देवचुली, २३ चैत
पूर्वी नवलपरासीको देवचुलीमा खाद्यान्न सामग्री वितरण गरिएको छ । कोरोना भाइरस कोभिड- १९ को कारण सिङ्गो देश नै लकडाउन रहेकाे समयमा दैनिक ज्यालादारी गर्ने तथा मजदुरी गरेर परिवार पाल्नेहरूलाई अत्यन्तै कठिन अवस्था सिर्जना भएकाले नगरपालिकाद्वारा सुरु गरिएकाे खाद्यान्न बैंकमार्फत खाद्यान्न वितरण गरिएकाे हाे ।
वडा नम्बर ५ मा रहेको घर परिवारमध्ये निकै गरीब तथा विपन्न परिवारको पहिचान गरी देवचुली नगरपालिकाको ५ नम्बर वडाका १ सय १२ घरपरिवारका ३ सय ७१ जनालाई २ हजार किलो चामल, १ सय किलो दाल र १ सय किलो नुन उपलब्ध गराइएको वडाध्यक्ष शिवलाल सापकोटाले बताए ।
यो वडामा पहाडी गाउँ बन्दिपुर क्षेत्र समेत समेटिएको छ । राहत वितरण कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, सर्वदलीय समिति प्रतिनिधि, स्थानीय युवा, कर्मचारीलगायतकाे सहभागिता थियो ।





