भारतीय केरा बोकेको नेपाली ट्रक भरतपुरमा समातियो
राजेश घिमिरे
भरतपुर, ८ वैशाख
चितवनका वगानमा केरा पाक्न ठिक्क परेका छन् । यो सयम केरा उत्पादक किसानका लागि खुसीको हुनुपर्ने हो । तर यहाँका केरा उत्पादकहरुलाई यही समयमा अनेक समस्या आइलागेको छ ।
कोरोना भाइरसको महामारीले देश लकडाउनको अवस्थामा छ । अधिकांश पसलहरु बन्द छन् । पहिलो समस्या यहींबाट सुरु हुन्छ । उत्पादन भएको केरा कसलाई बेच्ने ? यद्यपी किसानले विश्वलाई नै परेको संकट भनेर यसमा चित्त बुझाएका छन् । केरा उत्पादक संघ चितवनका निवर्तमान अध्यक्ष विष्णुहरी पन्त भन्छन्, “बजार जति खुलेको छ त्यतिमै बेचौंला भन्ने सोचेका छौं ।”

लकडाउनलाई जसोतसो झेलौंला भन्दै अघि बढेका किसानमाथि यसपाली प्रकृतिले पनि झेल गर्यो । शुक्रबारयता लगातार आइरहेको हावाहुरी र असिनापानीले किसानको अन्नबाली तहसनहस पारिरहेको छ । बजार साँघुरिँदा बोटमै पाक्न तम्तयार भएका केरालाई असिनाले चुटेर घायल बनायो । “असिनाले बजार जान ठिक्क परेका धेरै केरा काम नलाग्ने बनाएको छ”, पन्तले भने, “प्रकृतिले पनि साथ दिएन ।”
यसमा पनि किसानले चित्त बुझाएकै छन् । प्रकृतिसँग कसको के लाग्छ र ! यस्तै विपद् आउन सक्छ भनेर धेरैले बिमा गरेका छन् । प्रकृतिले नदिए पनि बिमाले देला भन्ने आशा किसानमा छ ।
सरकारले कुटनीतिक तबरबाटै आयातमा रोक नलगाउँदा सम्म भारतीय केरा भित्रिरहने भन्दै केरा उत्पादक पन्तले कृषि पेशा बचाउन सरकार गम्भीर बन्नुपर्ने बताए । “यो अवस्थामा पनि भारतीय केराका कारण यहाँको व्यवसाय धरासयी बन्नुपर्ने भयो भने किसान निरुत्साहित हुन्छन्”, पन्त भन्छन्, “कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्कने लाखौं युवालाई देशमै केही गर्न सकिन्छ भनेर कसरी उत्साहित बनाउने ?” उनले अहिलेको अवस्थामा खेती गरिरहेका किसान पनि निरास हुन थालेको बताए ।
किसानलाई सँधै आपतमा पार्ने अर्को समस्या हो भारतीय केरा । हरेक वर्ष भारतबाट आउने केराले स्थानीय केराको बजार चौपट बनाउने गर्दछ । यसपाली भने कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर केही हप्ता अघि नै स्थानीय प्रशासनले भारतीय तरकारी, फलफुलको आयात हुन नदिने निर्णय गर्यो । यसले किसानमा झिनो आशा देखाएको थियो । तर लुकीछिपी भइरहेको आयातले किसानको मनमा ढ्यांग्रो ठोकेको छ । “यसपाली पनि भारतीय केराले बर्बाद पार्ने भो भनेर किसानहरु निरास भएका छन्”, पन्तले भने, “प्रशासनले केही गर्छ कि भन्ने आशा बाँकी छ । हामी झकझकाइरहेका छौं ।”
भारतीय केरा बोकेको नेपाली ट्रक समातियो
हिजोमात्रै प्रहरीले चितवनको लंकुबाट एउटा ठूलो ट्रक समात्यो । भारतबाट केरा बोकेर ल्याएको ना६ ख ५६१८ नम्बरको उक्त ट्रकले जिल्लाका विभिन्न स्थानमा केरा छाड्दै आएको थियो । प्रहरीले उक्त ट्रक र केरा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले जिल्लामा भारतीय तरकारी तथा फलफुलको आयात बन्द गर्ने निर्णय भएको समयमा उक्त ट्रक नियन्त्रणमा लिइएको बताए । उनका अनुसार उक्त ट्रकको क्वारेन्टीन प्रमाणपत्रसमेत संकास्पद भेटिएको छ । यस बिषयमा अनुसन्धान भइरहेको भन्दै उनले चितवनमा भारतीय तरकारी तथा फलफुलको बिक्री वितरण नियन्त्रण गरिने बताए ।
प्रशासनले नियन्त्रण गर्ने बताइरहँदा भारतीय केरा आउने क्रम भने रोकिएको छैन । भारतको कोरोना प्रभावित क्षेत्रबाटै तरकारी फलफुल नेपाल भित्रिएका छन् । सरकारले कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै भारतीय सवारी साधनमा प्रतिबन्ध लगाएपछि सीमाबाट नेपाली गाडीमा सामान सारेर भित्र्याउने नयाँ जुक्ति सप्लायर्सले निकाले । अहिले बजारमा नेपाली गाडीमा भारतीय तरकारी, फलफुल छ्याप्छ्याप्ती भेटिन्छन् । स्थानीय किसानले उब्जाएका बाली भने बिक्री नभएर कुहिने अवस्था छ । कतिपय किसानले त बिक्री नभएपछि बालीमै ट्याक्टर चलाएका छन् ।
हिजो मात्रै १० ट्रक भारतीय केरा काठमाडौं पुगेको चितवनका केरा उत्पादकहरुको दाबी छ । सरकारले कुटनीतिक तबरबाटै आयातमा रोक नलगाउँदा सम्म भारतीय केरा भित्रिरहने भन्दै केरा उत्पादक पन्तले कृषि पेशा बचाउन सरकार गम्भीर बन्नुपर्ने बताए । “यो अवस्थामा पनि भारतीय केराका कारण यहाँको व्यवसाय धरासयी बन्नुपर्ने भयो भने किसान निरुत्साहित हुन्छन्”, पन्त भन्छन्, “कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्कने लाखौं युवालाई देशमै केही गर्न सकिन्छ भनेर कसरी उत्साहित बनाउने ?” उनले अहिलेको अवस्थामा खेती गरिरहेका किसान पनि निरास हुन थालेको बताए ।
चितवनमा ३ हजार विघा जमिनमा करिब ७ सय किसानले केरा खेती गरेका छन् । हजारौं मजदुरहरुले रोजगारी पाएका छन् । मजदुरहरु बीचमा दूरी कायम गरेर काममा लगाइएको छ । बारीमा मास्क र स्यानीटाइजर अनिवार्य गरिएको छ ।
केरा राम्रो हुँदा सिजनमा १ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुन्छ । देशमै उत्पादित केराले बजार धान्ने अवस्थामा विदेशी केराको आयात गर्दा मर्कामा परेको किसानको गुनासो छ ।





