सहकारी मिलको होम डेलिभरी सेवाले स्थानीय खुसी : तोरी पेले २ रुपैयाँ, धान कुटे १ रुपैयाँ क्यास व्याक

भरतपुर, २९ चैत
धान, मकै, गहुँ, तोरीलगायतका अन्न फलाएर मात्रै भएन, खानका लागि योग्य बनाउन त्यसलाई बोकेर कुटाउन/पिसाउन मिल लैजानुपर्छ । मिल पुगेर घण्टौं लाइन बस्ने, काम सकिएपछि तोकिएको रकम बुझाएर फर्कने त हाम्रो पुरानो चलन हो ।

तर पश्चिम चितवनका तीन वडाका स्थानीयबासी भने केही समययता यो झण्झटबाट मुक्त भएका छन् । भरतपुर-२४ मा रहेको केरुङ्गा ताजा तरकारी तथा फलफुल सहकारी संस्थाले सञ्चालनमा ल्याएको मिलमा अन्नका बोरा टनाटन हुन्छन् तर अन्नका धनी कोही भेटिदैनन् । उक्त सहकारीले स्थानीयबासीको घर-घरबाट अन्न उठाएर मिल सम्म लाजाने देखि कुटेर फिर्ता गरिदिने सम्म गर्छ । यतिमात्रै होइन उक्त सहकारी मिलले तोरी पिसेर तेल मात्र लैजानेलाई प्रतिकिलो २ रुपैयाँ र धान कुटेर चामल मात्र लैजानेलाई प्रतिकिलो १ रुपैयाँ दिन्छ । धान कुटेर भुस लैजानेलाई निशुल्क व्यवस्था गरिदिएको छ ।

बिगतमा सर्वसाधारणले तोरी पेल्दा प्रतिकिलो तीन मोहर, धान कुट्दा १ रुपैया शुल्क बुझाउँथे ।

उक्त सहकारीले ४ महिना अघि उक्त मिल सञ्चालनमा ल्याएको थियो । लगत्तै कृषी ज्ञान केन्द्रबाट ५ लाख रुपैयाँ अनुदानमा अटो रिक्सा किन्यो । त्यही रिक्सामार्फत अहिले सहकारी मिलले घर-घरमा पुगेर अन्न ल्याउने, कुटेर/पिसेर पुन: लगिदिने काम गरेको अध्यक्ष जनकराज पुरीले बताए । “सर्वसाधारणको समय वचत भएको छ । घरमै बसेर अन्न उपयोग गर्न पाउनुभएको छ”, पुरीले भने, “अन्न अनुसार उहाँहरुलाइ नै पैसा दिने पनि गरेका छौं ।” होम डेलिभरी बापत मिलले प्रतिकिलो पचास पैसा लिने गरेको छ ।

भरतपुर-२४ का वडाध्यक्ष कान्छा मल्ल उक्त मिलले वडा नम्बर २३, २४ र २५ का सर्वसाधारण सबैलाई सेवा दिइरहेको बताए । “फोन गरेपछि गएर ल्याइदिने, कुटेर फिर्ता गरिदिने देखि उल्टै उहाँहरुलाई क्यास दिने गरेका छौं”, उनले भने, “यसबाट सहकारीलाई नाफा नभएपनि जनतालाई सहज भएको छ । खर्च पनि धान्न सकिएको छ ।” मिलले धानको डडाल्नो, तोरीको पिनालगायतको बिक्री गरेर खर्चको व्यवस्थापन गरेको छ । अध्यक्ष मल्लका अनुसार उक्त क्षेत्रका सांसद पुष्पकमल दाहालको पहलमा आएको ३० लाख रुपैयाँबाट मिल सञ्चालनमा ल्याइएको हो ।

वडा नम्बर २३ का स्थानीय ज्ञानप्रसाद गौतमले सहकारीको मिलबाट धेरै सहज भएको बताए । “आफैंले बोकेर घण्टौं कुरेर पैशा बुझाउनु पर्दथ्यो”, उनले भने, “अहिले त साह्रै सजिलो भयो । फोन गरेपछि धरमै लिन आउँछन् । त्यो समयमा अरु काम गर्न पाइन्छ ।” स्थानीयबासीका अनुसार बिगतमा अन्न कुटनी/पिसनीका लागि ५ किलोमिटर परसम्म जानुपर्ने बाध्यता थियो ।

मिलका लागि तीन जना कर्मचारी राखिएको छ । अध्यक्ष पुरीले भने, “तरकारी फलफुल सहकारीले स्थानीयलाई तरकारी खेतीमार्फत स्वरोजगार बनाउन सघाउनुका साथै मिल सञ्चालन गरेर थप सहज अवस्था सिर्जना गरिदिएको छ ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट