियो । मृगौलाका पुरानो रोगी उनमा कोरोनाको लक्षण नदेखिएको । डा. देवकोटाले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या कूल १३ जना पुगेको छ ।





