विप्लव काफ्ले
भरतपुर, २० चैत
चितवनका केरा किसानलाई जग्गा भाडाले पिरोल्न थालेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि केरा ढुवानीमा पनि समस्या हुन थालेको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो व्यापारीनै नआएपछि उत्पादनलाई बजार पु¥याउन चूनौती थपिएको बताउँछन् ।

“बगानमै केरा पाक्न थालेका छन्, मण्डी, हाटबजारपनि बन्दजस्तै छन्, मागनै छैन”, उनले भने, “केरानै बिक्रि नभएपछि केरा बेच्ने कसरी भन्ने पिरलो थपिएको छ ।” महतोले जगतपुरमा २२ विघा जग्गा भाडामा लिएर केराखेती गर्दै आएका छन् । उनले वर्षमा करिब ८ लाख भाडा बुझाउनुपर्छ । वर्षमा प्रतिकट्टठा १५ सय देखि २५ सयसम्म भाडा बुझाउँछन् । बगानमा २ सय घरी मालभोग, १ सय घरी जिनाइन केरा तयारी अवस्थामा छ । तर, बेच्ने वातावरण छैन । महतोका अनुसार करिब ३ सय जनाको चितवनमा १२ सय विघामा लगाइएको केराको मात्रै विमा छ । “८ देखि ९ महिनामा केरा ढलेमा ९० प्रतिशत क्षतिपूर्ति पाइन्छ”, उनले भने, “केरा घरी बिक्रि भएनन् भनेर विमा पाउने अवस्था छैन ।” उनका अनुसार विमा मार्फत हावाहुरी, असिना, भूकम्प, आगलागी, चट्याङ, किरा प्रकोप जस्ता विपद्ले केरामा क्षती पु¥याएमा मात्रै क्षतिपूर्ति पाइन्छ ।
चितवनमा ३ हजार विघामा व्यवसायिक केराखेती हुदै आएको छ । करिब २७ सय विघा जग्गा भाडामा लिइएको जग्गा हो । ७ सय बढी व्यवासायिक किसान छन् । वर्षमा डेढ अर्ब बराबरको कारोबार हुन्छ । बैशाख–जेठ–असारनै मुख्य सिजन हो । यही बेला उत्पादनको करिब ९० प्रतिशत केरा बिक्रि हुने समय हो । चितवनमा मालभोग र जिनाइन जातका केरा लगाइएको छ । संघका पूर्वअध्यक्ष विष्णुहरी पन्त पनि भाडाकै पिरलोमा छन् । “ यति धेरै केरा न स्टोर गर्न मिल्छ, न फ्रिजमा राख्न सकिन्छ”, उनले भने, “केरानै बिक्रि नभएमा कसरी भाडा तिर्ने, समस्या सृजना हुदैछ ।” ०६५ सालसम्म ५ वर्ष इजरायलको कृषि क्षेत्रमा काम गरेका पन्त ४० विघामा केरा लगाएका छन् । ३८ विघा भाडाको जग्गा हो । उनले वर्षमा ३० लाख भाडा बुझाउँछन् ।
“जिल्लामा केरा खेती भएको जग्गा ९० प्रतिशत भाडाकै हो”, उनले भने, “चैत, बैशाख वा ६–६ महिनामा भाडा बुझाउने गरी सम्झौता भएको अवस्था छ, अहिलेको स्थितिले भाडा तिर्न सजिलो छैन ।”

पन्तले खैरहनी, कुमरोज, चैनपुरमा केरा लगाएका छन् । “चैतमा असर सामान्य छ, बैशाख १५ पछि यही अवस्था रहे मुस्किल पर्छ”, उनले भने, “पिक आवरमै केरा बेच्न नपाएपछि ऋण, भाडा, ज्याला कसरी बुझाउनु ?” उनले सामाजिक दुरी कायम गर्दै सुरक्षित तवरले बिक्रि वितरणको सुनिश्चता नभएसम्म केरा व्यवसायनै धरासायी हुने बताए ।
पन्त १० वर्षदेखि केरा खेतीमा लागेका छन् । बैशाखमा मात्रै दैनिक ३० गाडी केरा बजार पुग्छ । तीन महिनामा १ अब २० करोड बराबरको कारोबार हुने उनले बताए । “लकडाउन फेरी लम्बिएमा समस्या आउँछ”, उनले भने, “महामारीको संकटका बेला ज्याननै पहिलो प्राथमिकता हो, तर ऋणको चिन्ताले पनि सताउने रहेछ ।” उनको बगानमा अहिले २ सय घेरी केरा तयार छन् ।
