लेखराम सापकोटा
भरतपुर, ५ बैशाख
सरकारले लकडाउनका अवधिमा पैदल हिँडेर कतै जान रोक लगाए पनि चितवनको बाटो भएर पूर्व-पश्चिम जानेहरूको लहर आज पनि रोकिएन ।

काठमाडौं तथा आसपासका जिल्लामा मजदुरी गर्नेहरू लकडाउनकै कारण बिचल्ली भएर यसरी आफ्नै घर फर्किरहेका छन् । “रासनपानी सकियो, राहत पाएको पनि सकियो, सबैतिर बन्द छ”, सिन्धुपाल्चोकबाट हिँडेरै नारायणगढ आइपुगेका बर्दियाका गणेश थारुले भने, “ठेकेदार पनि सम्पर्कमा आएन । हामी काम गर्ने ठाउँमा छाप्रो बनाएर बसेका थियौं । अब त्यहाँ बस्न संभव छैन अनि हिँड्यौं ।”

थारू बाह्र जनाको टोली लिएर दिनरात नभनी तातोसडक नापिरहेका छन् । चौंथो दिनमा नारायणगढ आइपुगेका थारूले बाटोमा हात जोडेर बिन्ती गर्दा पनि कुनै यातायातको व्यवस्था नभएको बताए ।
लकडाउन लम्बिँदै जाँदा दैनिक ज्यालादारी र मजदुरी गरेर खानेहरू मर्कामा परेका छन् । घरमै बसेकाहरूलेे त जेनतेन गुजारा गरेका छन् । तर, मजदुरी गर्न घर बाहिर बसेकाहरूलाई निकै नै सास्ती छ ।
“लकडाउन यसरी लम्बिएला भन्ने पत्तो भएन । अहिले थपिँदै गएपछि ठेकेदारले पनि घर जाउ भन्यो”,सुर्खेतका भुपेन्द्र मगरले भने, “काठमाडौंबाट हिँडेरै यहाँ आइपुग्यौं । हामीलाई बाटोमा खाजा नभए पनि हुन्छ तर घरसम्म पुग्ने गाडीको व्यवस्था भए हुन्थ्यो ।”
जसाेतसाे पेट भरेका छन् । बरू गाडीले बाेकिदिए हुन्थ्याे भन्ने अपेक्षा छ कतिकाे । “पानी मात्रै पिएर हिँड्न सकौंला तर पैदल हिँड्दा खुट्टा चिरिएर रगत बग्न थाले, हिँड्नै सकेनौँ”, गैंडाकोटस्थित एउटा चौतारीमा बिसाएका कैलालीका हरिबहादुर बुढाले सानो स्वरमा भने,”बाटोमा कतिले सोधपुछ गरे तर हामीलाई कसैले गाडीको व्यवस्था गरेनन् । घर कसरी पुग्ने हो खै ? यहीँ मरिएला जस्तो छ ।”
आज लकडाउनको पच्चीसाैं दिन पनि अलपत्र परेर घर हिँडेकाहरू सडकमा लहरै छन् । सयौंको संख्यामा नारायणी पुल तरेर गैंडाकोट हुँदै पश्चिम लागेका छन् । पैदलै हिँडेकाहरू विशेषगरी बाँके, बर्दिया, कैलाली, सुर्खेतलगायतका मानिसहरू छन् ।
नारायणगढको आँपटारी र पुल्चोक अनि गैंडाकोटको पुल्चोक, भृकुटीचोक, नगरपालिका गेट, बेल्डिहा र अमरापुरीमा पैदल यात्रुलाई पानी र खाजाको व्यवस्था विभिन्न व्यक्ति तथा संघ संस्थाले गरेका छन् । पैदलयात्रुलाई गैंडाकोटमा खाजा खुवाइरहेको `विपतमा हामी´ का संयोजक गोकुल सापकोटाले गैंडाकोटको सिमाना झरही खोलासम्म पुग्न पैदलयात्रुलाई साइकलको व्यवस्था गरिएको बताए ।
पैदलयात्रुलाई यातायातको प्रबन्ध गर्ने सोच बनाए पनि माथिको आदेश नआउँदा अहिलेको अवस्थामा केही गर्न नसकेको गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले कायाकैरनलाई बताए ।





