कविता: कोरोना र मानव नियति

दयानिधि अर्याल
भरतपुर–७, कृष्णपुर, चितवन

लिएर अकाल मृत्युको चुले निम्तो
यत्र तत्र सर्वत्र डुलेको छ कोरोना
स्वीकार्दैन मानव तेरो कालकूटरुपी निम्तो
तर अदृश्य बनेर तँ सुटुक्क निम्तो दिएर
वायुवेगमा सयर गर्दै छस्
निकै लालयित छस् तहसनहस पार्न सुन्दर सृष्टि
तेरो मृत्यरुपी निम्तोबाट
उन्मुक्ति पाउन
भाग्दाभाग्दै
निरीह
छिछि अनि दुर्दुरको पात्र
बनेको छु म

औँसीको निस्पट्ट रातमा
हिँड्दाहिँड्दै बगरमा
गन्तव्य नभेटेपछि अनि
परित्यक्त सन्तान बनेर
आकाशको छानो
र सडकको सिरानी बनाउन
बाध्य छु म

सताउँदा आफ्नै जिजीविषाले
अनि आँखाका नानीजस्ता सन्तान मोहले
प्राणप्रियाको मायालुको सम्झनाले
डाँडामाथिका घाम बनेका जीवनदाताको आह्वानले
पीडाको अजङ्ग पहाडले थिचिएको भारी मन
अनि बाटो नाप्दानाप्दै थोत्रिएको तन बोकेर
घिसारी घिसारी गन्तव्यमा बढिरहेछु

मलम पट्टी चाहिएको छ चहराइरहेको घाउमा
सुनेर हृदयाकन्दराको करुण क्रन्दन
जीवनको भिक्षा चाहिएको छ मलाई
सन्तति र जीवनदाता भेट्ने
पुल चाहिएको छ मलाई
पिएर आँसुका नुनिला ढिका
मोतीसमान पसिना चुहाउँदै
फलाएको फल त मिठो लाग्छ नि
तिमीलाई
तर
विपत्तिमा
आफ्नै सन्तानको
भोकमा गास
प्यासमा पानी
रोगमा औषधी
जिउमा बस्त्र
बन्न नसक्ने
धिक्कार छ ! तिमीलाई

असमर्थ छौ तिमी मेरो पीडा बुझ्न
उभिएका छन् होला तिम्रा अगाडि
अजङ्गका पहाड
साइत जुरेको छैन होला
कुम्भकर्ण दीर्घ निद्राबाट व्युँझन
र बन्द छन् होला नयनहरु
धृतराष्ट्रका जस्तै

डाक्दा सुदूर क्षितिजबाट आफ्नै सन्तानले
आफ्नै आश्रयमा फर्कन्छन् प्राणीहरु
तर म
पुगेर आफ्नै ढोकामा प्रवेशको भिक्षा माग्दा
दैलो नखुलेपछि कतै बाध्य छु जलाशयमा होमिन
कतै विवश छु महिषासुर झापड खान
अनि कतै अभिशप्त छु
मृत्युवरण गर्न भोक र प्यासले ।

(अर्याल पोलर स्टार आवासीय मावि भरतपुर -८ चितवनका प्राचार्य हुन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट