साहित्य गतिविधिमा दूतावासको सहयोग पाएका छौं

शिशिर दूरवस्तिको

कायाकैरन दैनिकको मेरो सिर्जन स्तम्भका फागुन महिनाका पाहुना शिशिर दूरवस्तिकोसँग गरिएको कुराकानी ।

तपाईंको प्रवासको यात्रा कहिले र कसरी सुरु भयो ? अनि कसरी साहित्यिक माहोलमा प्रवेश गर्नुभयो ?
मेरो वैदेशिक यात्रा सन् २००५ डिसेम्बर २३ तारिखदेखि खाडी मुलुक कतारको दोहाबाट सुरु भएको हो । मिडल इस्टको उदाउँदो देश थियो त्यतिबेला कतार । म एउटा सुरक्षा कम्पनीमा सुरक्षा गार्डको काममा गएको थिएँ । भनिन्छ जहाँ गए पनि आफ्नो भाषा संस्कृति मान्छेले साथै लैजान्छ र मान्छे–मान्छेलाई जोड्ने काम यसैले गर्छ । कतार बसाइको त्यो बेला नेपाली भाषी हाम्रै दाजुभाइ मात्रै होइन हिन्दी, मैथिली र भोजपुरी भाषी मान्छेहरू भेट्दा पनि आफैं दाइभाइ अनि छरछिमेकी भेटेजस्तो लाग्थ्यो । पैसाले मात्रै मान्छे खुसी हुन सक्दैन, उसलाई मनोरञ्जन चाहिन्छ । फुर्सदको बेला मन साट्ने साथी चाहिन्छ । यस मानेमा म आफूलाई अलिक रसीक खालको छुजस्तो ठान्छु । नयाँ मान्छेहरुसँग परिचय गर्न, घुलमिल हुन खासै आप्ठ्यारो लाग्दैन मलाई । सायद त्यसैले होला जहाँ पुग्छु साथीहरु मेरा बनिहाल्छ । सायद यही हुनसक्छ मेरो प्रवास बसाइ लम्बिनुको कारण पनि । कतारमा अन्तर्राष्ट्रिय साहित्य समाजको शाखा भर्खरै स्थापना भएको थियो त्योबेला । पूर्व खोटाङतिरका मित्र भानु सुनुवारसँग मेरो परिचय भएको थियो । त्यो बेला स्मार्ट फोनको जमाना थिएन । दोहामा एउटा नेपाली रेस्टुरेन्ट कम पुस्तक पसल थियो, जहाँ नेपाली समाचार पत्रिका अनि पुस्तकहरु किन्न पाइन्थ्यो । सुरक्षा गार्डको काम एक्लै बस्नुपर्ने, मिनेट, महिना र घण्टा वर्षजस्तो लाग्ने । हलुका कप्युटरको नलेज भएकोले म फुर्सद मिलेसम्म साइबर क्याफेमा जान्थें र समाचारहरु हेर्थें । समाचारलाई यूएसबीमा कपी गरेर म आफूले काम गर्ने ठाउँमा प्रिन्ट गर्थें । साथीहरूलाई बाँड्थें । यसरी हामी प्रवासमा आफ्नो देश र देशको खबरसँग परिचित भइन्थ्यो । सन् २००६ को अन्त्यतिर हुनुपर्छ, कतार पत्रकार महासंघको संयोजनमा साहित्यिक भेटघाट अनि रचना वाचन प्रोग्राम हुने कुरो मैले साथीहरूमार्फत थाहा पाएँ । त्यो बेला कतार पत्रकार महासंघको अध्यक्ष हाम्रै जिल्लाबासी रवि रोषी भएको मैले सुनेको थिएँ । प्रवाशमा आफ्नै जिल्लाको मान्छे भेट्न पाउनु खुसीको कुरो थियो मेरो लागि । त्यतिबेला यसोउसो छुट्टी मिलाएर त्यो प्रोग्राममा गएँ । यसरी साथीहरू अरू बन्दै गए थपिँदै गए, खासमा भन्दा मेरो पठन संकृति प्रवास बसाइबाटै जागेको हो । मैले जीवनमा कहिल्यै नदेखेका पुस्तक प्रवास आएर पढ्ने मौका पाएँ, शब्दहरुसँग नजिक हुन पाउँदा औधि रस बस्दै गयो । नेपालबाट आउने साथीलाई कोसेलीभन्दा पनि म किताब मगाउँथे र तीन वर्षपछि म कतार छोडी यूएई आएँ नया जबमा । तर, कतारको जस्तो अप्ठ्यारो भएन यो पटक । फेसबूकमार्फत चिनेका तर भेट नभएका कम्तीमा १५०० जति साथी भए । यिनैमा मैले मेरो भावना साट्न थालें यूएई बसेर । यूएईमा सिर्जना वाचन श्रृंखला सुरु भएको थाहा पाएँ । त्यसैमा आवद्ध भएर साथीभाइ भेट्ने र आफ्ना सिर्जना सुनाउने गर्न थाल्यौं । त्यो यद्यपी जारी छ । एउटा लेखकलाई आफ्नो सिर्जना पढिदिने पाठक अनि सुनिदिने स्रोता पाउनु भनेको भगवान पाउनु बराबर हो जस्तो लाग्छ । यो वाचन श्रृंखलाले मात्रै नेपाली साहित्यिक बजारमा आफ्नो उपस्थिति नहुने देखेर पछिल्लो दुई वर्षबाट सगरमाथा साहित्यिक प्रतिष्ठान गठन गरिएको छ । यसले वर्षमा कम्तीमा एउटा कृति नेपाली साहित्य बजारलाई दिन सकोस् भन्ने हो र यो संगठनको अध्यक्ष श्रीकृष्ण विश्वकर्मा हुनुहुन्छ ।

अहिले यूएईको साहित्यिक माहोल कस्तो छ ?

नेपालीको बाक्लो उपस्थिति भएको देश मलेसियापछि साउदी अरब, कतार र यूएई नै हो । कामको सिलसिलामा यूएई आउनेको आँकडा लगभग ३ लाख जति पुगेको सुनिन्छ । यसमानेमा यूएई साहित्यिक गतिविधि राम्रै हुँदै आएको छ । हरेक दुई महिनामा हुने सिर्जना वाचन श्रृंखलाबाहेक पनि बेला–बेला यूएईले नेपालदेखि आउने लेखक, कवि तथा सर्जकलाई सम्मान गर्दै आएको छ । नेपालका चलेका लेखकहरुले आफ्नो कृति यूएईमा लोकार्पण होस् भन्ने चाहना गर्नुले पनि यो कुराको पुष्टि गर्छ । एनआरएनएको भाषा तथा साहित्य फाँटको मिडल इस्ट संयोजक जे सागर हुनुहुन्छ । विशेषगरी गजल र आख्यानमा कलम चलाउने उहाँमा व्यंग्य चेतको पनि राम्रो ज्ञान छ । यूएईमै बसेर नेपाली गजल साहित्यमा ‘यत्ति भए पुग्छ’ संग्रह ल्याइसक्नुभएको छ, जसले राम्रै पाठक बनाएको छ । त्यस्तै वरिष्ठ ईञ्जिनियर पेसामा आबद्ध श्री टक गुरुङले पनि यहीं यूएई बसाइमै आफ्नो वहरबद्ध गजल कृति ‘अनाहत’ नेपाली साहित्य बजारमा ल्याउनुभएको छ । यसले पनि राम्रै प्रतिक्रिया पाएको छ । कविता विधामा हाम्रै संस्था ‘सगरमाथा साहित्य प्रतिष्ठान’का अध्क्षय कृष्ण विश्वकर्माले ल्याएको ‘भोकको लय’ले पनि आफ्नो दर्विलो उपस्थिथि नेपाली साहित्यलाई दिएकोमा दुई मत छैन । त्यस्तै सरोज संगमको मुक्तक कृति अनि प्रतिक संग्रामीको गजल संग्रह पनि यूएईबाटै नेपाली साहित्यमा आएका कृतिहरु हुन् ।

श्रम गर्न गएकाहरू नेपाली साहित्यको खेतीमा पनि मज्जाले लागिरहनुभएको छ । कत्तिको सजिलो छ यसरी लागिरहन ?

