युवतीहरुको लागि स्वास्थ्य सचेतना तथा सेनेटरी प्याड वितरण

कालिका, २६ फागुन
पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर–९ शक्तिखोरमा युवतीहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रम तथा निशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ । शक्तिखोर, सिद्धी र काउलेका ६० जना युवती तथा महिलाहरुको सहभागिता रहेको कार्यक्रम सामुदायिक सहयोग केन्द्र सौराहाको स्थानीय संयोजन तथा लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरको सहयोगमा सो कार्यक्रम भएको थियो ।


“महिनावारी र सो समयमा अपनाउनुपर्ने सजगता” को विषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो । १ सय १०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आयोजित कार्यक्रममा लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरले आफ्नो सामुदायिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रममा विशेष सहयोग गरेको थियो । कार्यक्रममा संचारिका समूह चितवनकी अध्यक्ष तथा पत्रकार अजिता अधिकारीले सहभागीहरुलाई प्रशिक्षण दिएकी थिइन् । अध्यक्ष अधिकारीले महिलाहरुको महिनावारी प्राकृतिक प्रक्रिया भएको भन्दै स्वस्थ जीवनयापनको लागि महिलाहरुले “मेरो स्वास्थ्य मेरो अधिकार” लाई विशेष जोड दिनुपर्ने बताइन् ।


लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरकी संचालक प्रभा बरालले बाध्यात्मक अवस्थाका कारण आफू लामो समय वैदेशिक रोजगारीमा रहेको भन्दै आफूले जानेको सीप र क्षमताको प्रयोग गर्दै महिलाहरु अगाडि बढ्नुपर्ने बताइन् । उहाँले आफ्नै कर्मभूमिमा आई केही गर्नुपर्छ भन्ने सोचेर एक दशक लामो वैदेशिक रोजगारीलाई छाडेर चितवनमा नै व्यवसाय थालेको बताइन् । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आगामी दिनमा पनि विपन्न र पछाडी पारिएका महिलाहरुको लागि विभिन्न सहयोग कार्यक्रम गर्ने समेत उनले बताइन् ।


कार्यक्रममा सामुदायिक सेवा केन्द्र सौराहाका कार्यालय प्रवन्धक दिपेन्द्र खरेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा युवती तथा महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट