काठमाडौं, २३ चैत
चितवनमा भोलीदेखि कोरोना भाइरस (कोभिड–१९) को नमूना परीक्षण थालिने भएको छ । नमूना परीक्षणका लागि भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा ल्याब तयार भएको छ ।

ल्याब निर्माणको नेतृत्व गरिरहेका प्रयोगशाला निर्माण उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै ल्याब कोरोना भाइरसको नमूना परीक्षणका लागि तयार भएको बताए । उनका अनुसार ल्याबबाट तत्कालका लागि एक चरणमा ९० वटा नमूना परीक्षण गर्न सकिन्छ ।
ल्याबका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयको ल्याबमा रहेको आरटी पिसिआर मेसिन ल्याइएको थियो भने एउटा यस्तै मेसिन राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा समेत थियो । धेरैजसो सामग्रीहरु चितवनमै जुटाइएको छ । किटलगायत अन्य सामग्रीहरु भने स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ ।
प्रयोगशालामा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मदन पाण्डे र चितवन मेडिकल कलेजका ब्रजेश झाको नेतृत्वले प्रयोगशाला सम्हाल्ने छ । यो ल्याब भरतपुर अस्पतालको स्वामित्वमा रहने छ ।
भरतपुरमै प्रयोगशाला सञ्चालन भएपछि अब गाडीमार्फत दिनहुँ नमूना काठमाडौं पठाउनुपर्ने बाध्यता हट्ने छ ।
सरकारले यसअघि नै राजधानी काठमाडौं बाहेक जनकपुर, धरान, हेटौँडा, पोखरा, धनगढी र सुर्खेतमा परीक्षण सुरु गरिसकेको छ । चितवनसँगै बुटवलमा पनि ल्याब सञ्चालनमा आउँदैछ ।
विज्ञप्ति