अवश्य पनि श्रम गर्न देश छोडेर प्रवास आएका हामीलाई यो त्यति सजिलो छैन । तर, जहाँ इच्छा । त्यहाँ उपाय भनेझैं हरेक हप्ता हुने छुट्टिलाई सम्झन लायक बनाउन हामी सक्दो कोशिसमा हुन्छौं । समयलाई कसरी सदुपयोग गर्ने भन्ने प्रवासले सिकाएको यो अर्को पाटो हो । आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन भनेझंै नभए पनि सके र मिलेसम्म एकतृत हुने र भावना साटासाट गर्ने हाम्रो प्रायः साप्ताहिक प्लानमै पर्छ । यहाँ धेरै जातीय र क्षेत्रीय संगठन छन्, जसले कुनै न कुनै रुपमा हामीलाई भेट गराउने काम गरिनै रहेका छन् । राजनीतिक भातृ संगठन पनि उत्तिकै छन् । उसो त र हरेक संगठनमा आबद्ध साथीहरूलाई साहित्यमा पनि सरिक गराउने हाम्रो कोसिस हुँदै आएको छ र नेपाली भाषा मात्रै नभई अन्य भाषाका कृतिहरु पनि यूएईमा लोकार्पण भएका छन् । यस्तो हुनु निकै खुसीको कुरो हामी यूएईका साथीहरूका लागि । यूएई ठूलो देश हो । त्यहाँका लगभग सबै शहरमा सिर्जनशील नेपालीहरू सक्रियतापूर्वक लागिरहनुभएको छ ।

कार्यक्रम गर्ने बेलामा एकजुट हुन कसरी भ्याउनुहुन्छ ?

हो यूएई सात वटा प्रान्त मिलेर बनेको देश हो । यहाँ हरेक प्रान्तमा आफ्नै प्रान्तीय कानून छन् जस्तो कि दुबई विश्व बजारको एक अहम् भूमिका बोकेको प्रान्त हो भने अवुधावी समग्र यूएईको राजधानी अनि सारजाह औद्योगिक सहर हो र हामी व्हाट्स अप र फेसबूकका ग्रुपहरुमार्फत कुनै पनि कार्यक्रमको बारेमा सरसल्लाह गर्छौं अनि त्यसैलाई एउटा मूर्तरुप दिन्छौं । उपस्थिति बाक्लो हुने देखिए विभिन्न सहरबाट बस को व्यवस्था पनि गर्ने गरेका छौं । यहाँको पब्लिक बस सेवा निकै सरल छ । आधुनिक मेट्रो रेलको त झन् कुरै नगरौं ।

तपाईं लामो समयदेखि यूएईमा बस्दै आउनुभएको छ । त्यहाँको साहित्यिक गतिविधिमा पनि तपाईंसहितको टोली लागिपरेको छ । अहिलेसम्म तपाईंहरुले गरेका खास–खास कार्यक्रम कुन–कुन हुन् ?

हामीले नेपाली दिग्गजहरुलाई सम्मान अनि अभिनन्दन गर्ने गरेका छौं । डाक्टर कृष्णहरि बराल ‘मृत्यु’ कविताका नेपाली शुत्रधार कृष्ण प्रसार्इं अनि अहिले चल्तीमा रहेका कवि नवराज पराजुली लगायतलाई यूएईले आफ्नो आँगनमा स्वागत गरिसकेको छ, सम्मान गरिसकेको छ । अब आउने दिनहरुमा पनि कला र साहित्यलाई अझ परिस्कृत गर्दै यो कार्यलाई निरन्तरता दिँदै जानु छ र यसका लागि सबै संघ संस्थाहरूसँग हालेमालो गर्दै जाने प्रण गरेका छौं । साहित्यक संस्थामार्फत मानवीय सहयोग पनि गर्दै आएका छौं । नेपालमा गएको महाभूकम्पको बेला होस् या अन्य कुनैबेला सकेको सहयोग हुँदै आएको छ ।

तपाईंहरुले गर्ने साहित्यिक गतिविधिमा दूतावासको सहयोग कत्तिको रहेको छ ?

प्रवासमा भएका नेपालीहरुलाई दुःखसुखमा साथ सहयोग गर्न भनेर नै नेपाली दूतावास छ । यूएईमा यसले अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग उद्दार र घर फिर्तीको काम तथा घटना दुर्घटनाको जानकारी दिँदै आएको छ । नेपाली दूतावासले नेपाली साहित्यको श्रीवृद्धिमा पनि सहयोग गर्दै आएको हामीले अनुभूत गरेका छौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिलगायत टिमलाई यूएई निमन्त्रणा गरेर हामीमाझ दूतावासले परिचित मात्रै गरेको छैन । दूतावासको हल उपलब्ध गराएर हालै यूएईले ‘बाँडेको मुस्कान’ लोकार्पणमा पनि अभिभावकको भूमिका देखाई अपनत्व दर्साएको हामीले महसुस गरेका छौं ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट