सांसद पोखरेलको निर्वाचन क्षेत्र कार्यक्रमको पहिलो सडक तयार

भरतपुर, २६ फागुन
भरतपुर–७ कृष्णपुरस्थित सनराईज टोल विकास संस्थाअन्तर्गत सगरमाथा मार्गको बाटो निर्माण कार्य सम्पन्न भएको छ । प्रतिनिधि सभाका सांसद कृष्णभक्त पोखरेलको निर्वाचन क्षेत्र कार्यक्रमबाट प्राप्त रकमले सो मार्गको करिब १ सय ३५ मिटर बाटो निर्माण कार्य सम्पन्न भएको हो । सांसद पोखरेलले सो बाटो निर्माणका लागि १२ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेका थिए ।

भरतपुर महानगरले सो बाटोको लागि पन्ध्र लाख रुपैयाँको लागत ईष्टिमेट तयार पारेर कार्यादेश दिएपनि बाँकी रकम जनसहभागिताबाट पूरा गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए । सो मार्गमा उच्चस्तरको ‘इण्टरलक मोज्याक’ बिछ्याईएको छ ।
सोमबार उपभोक्ता समितिद्वारा आयोजित खर्च सार्वजनिकीकरण कार्यक्रममा सांसद कृष्णभक्त पोखरेलले नवनिर्मित सगरमाथा मार्गको निरिक्षण गरेका थिए । कार्यक्रममा सांसद पोखरेलले उपभोक्ता समिति, स्थानीय तह र निर्माण कम्पनीबीच तालमेल नहुँदा कतिपय परियोजनाहरु समयमै सम्पन्न नहुने, भएपनि गुणस्तरको नहुने गरेको अनुभव प्रस्तुत गर्दै सनराइज टोलका उपभोक्ताले सबैलाई तालमेल गराएर नमूनायोग्य बाटो बनाएकोमा खुशी व्यक्त गरे । आफ्नो निर्वाचन क्षेत्रका परियोजनामध्ये यो सडक निर्माण गर्न यहाँका उपभोक्ताहरुले समयमै सम्झौता गरी जिल्लामा नै पहिलोपटक काम सम्पन्न गरेको पनि सांसद पोखरेलले जानकारी दिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड नं. ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, चित्रवन साकोसका अध्यक्ष सन्तबहादुर गुरुङ, सनराइज टोल विकास संस्थाका अध्यक्ष बाबुराम देवकोटा, सल्लाहकार भिमसेन देवकोटा, कृष्णबहादुर रानाभाट, नेकपा चितवनका कार्यालय सदस्य कृष्णराज न्यौपाने ‘लभ्ली’, लगायतले भौतिक निर्माणसँगै महानगरका टोलले अब स्वास्थ्य र सरसफाईमा पनि उत्तिकै ध्यान दिनुपर्ने सुझाव व्यक्त गरे ।

उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेत्रजंग जिसीले गरेका थिए । जिसीका अनुसार उक्त सडक निर्माण सुरु गरिएको पाँच दिनमै तयार भएको थियो ।


.

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट