मलामी जाँदा भिड नगर्न सुझाव
विप्लव काफ्ले
भरतपुर, २३ चैत
अन्तिम संस्कारका लागि देवघाट आउने क्रम घट्न थालेको छ । दैनिक १५–२० शव ल्याइने गरेकोमा हाल सरदर ६ वटासम्म ल्याइने गरिएको छ । देवघाट क्षेत्र विकास समितिले सकेसम्म थोरै मलामी आउन आग्रह गरेपनि भिड भने नियन्त्रण हुन सकेको छैन । शनिबारमात्रै देवघाटमा जिल्लाभित्रका ६ शवको संस्कार गरिएको थियो ।

मलामी आउनेहरुले दाहसंस्कर स्थल नजिकै कार, मोटरसाइकल लान थालेका छन् । बोलेरो, भ्यानमा राखेर शव ल्याउने क्रम बढ्न थालेपनि मोटरसाइकलमै मलामी जाने क्रममा नियन्त्रण हुन सकेको छैन । शव लिएर हिडेको समूह देखेपछि चोक–चोकमा खटिने प्रहरीले समेत भिड कम गर्न मान्छे फर्काउने हिम्मत गरेको पाइदैन । आफन्ति, छिमेकी जोखिमनै मोलेर मलामी जान तयार हुने गरेका छन् । “दाह संस्कार गर्न आउनेको समूहको भिड कम गर्नुप¥यो भन्ने सूचना आइरहेका छन्”, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले भने, “छिट्टै पहल गर्नेछौँ, टोलटोलबाटै सचेतना फैलाउने काम गरिनेछ ।”
दाहसंस्कारमा आउने अधिकांस मास्कमै आउने गरेपनि हातमा ग्लोब्स–स्यानिटाइजर प्रयोग गर्ने, केही फरक दुरीमा बस्ने गरेको पाइदैन । “दुःखका बेला साथ दिनुपर्छ, तर समुदायलाईनै संक्रमण फैलाउन सक्ने काम गर्नुभनेको झन दुःख दिने काम हो”, उनले भने, “जतिसक्दो थोरै व्यक्तिमात्रै मलामी जाउँ, जाँदा पनि उच्च सावधानि अपनाउने गरौँ ।” देवघाटमा पसल चलाउँदै आएका गोविन्द तामाङ विगतको तुलनामा भिड धेरै घटेपनि समूह ज्यादै कम भने हुन नसकेको बताउँछन् । “पहिलेभन्दा थोरै मलामी आउँछन्, बसनै रिजर्भ गरेर आउने छैनन्”, उनले भने, “तर, दुरी कायम गर्दै बसेको पाइदैन ।”

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले दाहसंस्कारका लागि आउने भिड कम तथा व्यवस्थित गर्नुपर्ने बताए । “बेलैमा ध्यान दिनुपर्छ, निगरानी बढाउनुपर्छ”, उनले भने, “सबैले दायीत्व बहन गरेमा सम्भावित जोखिम न्यूनिकरण गर्न सकिन्छ ।” देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले चैत १९ गते ‘कोरोना रोकथामका लागि डिस इन्फेक्सन स्प्रे किटनाशक औषधि सयौँ जेष्ठ नागरिक बस्नु हुने देवघाट धाममा छर्न पाए हुन्थ्यो कि ?’ भन्दै सामाजिक सञ्जालमा गुनासो पोखे । “जेष्ठ नागरिक धेरै बस्ने ठाउँ हो देवघाट”, उनले भने, “सुरक्षाका उपाय अपनाउनुपर्छ, फोहरमैलाको पनि उचित व्यवस्थापन हुनुपर्छ, अन्तिम संस्कार हुने ठाउँमा कडाइ गरिनुपर्छ ।”

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल निगरानी बढाइएको दाबी गर्छन् । “चितवन, नवलपुर, तनहुँका स्थानीय सरकार जिल्ला प्रशासनसँग समन्वय गरिरहेका छौँ”, उनले भने, “भिड गरेर मलामी नजाउँ भनेका छौँ ।” उनले दाहसंस्कार क्षेत्रमा नियमित सरसफाई तथा फिनेल जस्ता औषधि छर्ने काम हुँदै आइरहेको बताए । “मलामी आउने सबैलाई साबुन पानीले हात धोएर फर्किन भनेका छौँ”, उनले भने, “सबै सजग हुनेबेला हो ।” देवघाट भरतपुर महानगरको १ र देवघाट गाउँपालिकाको ५ नम्बर वडामा पर्छ । तर, वडा कार्यालयले यी क्षेत्रमा उच्च सावधानि अपनाउन जेष्ठ नागरिक तथा समुदायलाई सतर्क बनाउन खासै चासो दिइएको पाइदैन ।
देवघाटमा आश्रम, धर्मशाला, मठ मन्दिर, वृद्धाश्रम प्रशस्तै छन् । “देवघाटमा रहेको धार्मिक पार्क समेत बन्द गरेका छौँ, सत्संग–स्वाध्याय, सामूहिक भजन किर्तन बन्द गरेका छौँ”, उनले भने, “हिडडुलमा कडाई गरेका छौँ, लकडाउन पूर्ण कार्यान्वयन गरेका छौँ ।” उनले केही दिनमै किटनाशक औषधि छर्ने तयारी भैरहेको बताए । देवघाटमा २७ जना विदेशबाट आएका नेपाली छन् । उनीहरु होम क्वारेन्टाइनमै छन् । उनीहरुको स्वास्थ्यमा निगरानी बढाइएको जनाइएको छ ।
२ महिनालाई दाउरा
शव जलाउन आवश्यक पर्ने दाउराको अभाव छैन । क्षेत्र विकास समितिले दाउरा बिक्री वितरणको जिम्मा दिएका गोविन्द तामाङले २ महिनालाई पुग्ने दाउरा रहेको बताए । “शवको संख्या निकै घटेको छ”, उनले भने, “२ महिनालाई दाउरा पुग्छ, त्यसपछि केही गारो हुन्छ ।”
उनका अनुसार एक शव जलाउन सरदर ३ क्विन्टल दाउरा आवश्यक पर्छ । गत वर्षमा २ सय चट्टा खपत भएको थियो । १ चट्टाबाट १८ जना जलाउन पुग्ने दाउरा तयार हुन्छ । जसअनुसार गत वर्ष ३ हजार ६ सय जनाको शव जलाइएको थियो । दाहसंस्कार स्थलमा हाल १२ चट्टा दाउरा छ ।
गत वर्षको माघमा शिलन्यास गरिएको विद्युतीय शवदाह गृह २ वर्षमा सक्ने गरी काम थालिएपनि काम निकै सुस्त छ । हाल यो काम पुरै अवरुद्ध छ ।






