चेपाङ् गाउँमा कोरोना कहर: पिउने पानी छैन केले हात धुनु ?

भरतपुर, ५ वैशाख

कोरोना भाइरसको महामारी बढ्दै जाँदा सरसफाईलाई यसबाट बच्ने पहिलो र महत्वपूर्ण उपाय भनिएको छ । साबुन पानीले नियमित हात धुनु, स्यानीटाइजर, मास्कको प्रयोग गर्नु कोरोना भाइरसबाट बच्ने उपाय हुन् ।

तर हाम्रा कतिपय गाउँ यस्ता छन् जहाँ मास्क र स्यानीटाइजर त धेरै परको कुरा भयो हात धुनलाई पानी सम्म छैन । चितवनको पहाडी गाउँ स्याम्राङ्मा पानी भर्न ४५ मिनेट हिँडेर मुहान पुग्नु पर्छ । मुहान पुगेपछि पानी भर्ने लाइनमा ४ घण्टा सम्म कुर्नुपर्ने बाध्यतामा स्थानीय छन् । दैनिक ४ देखि ५ घण्टा सम्म लगाएर एक गाग्री पानी भर्नुपर्ने बाध्यता रहेको स्थानीयबासीसमेत रहेका दुङ्वाङ प्राथमिक विद्यालयका प्रधानाध्यापक अतिबल प्रजा बताउँछन् ।

स्याम्राङ चितवनको राप्ति नगरपालिकाको वडा नम्बर १३ मा पर्दछ । नजिकै रहेको गाउँ पोलकिम र स्याम्राङ्मा गरी ९६ घर छन् । दुई गाउँको जनसंख्या करिब ६ सय ५० छ ।

”घण्टौं कुरेर भरेको एक गाग्री पानी आफू पिउनु कि, गाई बस्तुलाई दिनु कि हात धुनु ?”, स्थानीय शन्तबहादुर प्रजाले भने, “पहिले त पिउनै पुग्नुपर्यो ।” उनले पानीको अभावका कारण जान्दा जान्दै पनि नियमित हात धुन नसकिएको बताए । “सरकारले साबुन त दिएको छ तर के गर्नु हामीसँग हात धुने पानी पनि छैन”, उनले सुनाए ।

पोलकिमबासीलाई पानीको मुहानमा पुग्न करिब एक घण्टा समय लाग्छ । तर यहाँको मुहान ठूलो भएकाले पालो कुर्न लाइन बस्नु पर्दैन । करिब २ घण्टामा एक गाग्री पानी घरमा आइपुग्छ ।

चेपाङ् समुदायको बसोबास रहेको  यी गाउँमा राप्ति नगरपालिकाले सबै परिवारलाई राहत बाँडेको छ । राहतमा १० देखि १५ किलो चामल, दाल र साबुन छ । नगरपालिकाले राहत लिन उनीहरुलाई कालिटार बोलाएको थियो । गाउँबाट कालिटार पुग्न २-३ घण्टा लाग्छ । यसैपनि आधा वर्ष अनिकाल हुने चेपाङ् गाउँमा कोरोना भाइरसले थप कष्ट दिएको छ । सरकारले दिएको राहत सकिएको भन्दै स्थानीय विगतकै जसरी जंगल धाएर खानाको जोहो गर्नुको विकल्प नभएको बताउँछन् ।

स्थानीयबासीकाअनुसार कोरोनाको संक्रमण सुरुभएपछि नगरपालिकाबाट कोही पनि बुझ्न यहाँ पुगेका छैनन् । यहाँ २ महिना अघि ५ जना विदेशबाट फर्किएका छन् । देशका विभिन्न ठाउँमा मजदुरीका लागि गएका ४० जना भन्दा बढी लकडाउन अघि गाउँ फर्किएका छन् ।

“विदेशबाट आएकालाई हामी आफैँले घरमै बस्नुस, हिँडडुल नगर्नुस भनेर सम्झाएका छौं”, प्रजाले भने, “क्वारेन्टीनमा राख्ने, परीक्षण गर्ने केही गरिएको छैन ।” यी गाउँका अन्य ६ जना विभिन्न देश पुगेका छन् । उनीहरुसँग परिवार सम्पर्कमै छन् ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट