भरतपुर अस्पताल : बेड छ, अरु तयारी छैन

भरतपुर, १६ चैत

नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. अनिल विक्रम कार्कीले स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)नभएको र यस्तो अवस्थामा उपचार गर्न नसक्ने भनेर पछिल्ला केही दिनमा आवाज उठाइरहेका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमा हिजो लेखे–“हो म स्वार्थी छु, म पीपीईविना काममा जान सक्दिनँ । सरकारले यसको लागि मलाई पक्रेला, पक्रोस् ।” उनले यसअघि पनि यस्तैखालका स्टाटसमार्फत डाक्टरहरु असुरक्षित रहेको बताएका थिए ।

कोरोनाको महामारी विश्वभरि फैलिइरहँदा उनी मात्रै होइन, चिकित्सक वा अरु स्वास्थ्यकर्मी कसैलाई पनि पर्याप्त पीपीई कुनै अस्पतालमा छैन । सबै अस्पतालले बिरामीलाई आवश्यक सेवा दिन सकिरहेको छैन । के निजी, के सरकारी सबै अस्पतालको पारा उस्तै छ । केही बेडको आइसोलेसनबाहेक ज्वरो क्लिनिक भनेर थर्मल गन चलाउनेबाहेकको सेवा बिरामीले पाएका छैनन् । अपर्झट पर्ने बिरामीलाई इमरजेन्सीमा हेर्नेसम्मको सेवा चलिरहेको छ ।

अरु त अरु केन्द्रीय अस्पतालको मान्यता पाएको भरतपुर अस्पतालको समेत पारा गतिलो छैन । भोलि बिरामीको चाप बढेर गयो भने उपचारको प्रबन्ध गर्ने पहिलो दायित्व सरकारी अस्पताल भएको नाताले भरतपुर अस्पतालको नै हुन्छ । तर, त्यहाँका स्वास्थ्यकर्मीलाई नै पीपीई छैन । तत्कालै धेरै पीपीई चाहिएको त छैन । तर, तुरुन्तै बिरामीको चाप बढ्यो भने के गर्ने हो थाहा छैन । अस्पतालसँग पर्याप्त स्रोत भए पनि त्यसलाई कहाँ कसरी खर्च गर्ने मेसो नहुँदा अन्यौल बढेको छ । अस्पतालसँर्ग पीपीई, मास्कजस्ता सुरक्षा कवच स्टक नै छैन ।

भरतपुरमा महानगरपालिकाको अगुवाइमा कोरोना विशेष (अस्थायी) अस्पताल छ । यहाँ दैनिक औसतमा १० थान पीपीई खपत भइरहेको छ । करिब १०० जनाले यहाँबाट सेवा लिइसकेका छन् । तत्कालका लागि यहाँ पर्याप्त पीपीई छ । विभिन्नखाले गरी यहाँ अकिले ५०० जति पीपीई स्टक रहेको डा. कार्कीले बताए ।

तर, भरतपुर अस्पतालको व्यवस्थापनको अदूरदर्शीताका कारण यहाँ पीपीई छैन । “अस्थायीरुपमा एउटा स्थानीय तहले खोलेको कोरोना अस्पतालसँग पर्याप्त पीपीई हुँदा केन्द्रीय अस्पतालमा छैन”, भरतपुर अस्पतालका एक विशेषज्ञ चिकित्सकले भने, “हामी कसरी काम गर्ने भन्ने अन्यौलमा छौं ।”

भरतपुर अस्पतालले कोरोनाका बिरामीलाई उपचार गराउन भनी ३० बेडको आइसोलेसन बनाइएको छ । भोलिसम्म तयार हुने गरी १० बेडको आइसोलेसन आईसीयूको काम भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. श्रीराम तिवारीले जानकारी दिए । तर, भरतपुर अस्पतालले बेड देखाउनेबाहेक अरु तयारी गरेको छैन । अस्पतालले केन्द्रको मुख ताकेर मात्रै बसेको आरोप त्यहीं कार्यरत स्वास्थ्यकर्मीहरुले लगाउने गरेका छन् ।

बिरामीसँगको सम्पर्कमा जाने चिकित्सक र स्वास्थ्यकर्मी नै हुन् । “तर, त्यहाँ काम गर्न सक्ने अवस्था छैन”, ती विशेषज्ञले भने, “पीपीई नै नभई बिरामीको उपचारमा कसरी जान सकिन्छ ?” सामान्य स्वास्थ्यकर्मी, चिकित्सक र सुरक्षाकर्मीसम्मले सामान्य मास्कसमेत नपाएको गुनासो आफूहरुलाई सुनाउने गरेको ती चिकित्सक बताउँछन् । “यो व्यवस्थापकीय कमजोरी हो”, लामो समय भरतपुर अस्पतालमा काम गरेका उनले भने, “भोलि भयावह अवस्था आयो भने कसरी थेग्ने हो, अझै पनि व्यवस्थापनलाई तातो लागेको छैन ।”

