पत्रकारिताको अनुभवले कथासङ्ग्रह निकाल्न सजिलो भयोः पराजुली

वसन्त पराजुली

पत्रकार वसन्त पराजुलीको परिचय थपिएको छ । आजदेखि आख्यानकारका रूपमा पनि उनी दर्ज हुँदैछन् । दुई दशक अगाडिबाट पत्रकारिता गरिरहेका पराजुलीले पछिल्लोपटक कथा लेखनमा सक्रियता देखाए । फलस्वरूप उनका कथाहरूले किताबको आकार लियो । उनको कथासङ्ग्र्रह कुमाता आज सार्वजनिक हुँदैछ । हरेक कथामा सामाजिक यथार्थवादी विषयवस्तुलाई समेटेका छन् । पुस्तक भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको हो । ‘कुमाता’ मा कूल दश कथा छन् । कथाकार पराजुलीसँग यही पुस्तकका सन्दर्भमा रहेर कुराकानी गरेका छौं:

कुमाता कस्तो पुस्तक हो ?

नारी प्रधान विषयवस्तुहरु समेटेर नारी मनोविज्ञान र यौन मनोविज्ञानमा केन्द्रित कथाहरुको सङ्ग्रह हो कुमाता । मुख्य १० वटा कथाहरु रहेको यो पुस्तक ११२ पेजको छ । भँुडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको यो पुस्तकका कथाहरु हाम्रै घर समाजमा घटेका तपाईं हाम्रै कहानीजस्तो लाग्छ । स्थापित कथा सिद्धान्त कुनै मान्यता र कुनै दर्शनलाई यसले पछ्याएको छैन । मेरो दृष्टिले जे देख्यो, जे भोग्यो र जे अनुभव गर्दैछ, त्यसैलाई कथामा पोख्ने प्रयास मैले गरेको छु । सबै मान्छे कुनै न कुनै उकुसमुकुसमा बाँचेका छन् । तिनै उकुसमुकुस नै जीवन हो । जीवनका कहानीहरू नै मैले मेरा कथाको मुख्य विषय बनाएको छु । प्रायः कथामा मान्छेभित्रका जीवन लुकेका छन् । त्यसैले मेरा कथा पढ्दा आफ्नो जीवनका भोगाइहरू पाउनुहुन्छ ।

किताबको नाम कुमाता नै किन रोज्नुभयो ?

हाम्रो समाजमा सदिऔंदेखि रहिआएको पितृसत्तात्मक प्रवृत्तिलाई यहाँ उठान गरिएको छ । पितृसत्तात्मक व्यवहारको परिणाम स्वरुप नेपाली नारीहरुले भोग्दै आएका शोषण, दमन र उत्पीडनलाई कथामा प्रस्तुत गरेको छु । तर, यसको समाधान एक्लो कलमले निकाल्न सम्भव छैन । त्यो समाधान अबको समाजको नेतृत्व गर्ने वर्गहरुले नै गर्नुपर्छ । त्यसैले नारी अधिकारका पक्षमा नारी शोषणको विरुद्धमा आवाज बुलन्द र एकीकृत गर्नु मेरो कुमाता कथासङग्रहको उद्देश्य हो । कुनै पनि कथासङ्ग्रह होस् वा कुनै पनि कृति प्रकाशन गर्दै गर्दा पहिलो चुनौती नै नाम के राख्ने भन्ने हुँदोरहेछ । प्रायः पछिल्लो समय चलेको चलनचाहिं कृतिभित्रैका शीर्षकहरुबाट किताबको नाम राख्ने प्रचलन रहेछ । प्रकाशकसँग छलफल गर्दा कुमाता नै राख्ने निर्णयमा पुगियो । छलफलका क्रममा कथाहरु मध्ये कुमाता कथाकै नामवाट पुस्तकको नाम राख्ने निर्णयमा पुगिएको हो ।

किताब लेख्ने सोचाइ कसरी आयो ?

म लामो समयदेखि चितवन र यस वरपरका क्षेत्रलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएको छु । मेरो २० वर्षे पत्रकारिताका अनुभवलाई समेटेर नै किताव लेख्न पुगें । पत्रकारिताका क्रममा समाचारका विषयहरू उठान गर्दै गर्दा भेटिएका पात्रहरूको एक–एक जीवन केलाउँदा सबैभित्र समाज प्रष्ट लुकेको पाएँ । उनीहरूमा पात्रैपिच्छे छुट्टाछुट्टै कथा भेटाउन थालें । तिनीहरुलाई लिपिबद्ध गर्दै गएँ । पछि त्यही विषयवस्तु र पात्रहरूबाट जन्मिएका कथा नै कुमाता कथासङ्ग्रह बन्न पुग्यो ।

पत्रकारिता गरिरहेको व्यक्तिलाई किताब लेख्न कत्तिको सजिलो हुने रहेछ ? कि गाह्रो ?

मेरा अधिकांश कथाहरु पत्रकारिता गर्ने क्रममा भेटिएका पात्र र प्रवृत्तिबाटै बनेका हुन् । विषय छनौटका हिसाबले पत्रकारिताले पुस्तक लेख्न सहयोग पुगेको देखियो । पत्रकारितालाई हतारको साहित्य भन्ने गरिन्छ अर्थात साहित्यचाहिँ फुर्सदमा मात्रै लेखिने विषय भएजस्तो । अहिले यी दुवै कुरा ठीक होइनजस्तो लाग्छ मलाई । साहित्य र पत्रकारिता दुबै सिर्जनशील क्षेत्र हुन् । पत्रकारिता यथार्थमा आधारित हुन्छ भने साहित्यले यथार्थलाई नै आधार बनाएर परिकल्पनासहित पस्कने गरेको हुन्छ ।

अखबारी लेखन र कथा लेखनको धार मिल्छ त ?

अखबारी लेखन पनि एक किसिमको आख्यान नै हो । अझै हामी फिचर समाचारहरु लेख्छौं, त्यसमा तपाईंले हेर्नुभयो भने कति कथाहरु जोडिएको पाउनुहुन्छ । धेरै कथाहरुवाट एउटा समाचारको फिचर बन्छ भने हामी अब त्यो वाटोमा किन नहिँड्ने ? यथार्थलाई नै आधार बनाएर परिकल्पनासहित पस्कन सकियो भने त्यसले पाठकको मन छुन्छ समाचार लेखे पनि या आख्यान ।

तपाईंलाई अब पाठकले पत्रकारको रुपमा चिन्ने कि आख्यानकार ?

मूलधारको पत्रकारिता गर्दै आइरहेको छु । यही पत्रकारिताको जगमा बसेर कथा लेख्ने प्रयास गरेको हुँ । मेरो पहिलो पहिचान पत्रकार नै हो । मेरा समाचार पाठकले पढ्दै गर्दा म अहिले पनि पत्रकार नै हुँ । आख्यानकार वा कथाकार भन्ने कुराचाहिं अब मेरो कृति पछि पाठकहरुले नै छिनोफानो गर्नुहुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट