वैशाख ५/चिनियाँ अधिकारीहरूले नोबल कोरोना भाइरसबाट मृत्यु हुनेहरूको संख्या सच्याएको बताएका छन् । उनीहरूले शुक्रबार वुहानमा मृत्यु हुनेको संख्यामा परिमार्जन गर्दै एक हजार २ सय ९० जना थप गरेका हुन् ।

सच्याइएको तथ्यांकसहित वुहानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६९ पुगेको छ । ती अधिकारीहरूले संक्रमितको संख्यामा पनि परिमार्जन गर्दै ३२५ जना थप गरेको जनाएका छन् । शुक्रबार बिहानसम्म मात्रै वुहानमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार ३ सय ३३ पुगेको चिनियाँ अधिकारीले बताएका छन् ।

चिनियाँ अधिकारीहरूले ‘इतिहास र पीडितप्रतिको जबाफदेहिता’ देखाउँदै तथ्यांक परिमार्जन गरिएको बताएका छन् । अधिकारीहरूले भाइरसको संक्रमणको सुरुवाती दिनमा केही व्यक्तिको घरमै मृत्यु भएकाले संख्या छुट्न पुगेको बताएका छन् । त्यस्तै कोरोना भाइरसको संक्रमण रोक्न चिकित्सक तथा अधिकारीहरू केन्द्रित भएकाले मृत्यु हुनेको तथ्यांक छुट्न पुगेको उनीहरूले स्पष्ट पारेका छन् । कोरोना भाइरसको महामारीका बेला केही गलत र दोहोरिएका रिपोर्टिङले पनि सही संख्या नआएको चिनियाँ अधिकारीको दाबी रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरबाट कोरोना भाइरसबाट संक्रमित हुने र मृतकको संख्या पारदर्शी ढंगले प्रस्तुत नगरेको आरोप लागेका बेला चीनले तथ्यांक सच्याएको हो । सच्याइएको तथ्यांकअनुसार शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३६ पुगेको छ ।
त्यस्तै ८३ हजार ७ सय ५३ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ७७ हजार ५ सय ३ जना निको भएको पनि चिनियाँ अधिकारीले जनाएका छन् ।
-एजेन्सी