२० वर्षदेखि केराखेती गर्दै आएका संघका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी बगानमा काम गर्नै समस्या भएको बताउँछन् । जगतपुर, गौरीगञ्ज, ठिमुरा, चैनपुरमा ७० विघामा खेती गरेका उनको बगानमा अहिले करिब ४ सय घरि केरा तयार छ । बैशाखदेखि दैनिक ३ गाडी केरा बिक्रिका लागि तयार हुने बताउँछन् । “वर्षमा करिब ३५ लाख जग्गा भाडा तिर्नुपर्छ”, उनले भने, “यसपाली स्थिति गम्भीर छ, बेलैमा भाडा तिर्न गारो छ भनेर जग्गाधनीलाई भनिसकेको छु ।”
बगान सरसफाईको काम रोकिदा केराको घरिमा रोग किराको प्रकोप बढ्ने खतरा बढेको बताए । “कामदार पाउन पनि गारो छ, सुकेका झारपात हटाउने, किटनाशक औषधि छर्न पनि पाइएको अवस्था छैन”, उनले भने, “यसपाली उत्पादनमा समेत गिरावट हुने सम्भावना छ ।” जाडोयाममा पानामा रोगका कारण करिब २५ प्रतिशत क्षती व्योहोरेका किसानले बेलाबखत हावाहुरीका कारण समेत नोक्सानी खेप्दै आएका छन् । उनले विगतमा गाडीमै करिब ३० जनाको समूहलाई बगानमा लगेर सरसफाईको काममा लगाउने गरेका थिए । तर, आवतजावतमा कडाई गरिएपछि कामदार बगानमा लैजान पनि नसकिने अवस्था छ । “यो बेला कामदार खोज्दै जान पनि डर छ, हिडडुल गर्न पनि गारो छ”, उनले भने, “बगानमा केरा पाकीरहेका छन्, बजारमा लान सकिएको छैन, उपायको खोजीमा छौँ ।”
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्यवन इकाई चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले केरा बिक्रि वितरणमा समस्या देखिन थालेको बताए । उनका अनुसार प्रतिहेक्टर २२.५ मेट्रिक टन केरा उत्पादन हुन्छ । “पाकेको केरा १ हप्ता, हरियो केरा ‘जिनाइन’ ३–४ दिन बढी राख्दा बिग्रने अवस्था आउँछ”, उनले भने, “बगानमै पाकेका केरा बजारमा लैजादा बिग्रन्छ, काँचो केरानै बगानबाट किनबेच हुन्छ ।”
गत वर्षदेखि रत्ननगर, खैरहनीका सबै वडा, कालिका (१–८), भरतपुर महानगरको १ नम्बर वडामा केरा जोन कार्यक्रम लागु भएको छ । जोनको मात्रै १ हजार ५० हेक्टर क्षेत्रफल छ ।
“यो वर्ष केरा पकाउने र भण्डारण गर्न मिल्ने ‘¥यापेनिङ च्याम्बर’ को योजना थियो, तर प्रस्तावनै आएनन्”, उनले भने, “प्रतिदिन ३० टन केरा पकाउन सक्ने, राख्न सक्ने क्षमताको सो योजना कार्यान्वयनमा हुन सकेन ।” च्याम्बरका लागि ६० लाख बजेट थियो । यो च्याम्बरमा १५ दिनसम्म केरा जोगाउन सकिन्छ । चितवनमा काँचो केराबाट मःम, चिप्स, पकौडा, चिल्ली, थुप्पा, बनाना चाउमिन, अचार बनाएर बेच्ने अभ्यासले व्यवसायिक रुप लिन सकेको छैन ।
केराको परिकारमात्रै पाइने चितवन बनाना क्याफेमात्रै सञ्चालनमा छ । मेला महोत्सव बाहेक अन्य बेला केराको विविधिकरण गरेर बेच्ने काम नगण्य छ । सरकारले तरकारी, फलफुल, दूध लगायतका अत्यावश्यक सामाग्री ढुवानी तथा बिक्रि वितरणमा केही खुकुलो पारेको थियो ।





