विप्लव काफ्ले
भरतपुर, २४ जेठ
भरतपुर–४ लंकुका नविन खरेल दिनहुँ साइकल यात्रामा निस्कन्छन् । उनलाई थाहा छ– अहिले कोरोना भाइरस संक्रमण फैलिन नदिन लकडाउन गरिएको छ । नविन चितवन साइकल राइडर्स क्लबका अध्यक्ष हुन् । सानैदेखि साइक्लिङमा रुचि राख्थे । सानै उमेरदेखि स्पोटर्स साइकल चलाउँथे । पछि ढाड, कम्मर दुख्ने समस्या देखिएपछि उनी उपचारमा बसे ।
चिकित्सकले नसा च्यापिएको बताउँदै उपचार गरे । तर, पछि नियमित साइकल चलाउन थालेपछि उनको दुखाई कम हुन थाल्यो । उनमा धुलोको एलर्जी पनि थियो । “साइक्लिङ मेरा लागि बरदान बन्यो”, उनी भन्छन्, “दुखाई र एलर्जीको समस्या पनि छैन ।” उनी प्रकृतिमा रमाउँदै साइकल चलाउँदा आनन्दको अनूभूति गर्छन् । लंकुमै उनको सुगम स्टोर्स व्यवसाय पनि छ ।

लकडाउनका कारण अहिले बन्द भएपनि उनको साइकल थन्किएको छैन । “भीडभाडमा जादिन, साथीभाई भेटघाट छैन”, उनी भन्छन्, “शारिरिक व्यवयामका लागि साइकल साथी छाडेको छैन ।” लकडाउन पहिले उनी देवघाट–ठिमुरा, नगरवन, गोलाघाटसम्म पुग्थे । क्लब मार्फत साइक्लिष्ट खेलाडी तयार गर्ने सोच छ । लकडाउन खुलेपछि स्कुलदेखि कलेजस्तरीय तथा खुल्ला साइकल दौड प्रतियोगिता राख्ने योजना क्लबले बनाएको बताउँछन् । “वातावरणमैत्री साधन साइकललाई हेला नगरौँ”, उनी भन्छन्, “संक्रमणको जोखिमलाई ख्याल गरेर साइकल चलाउँ, भीडभाडमा नजाउँ ।”
नविन वातावरण संरक्षण अभियान्ता पनि हुन् ।
भरतपुर–७ प्रेमबस्तीका सागर देवकोटा चैत ४ गते घर आए । उनी ‘सफ्टवेयर डेभलपर’ हुन् । काठ्माण्डौमा बस्दै आएका उनी लकडाउनका बेला प्रेमवस्ती घरमै छन् । अनलाइनमार्फत काम गर्दै आएका उनी दिनभर ल्यापटपमै हुन्छन् । नयाँ नयाँ सफ्टवेयर बनाउने काम नरोकेपनि घुमफिर गर्न नपाएपछि दिक्क बनेका सागरले घरमा नयाँ साथी भित्राएका छन् ।

साइकलमा एकाविहानै भित्री सडकमा एक्लै दौडिनु उनको दैनिकी बनेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको ‘लकडाउन’ पालनामा उनी प्रतिवद्ध छन् । “घरभित्रै थन्किदा नैराश्यता थियो, थकान महसुस हुन्थ्यो”, सागर भन्छन्, “अहिले दिनहु साइकल चलाउँछु, ताजापनको अनुभव हुन थालेको छ ।” उनले श्रीमति र छोरीका लागि पनि छुट्टाछुट्टै साइकल भित्राएका छन् । साइकल लकडाउनमा व्याहामको साथी बनेको छ ।
खुलेका छैनन् साइकल पसल
साइकल व्यवसायी संघ चितवन–नवलपुरले लकडाउनका बेला साइकल पसल खुल्ला नभएको जनाएको छ । “साइकल पसल खुलेका छैनन, तर सडकमा केही साइकल गुडेका छन्”, संघका अध्यक्ष श्याम खरेल भन्छन्, “केही साइकल कुद्ैमा साइकल पसल खुल्ला छन् भनेर सोच्नु गलत छ ।” उनले साइकल खरिदका लागि स्थानीयले फोन गर्ने गरेपनि बेच्न नसकिएको बताए ।
“साइकल किन्नु थियो म आउँ भन्दै नजिकका ग्राहकले फोन गर्छ्न”, उनले भने, “हामी साइकल दिन पनि नसक्ने अवस्थामा छौँ, पसल खोल्ने अनुमति छैन ।” लकडाउनमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाएपछि अधिकाँस साइकलको भर पर्नुपर्ने अवस्था छ । सुनसान सडकमा विगतको तुलनमा साइकल बढी देखिन थालेपछि प्रहरीले साइकल पसलमाथि निगरानी समेत बढाइरहेको छ ।
संघमा ५ सय ५० व्यवसायी आवद्ध छन् । जसमध्ये नयाँ साइकल बेच्ने १ सय बढी पसल छन् । अन्य मर्मत तथा बिक्रि गर्ने पसल छन् । हरेक साइकल पसलमा १ देखि ५ जनासम्मले रोजगारी पाउँदै आएका थिए । लकडाउन हुने सूचना लगत्तै अधिकाँस कामदार घर फर्किएका छन् । “नयाँ साइकल फिट गर्ने कामदार पनि छैनन्”, अध्यक्ष खरेलले भने, “घरभित्र थन्किएका केही नयाँ साइकल सडकमा देखिदैमा साइकल व्यापार बढ्यो भनेर बुझ्नु हुदैन ।”

संघका निवर्तमान अध्यक्ष धर्मराज सापकोटा साइकल पसललाई अत्यावश्यक सेवाका रुपमा राखेर सञ्चालन गर्नुपर्ने देखिएको बताउँछन् । “युरोपका कैयन शहरमा साइकल र पैदलयात्रालाई प्रोत्साहन गर्ने योजना बनेका छन्”, उनले भने, “ ठुला सवारीभन्दा सामाजिक दुरी कायम गर्न उपयुक्त साधन साइकलनै हो ।” उनले हरेक घरघरमा साइकल भएमा महामारिका बेला यात्रा गर्दा समेत सार्वजनिक सवारीनै चाहिने बाध्यता हट्ने बताए ।
“हरेक सडक साइकल पैदलयात्री बनाउनुपर्ने आवश्यकता देखिन्छ”, सापकोटा भन्छन्, “वातावरणमैत्री साधन किनबेचमै रोकावट गर्नु राम्रो होइन ।” मुटुरोग, मधुमेह लगायतका समस्या कम गर्न पनि साइकल र पैदलयात्रा महत्वपूर्ण हुने जनस्वास्थ्यविदहरु बताउँछन् । वायु, ध्वनी प्रदुषण हटाउन, खर्च कम गर्न र शारिरिक तन्दुरुस्तीका लागि साइकल उपयुक्त देखिन्छ ।
साइकल व्यवसायीहरु लगानी डुब्ने चिन्तामा छन् । “४–५ महिना पहिले भित्राएका साइकल र पार्टपुर्जा पसलभित्रै थन्किएका छन्”, अध्यक्ष खरेल भन्छन्, “सामानको रकम पनि भुक्तानी गर्न सकेका छैनौँ, पसल भाडा तिर्न पनि सकिएको छैन ।” उनका अनुसार लकडाउन खुलिहालेपनि करिब ३ महिना मौज्दातकै साइकल बिक्रि गर्न समय लाग्ने देखिन्छ । “अहिले भित्रि सडकमा साइकल कुदेको देख्दा खुशी लाग्छ”, सापकोटा भन्छन्, “लकडाउन खुलेपछि ती साइकल घरभित्र नथन्किउन, साइकल प्रयोग आपतपर्दा मात्रै होइन, सधै होस् ।”
लकडाउनका बेला युवा पुस्ताले आकर्षक गिरयवाला साइकल लिएर साँझ विहान निस्कन थालेका छन् । अत्यावश्यक सेवामा काम गर्ने केही कामदारहरु साकइलमै भरपर्नुपर्ने भएपनि मर्मत गर्ने सुविधा नपाउँदा समस्यामा छन् । अहिले बालबालिका, मजदुर, कृषक, विद्यार्थीले प्रयोग गर्ने साइकलको माग शून्य छ । युवापुस्ताले साइकल माग गर्न थालेपनि सहजै किन्न पाउने अवस्था छैन ।
साइकलको जिल्ला भनेर चिनिने चितवनमा २०६० सालदेखि साइकलको व्यापार ओरालो लागेको थियो । पछि नाकाबन्दीका बेला केही उकालो लाग्न थालेको थियो । चैतदेखि पनि फेरी साइकल व्यवसायमा निराशा छाएको छ । चितवनमा २०१० सालदेखि साइकल भित्रिन थालेको जानकारहरु बताउँछन् । २०५० को दशक साइकल व्यवसायका लागि सुखद रह्यो ।




