विप्लव काफ्ले
भरतपुर, ९ बैशाख
चितवनमा कोरोनाको संक्रमण पुष्टि भएका २ व्यक्तिको २२ घरका ४२ जनासँग सम्पर्क भएको खुलेको छ । राप्ती–८ का वडाध्यक्ष बुद्धिराज थपलियाले २२ घरका सदस्य संक्रमित व्यक्तिको सम्पर्कमा आएको प्रारम्भिक अध्ययनले देखाएको बताए । “छिमेकीहरु चकलेट खाएका थियौँ भन्दै आउन थालेका छन्, थपिने क्रम छ”, उनले भने, “हालसम्म ४२ जनाको नाम ठेगना सहितको विवरण संकलन गरेका छौँ ।” उनका अनुसार विदेशबाट ल्याएको चकलेट खाने, भेटघाट गर्ने राप्ती ८ र ९ का स्थानीय छन् । “अहिलेसम्म २२ घर पहिचान गरेका छौँ”, उनले भने, “यो संख्या अझै बढ्ने छ ।” उनका अनुसार खैरहनी नगरपालिकासम्म उनीहरुले चकलेट बाँडेको सूचना आएको छ ।

बेलायतबाट चैत ३ गते नेपाल आएका आमा, छोरा चैत ५ गते काठमाडौंबाट माइक्रोबस चढेर राप्ती–८ स्थित घर आएका थिए । एक महिनापछि बैशाख ५ गते आमा र छोरालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सम्पर्कमा आएका व्यक्तिको खोजविन गर्न वडाध्यक्ष थपलियाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनको थियो । सोही कार्यदलले ४२ जनाको नाम, ठेगना सहितको विवरण स्वास्थ्य कार्यालय चितवनमा पठाउने तयारी गरेको छ ।
राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले नयाँ तथ्य र सूचना आउन थालेको बताइन् । “खैरहनीसम्म संक्रमित युवा पुगेको सूचना पाएका छौँ”, उनले भनिन्, “जिम हाउसमा जाने गरेको परिवारले बताएका छन्, सो ठाउँ खोज्दैछौँ ।” उनका अनुसार घरसम्म आउन उनीहरुले मोटरसाइकल र २ अटो प्रयोग गरेको खुलेको छ । मोटरसाइकल घरकै भएपनि अटो पहिचान गर्न सकिएको छैन । “सुरुमा मोटरसाइकलमै आएको भनिएको थियो, बुझ्दै जाँदा अटो प्रयोग गरेको पाइयो”, उनले भनिन्, “नयाँ सूचनाले गर्दा सम्पर्कमा रहेका व्यक्ति पहिचान गर्न चूनौती बढ्न थालेको छ ।” उनका अनुसार संक्रमित व्यक्तिसँगै निकट रहेका १९ जनाको आरडीटी परीक्षणमा नेगेटिभ नतिजा आइसकेको छ । “परिवारकै सदस्य सहितसँगै उठबस गर्ने ८ जनाकोे स्वाब परीक्षण गर्दासमेत संक्रमण भेटिएन”, उनले भनिन्, “केही त्रास कम भएको छ, तर सम्पर्कमा आएका सबैको आरडीटी परीक्षण गरिनेछ ।” उनका अनुसार मंगलबारदेखि थप ४१ जनाकोे आरडिटी परीक्षण गरिदैछ । नगरपालिकाले २ जना संक्रमित पहिचान भएको वडामा अन्य क्षेत्रबाट व्यक्ति आउन समेत रोकेको छ । राप्ती नगरपालिकाले २ स्थानमा क्वारेन्टाइन बनाएको छ । २ जना संक्रमित पहिचान भएको ८ नम्बर वडा स्थित ब्रहमनगर माविमा हाल १० जना छन् । यस्तै २ नम्बर वडा गड्यौली स्थित बुद्धशान्ती माविमा २२ जना छन् ।
६ सय बढीको र्यापीड, ४ सय बढीको पीसीआर परीक्षण
स्वास्थ्य कार्यालय चितवनले जिल्लामा ६ सय बढीको र्यापीड डाइग्नोष्टिक टेष्ट (आरडीटी) भएको जनाएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले सोमबारसम्म ६ सय ८ जनाको र्यापीड टेष्ट भएको बताए । “विदेशबाट आएका अधिकांसको परीक्षण सकिएको छ”, उनले भने, “१० प्रतिशत छुटेको अनुमान छ, सबैलाई समेटिनेछ ।” उनका अनुसार भरतपुर महानगर बाहेकका सबै स्थानीय तहमा र्यापीड टेष्टको काम ९० प्रतिशत पुरा भएको छ ।
८ गतेसम्म भरतपुरमा १ सय ८, माडीमा १ सय २२, राप्तीमा १ सय ११, रत्ननगरमा ९७, खैरहनीमा ८०, कालिका नगरपालिकामा ४६, इच्छाकामना गाउँपालिकामा १७ जनाको टेष्ट गरिएको छ । “संक्रमित पहिचान भएको क्षेत्रमा ट्रेसिङ गरेर परीक्षण गर्ने काम थालेका छौँ, केही सम्भावित जोखिमका क्षेत्रमा पनि परीक्षण हुँदैछ”, उनले भने, “थप किट पनि माग गरेका छौँ ।” उनका अनुसार १ हजार २ सय थप किट माग गरिएको छ । र्यापीड टेष्टका क्रममा ३ जनामा रियाक्टिभ देखिएपनि पीसीआर परीक्षणबाट १ जनामा पोजेटिभ देखिएको थियो । र्यापीड टेष्टमा नेगेटिभ देखिएपनि पीसीआर परीक्षणमा १ जनामा पोजेटिभ देखिएको थियो ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले चितवनमा ४ सय ३० जनाको पीसीआर परीक्षण भएको बताए । “मंगलबार ३७ जनाको स्वाब लिइएको छ”, उनले भने, “पीसीआर परीक्षण गर्नेको पहुँच बढेको छ ।” उनले हाल भरतपुर अस्पतालमा उपचारत कोरोना संक्रमित २ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उनीहरुको एक हप्तापछि पुनः पीसीआर परीक्षण गरिने बताए । “अहिलेसम्म अवस्था सामान्यनै छ”, उनले भने, “एक हप्तापछि हुने परीक्षणमा नेगेटिभ देखिए घर फर्काउन समेत सकिनेछ ।” चितवनमा ३ सय बढी आइसोलेसन बेढ तयारी अवस्थामा छन् । चितवनमा कोरोनाका बिरामीलाई लक्षित गर्दै कोरोना विशेष अस्थायी अस्पताल समेत सञ्चालनमा छ । जिल्लाका अस्पतालमा २ हजार ४ सय ३५ शैया छन् भने १ सय ८१ आइसियु कक्ष छन् । भेन्टिलेटर सहितका शैया ५१ छन् । ७५ वटा स्वास्थ्य चौकी छन् ।
१७ दिन पुरा नभएका ९३ जना
चितवनमा विदेशबाट भित्रिएकाको अभिलेख राखिएको छ । मंगलबारसम्म चितवन भित्रिएकामध्ये ९३ जनाले १७ दिन पुरा गरेका छैनन् । “विदेशबाट आउने अधिकांसको स्वास्थ्य परीक्षण भएको छ”, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी इश्वर सिंखडाले भने, “केही छुटेकालाई पनि समेट्ने योजनामा छौँ ।” उनका अनुसार चैतपछि जिल्लामा विदेशबाट ६ सय ८३ जना आएको विवरण स्थानीय तह र प्रहरीमार्फत संकलन गरिएको छ । धेरै महानगरमा छन् ।
भरतपुर महानगरमा ३ सय ३४, माडीमा ९४, राप्तीमा ७८, कालिकामा ५७, खैरहनीमा ५५, रत्ननगर ४६, इच्छाकामनामा १९ जना आएका छन् । १७ दिन पुरा नभएका ९३ जना मध्ये भारतबाट ४, दुबईबाट १, कोरियाबाट १ जना छन् । यस्तै बाहिरी जिल्लाबाट आएका ७८ जना छन् । चितवनमा ३ सय क्षमताको क्वारेन्टाइन स्थल बनाइएको छ । तर, अहिले ५५ जनामात्रै छन् । “अधिकांस होम क्वारेन्टाइनमा बसे, क्वारेन्टाइनमा बसेकापनि १४ दिन पुरा भएपछि धेरै घरमै गए”, उनले भने, “जिल्ला भित्रिने नयाँ व्यक्तिमाथि निगरानी बढाएका छौँ ।”
राप्तीमा कुल ३२ जना क्वारेन्टाइनमा छन् । भरतपुर महानगर, इच्छाकामना र खैरहनीमा क्वारेन्टाइनमा राखिएको छैन । कालिका नगरपालिकाको जुटपानी स्थित आधारभूत विद्यालयमा ५ जना, माडीमा माडी क्याम्पस र माडी माविमा कुल १३ जना, रत्ननगरको बछौलीमा ५ जना क्वारेन्टाइनमा छन् । भरतपुरमा विदेशबाट आएकालाई राख्न छुट्टै क्वारेन्टाइन स्थल नभएपनि होटल गंगोत्रीमा १८ जना चिकित्सक क्वारेन्टाइनमा बसेका छन् । उनीहरु कोरोना अस्पतालमा काम गर्ने चिकित्सक हुन् ।