अर्का एक स्वास्थ्यकर्मी मेसुको कमजोरीले गर्दा अस्पतालमा तयारी लथालिङ्ग रहेको बताउँछन् । महामारीले बिरामी बढाउँदै गएको अवस्थामा भरतपुर अस्पतालमा भने कसको जिम्मेवारी के हो, कसले गर्ने के हो भन्ने नै निश्चित नभएको उनी बताउँछन् । “मानवस्रोत परिचालनदेखि सुरक्षा सामग्रीको उपलब्धतासम्म अन्यौल छ”, उनले गुनासो गरे, “यो पाराले भोलि भयावह अवस्था आउन सक्छ ।” अस्पतालमा एन ९५ मास्क आएको छ भन्ने सुनेर माग्न जाँदा एक विभागीय प्रमुखले तपाईंहरुलाई होइन, फिवर क्लिनिकलाई मात्रै हो भनेर खाली हात फिर्ता पठाएको तिनले बताए । “यो त लड्न आइज तर हतियार छैन भनेजस्तै भयो”, उनले भने, “हामी लड्न नसक्ने अवस्थामा छौं ।”

भरतपुर अस्पतालले कुनै पनि सुरक्षा सामग्री खरिद गरेको छैन । केही संघसंस्थाले दिएको पीपीईले काम चलाइरहेको छ । यसलाई स्वयं मेसु पनि स्वीकार गर्छन् । “स्तरीय पीपीई पाइनु पनि प¥यो”, कायाकैरनसँगको कुराकानीमा उनले भने, “सामान्य टेलरले समेत पीपीई भनेर सिलाउन थाल्यो, त्यस्तो किनेर झन् जोखिम हुन्छ ।” मन्त्रालयले दिएको मापदण्डको पीपीई पाए किन्ने उनले बताए । त्यसो त चाइनाबाट आएको पीपीई पनि प्राप्त हुने आशामा उनी छन् । “अब मन्त्रालयले पनि पठाउला”, उनी भन्छन्, “भोलि आवश्यक प¥यो भने हामी पनि किन्न सक्छौं ।”

अस्पतालको कोषमा २२ करोडभन्दा बढी पैसा छ । केन्द्रीय अस्पतालले आवश्यक परे त्यो कोषबाट पनि पैसा खर्च गर्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । मेसु डा. तिवारी आवश्यक पर्दा खर्च गर्न सकिने बताउँछन् । तर, भरखरै किन्ने सुरमा उनी छैनन् । मागेका सबैले पीपीई पाएनन् नि यसो गर्दा भन्ने प्रश्नमा उनी भन्छन्, “बिरामीसँग प्रत्यक्ष जोडिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विशेष किसिमका आवश्यक पर्छ अरुलाई खासै आवश्यक पर्दैन भनेको छ मन्त्रालयले, त्यहीअनुसार गरेका छौं ।”

१० लाख आएकै छैन
स्वास्थ्य मन्त्रलायले २ दिनअघि नै ज्वरो क्लिनिक चलाउन १० लाख निकासा दिने निर्णय गरेको थियो । तर, भरतपुर अस्पतालमा सो रकम आइनसकेको डा. तिवारीले बताए । सो रकम कसरी खर्च गर्ने भन्ने निर्देशन पनि नआएको उनले बताए । त्यो रकम आएपछि पनि केही सहज हुने उनले बताए । अस्पतालले अहिले ज्वरो क्लिनिक भने चलाइरहेको छ । ज्वरोका बिरामी खासै आएको छैन । अरु बिरामीलाई अस्पतालले लिएको छैन । ज्वरोबाहेकका बिरामीलाई बाटोबाटै फर्काउने गरिएको छ ।

सबै ठाउँमा अभाव छ पीपीई
नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. अनिल विक्रम कार्की पीपीई अभाव सरकारी र निजी दुवैखाले अस्पतालको समस्या भएको बताए । “व्यापक अभाव छ”, कायाकैरनसँगको टेलिफोन कुराकानीमा उनले भने, “बजारमा अभाव छ, कतिपय अस्पतालले किन्न नचाहेको पनि हुनसक्छ । तर, अभावचाहिं चरम छ ।”

तत्कालका लागि बिरामी धेरै नआएको कारण यसको अभाव साह्रै महसुस नभए पनि भोलि बिरामीको चाप बढिहाल्यो भने अवस्था असामान्य हुनसक्छ । “पीपीई विभिन्नखाले हुन्छन्”, उनले भने, “बिरामी ओसार्ने एम्बुलेन्सचालकदेखि फिबर क्लिनिक चलाउनेसम्म र क्वारेन्टाइन, आइसोलेसनदेखि क्रिटिकल युनिटमा काम गर्ने सबैलाई फरक–फरक गुणस्तरको पीपीई चाहिन्छ । तर, व्यापक अभाव छ ।”

…..

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट