महामारीमा थप जिम्मेवार बन्दै सिनर्जी

शिव गौतम
भरतपुर, २७ चैत
विभिन्न सञ्चारमाध्य मध्ये रेडियोलाई सधैं सूचना सञ्चारको प्रभावकारी माध्यमको रूपमा लिने गरिन्छ । पत्रपत्रिकामा प्रकाशित हुने समाचार तथा सूचनाको पहुँचमा केवल साक्षर व्यक्तिहरू हुन्छन् । अनलाइन माध्यम पनि केवल पढेलेखेकाले मात्रै प्रयोग गर्न सक्छन् । टेलिभिजन तुलनात्मक रूपमा महँगो हुने भएकाले सबै जनता त्यसको पहुँचमा नहुन पनि सक्छन् । जबकि रेडियोमार्फत् प्रसारण हुने समग्रीहरू जुनसुकै उमेर, लिङ्ग, वर्ग तथा भूगोलका मानिसहरूका लागि प्रभावकारी रहने गरेको हुन्छ ।

हाल संसारभर नै कोरोना भाइरसको महामारीका कारण सृजित अवस्थालाई मध्यनजर गर्दै मानिसहरूमा भाइरससम्बन्धी जनचेतना सम्प्रेषण गर्ने काममा रेडियो स्टेसनहरू नै बढी प्रभावकारी देखिन आएका छन् । पत्रपत्रिका एउटा मान्छेको हातबाट अर्काे मान्छेको हातमा पुग्दा भाइरसको संक्रमण हुने सम्भावना अधिक रहन्छ । भाइरसको फैलावटलाई रोक्न नै यतिबेला अधिकांश राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाको प्रकाशन स्थगित गरिएको छ । यस्तो अवस्थामा जनताको सूचना प्राप्त गर्न पाउने हकको प्रत्याभूति रेडियो तथा एफएम स्टेसनहरूले गरेका छन् । कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सरकारले लकडाउन जारी गरेसँगै रेडियोकर्मीहरूले सेल्फ क्वारेन्टिनमा बसेर सूचना तथा समाचार संप्रेषण गर्दै आएका छन् । चितवनको जेठो एफएम सिनर्जी एफएमका कर्मचारीहरूले पनि क्वारेन्टिनमै बसेर आफ्ना श्रोताहरूसम्म सूचना पु¥याउँदै आएका छन् । सिनर्जी एफएमको समाचार शाखाका जिबन रानाभाट, विवेक पोख्रेल र नवीन कोइराला लकडाउन सुरु भएयता एफएफमै बस्दै आएका छन् । यस्तै, प्राविधिक श्याम विश्वकर्मा र पसागं के सि लकडाउन एफएम भित्र बिताइरहेका छन् । यस्तै एफएमका संवाददाताहरूले घरै बसी तयार पारेको रिपोर्ट एफएमलाई इमेल गरेर पठाउने गरेका छन् ।

हाल संसारभरि नै कोरोना भाइरसको महामारी चुलिँदा एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले आफ्ना सहकर्मीहरूलाई तथ्यपरक सामग्री मात्रै प्रसारण गर्न निर्देशन दिने गर्नुभएको छ । महामारीको समयमा सर्वसाधारण आतंकित हुन सक्ने भएकाले उक्त समयमा कुनै पनि सामग्री प्रसारण गर्नुअघि समाचारको विश्वसनीता र त्यसको श्रोतलाई पटकपटक केलाउन जरुरी भएको पौडेल बताउनुहुन्छ । “कुनै पनि महामारीको समयमा रोग बारे अफवाह फैलने सम्भावना धेरै हुन्छ । पत्रकार भइसकेपछि विचार गरेर मात्रै सूचनाको सम्प्रेषण गर्नुपर्छ”, पौडेलले बताउनुभयो । कोरोना भाइरसको संक्रमण सम्बन्धी समाचार सम्प्रेषण गर्नुपूर्व आधिकारिक सरकारी निकायलाई मात्रै श्रोतको रूपमा प्रयोग गर्नुपर्ने पौडेलको भनाइ रहेको छ । यस्तै कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप लिएपछि एफएमले व्यापारिक विज्ञापनको संख्यालाई कटौती गरेर जनहितमा जारी गरिएका विज्ञापनहरूलाई स्थान दिएको छ । रेडियोबाट अचेल नियमित साबुनपानीले हात धुने, लकडाउनको समयमा घर बाहिर नजाने, लगायतका सन्देश बोक्ने विज्ञापन प्रसारण हुने गरेका छन् । यस्तै सिनर्जी एफएमको वेभसाइट तथा युट्युब च्यानलमार्फत् पनि जनचेतनामूलक सामग्रीहरूको प्रकाशन हुँदै आएको छ ।

लकडाउन अर्थात् बन्दाबन्दी लागू भएपछि दिनभर घरमै बस्दा मानिसहरूले आफूहरूलाई दिक्क लाग्ने गरेको बताउने गरेका छन् । मानिसहरूलाई समय कटाउन सहयोगी होओस् भन्न तथा रोगका बारेमा जनचेतना फैलाउन पनि रेडियोले केही विशेष रेडियो कार्यक्रम प्रसारण गरिरहेको छ । कोरोना भाइरसको महामारीका कारण सृजित परिस्थितिले चैत महिनामा सञ्चालन हुने भनिएका परीक्षाहरूलाई स्थगित मात्रै गरेन, एसईई परीक्षाको तयारी गरेर बसिरहेका विद्यार्थीहरूलाई थप मनोवैज्ञानिक चिन्ता समेत थपिदिएको छ । देशव्यापी बन्दाबन्दी चलिरहँदा एसईई परीक्षाको अर्काे तालिका कहिले आउनेहोला भन्ने विषयले विद्यार्थीहरूलाई थप अन्यौलमा धकेलेको छ । तिनै एसईई परीक्षामा सामेल हुन लागेका विद्यार्थीहरूलाई लक्षित गर्दै सिनर्जी एफएमले शैक्षिक कार्यक्रमको प्रसारण थालेका छन् । त्यस्ता रेडियो कार्यक्रम सुनेर विद्यार्थीहरूले घरै बसेर परीक्षाको तयारी गर्नसक्ने एफएमका स्टेसन म्यानेजर रामकान्त पौडेलले बताउनुभयो । ‘शैक्षिक डबली’ नाम दिइएको सो कार्यक्रम हरेक दिन बिहान ७:३० बजे र पुनः प्रसारण सोही दिन साँझ ७:३० बजे गरी दैनिक दुई पटक प्रसारण भइरहेको छ । आइतबार र सोमबारको शैक्षिक डबली विश्लेषक प्रेम रिमालले प्रस्तुत गर्नुहुने एफएमले जनाएको छ । मंगलबार र शनिबारको अंक भने शिक्षाविद् तथा प्राध्यापक रमाकान्त सापकोटाबाट प्रस्तुत भइरहेको एफएमले जनाएको छ । यस्तै प्रेरक वक्ता आचार्य लक्ष्मण भण्डारीले बुधबार र बिहीबारको अंक प्रस्तुत गर्दै आउनुभएको छ । दूरशिक्षामा आधारित यस्ता कार्यक्रम विद्यार्थीहरूका लागि लाभान्वित रहन सक्नेमा एफएमले जोड दिएको छ ।

यता हप्तौंदेखि विना काम घरमा बसिरहँदा मानिस अल्छी बन्दै जान थालेको छ । खाने र सुत्नेबाहेक अन्य काम नहुँदा मानिसलाई मोटोपना, आदि जस्ता समस्याले समाउन सक्ने सम्भावना पनि बढेको देखिन्छ । त्यसैले, घरमा बसेका श्रोताहरूलाई योग तथा व्यायम गर्न अभिप्रेरित गराउँदै उनीहरूमा रोग प्रतिरोधी क्षमताको विकास गराउने उद्देश्यले एफएमले ‘योग विज्ञान’ कार्यक्रमको प्रसारण समय पनि बढाएको छ । योग विज्ञान कार्यक्रमलाई दैनिक रूपमा बिहान ८ बजे र साँझ ६:४० बजे प्रसारण गरिँदै आएको छ । सो कार्यक्रमको प्रस्तोता भने योगगुरु यदुनाथ पोख्रेल हुनुहुन्छ । यस्तै, हरेक शुक्रबार बिहान ७:३० बजे प्रसारण हुने कार्यक्रम ‘सुरक्षा र सजगता’ मार्फत पनि कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सघाउने सामग्रीको प्रसार गरिँदै आएको छ । यो कार्यक्रम अरु समयमा समाजमा हुने गरेका आपराधिक क्रियाकलाप तथा घटनामा केन्द्रित हुने गर्दथ्यो । कोरोना भाइरसको महामारीले गर्दा उत्पन्न परिस्थितिलाई साम्य पार्न कार्यक्रमको विषयवस्तुमा फेरबदल गरिएको हो । सुरक्षा र सजगता कार्यक्रम पूर्व प्रहरी सन्तोष पन्तले प्रस्तुत गर्दै आउनुभएको छ । स्टेशन मार्फत प्रसारण हुदै आएको बिभिन्न सांगितिक कार्यक्रम हरु एकान्त बासमा रहेका प्रस्तोता हरुले घरबाटनै प्रस्तुत गर्दै आइरहेका छन स्वदेश तथा प्रवाशमा रहेका नेपालि हरुले टेलिफोन तथा इन्टरनेट मार्फत सहभागिता जनाउन सकिने कार्यक्रम बिहान १० बजेको समचार पछि र बेलुकि ४ बजेपछि प्रसारण भैरहेको छ ।

एफएम स्टेसन समाजकै एउटा अंग भएकाले समाजमा उत्पन्न हुने विषम परिस्थितिमा समाजप्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै विश्वसनीय सूचना तथा समाचारको प्रसारण गर्नमा सदासर्वदा तत्पर रहनेछ भन्नेमा श्रोताहरू सधैं आशावादी रहनेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट