यहाँ ३ सय ५० घरधुरी थिए । चैते र वर्षे धान खेती, गहुँ र मकै निकै फल्थ्यो । निकुञ्जबाट आउने जनावरले सखाप पार्न थालेपछि किसान अन्यत्र बसाइ सर्न थाले । ४ वर्ष पहिले १ सय ३० घर थिए । अहिले कुनै घर छैन ।
विप्लव काफ्ले
भरतपुर । माडीको विस्थापित गाउँ अमिलियामा व्यावसायिक माछापालन सुरु गर्न लागिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र रिउ खोलासँग जोडिएको यो गाउँ ४ वर्षदेखि विस्थापित भएको थियो । माडी–१ मा पर्ने यो गाउँ रिउ खोलाको पुलबाट करिब ३ सय मिटर पूर्व, भैरवपुर गाउँको उत्तर, निकुञ्जको दक्षिणमा पर्छ ।

यो गाउँलाई पुनः जीवन दिनका लागि ‘सपनावती कृषक समूह’ गठन गरेर माछापालनको काम अगाडि बढाउन लागिएको छ । माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले सामुहिक मत्यपालन परियोजनाको शिलान्यास गरेका छन् । कुनैबेला अमिलिया माडीकै सबैभन्दा धेरै घरधुरी भएको बस्ती मानिथ्यो । यहाँ ३ सय ५० घरधुरी थिए । चैते र वर्षे धान खेती, गहुँ र मकै निकै फल्थ्यो । निकुञ्जबाट आउने जनावरले सखाप पार्न थालेपछि किसान अन्यत्र बसाइ सर्न थाले । ४ वर्ष पहिले १ सय ३० घर थिए । अहिले कुनै घर छैन ।
अमिलियामा७ सय ५० विघा जग्गा छ । जसमध्ये आधा भूभाग बगरमा परिणत भएको छ । “अब अमिलियालाई उत्पादन र पर्यटनको ‘हब’ बनाउने योजना छ”, समूहका अध्यक्ष नवीन खड्का ‘सूर्य’ ले भने, “खाली जग्गा प्रयोगमा ल्याउँदैछौँ, गाउँ फर्क अभियान सुरु हुँदैछ ।” रोजगारीका लागि विदेशिएका खड्कासहितका युवाले माछापालनको योजना अघि बढाएका हुन् । अमिलियालाई पुर्नजीवन दिने सोच छ । “जंगली जनावरले क्षती नपु¥याउने भन्दै माछापालनको योजना ल्याएका हौँ”, उनले भने, “जग्गा हुनेले सेयर राखेका छन्, आगामी जेठभित्र माछापोखरीमा माछा छाड्नेछौँ ।”
१० हजारदेखि १ लाखसम्म सेयर राखेर जग्गाधनी माछापालनमा जोडिएका छन् । पहिलो चरणमा ४१ विघा क्षेत्रफल चक्लाबन्दी गरिएको छ । जसमध्ये साढे २२ विघामा जलासय रहनेछ । डेढ विघा बराबरका १५ वटा पोखरी रहनेछन् । “काँस फाँड्नै ८ लाख खर्च भयो”, उनले भने, “जंगलै जस्तो थियो, अहिले पोखरी खन्न थालेका छौँ ।” काँस फाड्न ट्याक्टरमा ‘रिपर’ जडान गरेर डेढ महिनामा जग्गाको स्वरुप ल्याइएको थियो । अहिले २ पोखरी बनिसकेका छन् ।बागमती प्रदेशले ७४ लाख अनुदान दिँदैछ ।
खड्का ११वर्ष कतारमा गाडी चलाउँथे । नेपाल फर्केपछि निर्माण व्यवसायमा लागे । भरतपुर–११ मा बस्न थालेका छन् । “दाजुभाइको नाममा ३ विघा जग्गा थियो, तर काँसघारी थियो, उत्पादन लिने अवस्था थिएन”, उनले भने, “अमिलिया अब निर्जन भूमि रहनेछैन, पर्यटकीय गन्तव्य पनि बनाइनेछ ।” मेयर ढकालले अमिलियाको उर्वरभूमि पुनः प्रयोगमा आउन लागेको बताए । “जग्गा बाँझो छाडेर गएकाहरुमिलेर काम गर्न थालेका छन्”, उनले भने, “अमिलिया अब घुम्ने ठाउँ पनि बन्नेछ ।”
राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज माडीका अध्यक्ष सूर्य भुषाल अमिलिया घाँस खेती लिने जग्गाका रुपमा पछिल्ला वर्षमा चिनिएको बताउँछन् । “खेती गरेर नजोगिएपछि खेती हुनै छाडेको थियो, बगरका घाँसले आम्दानी लिन गाह्रो थियो”, उनले भने, “माछापालनले निराश जग्गाधनीलाई राहत दिने अपेक्षा गरेका छौँ ।” समूहले ऋणमा ट्याक्टर र जेसीभी खरिद गरेको छ । भविष्यमा होमस्टे, रिसोर्ट चलाउने योजना पनि छ । रिउखोलाबाट जोगाउन मिटर चाक्लो ३ मिटर अग्लो ड्याम बनाइएको छ । लामो कसरतपछि निकुञ्जले माघ ९ गते समूहलाई १४ बुँदे शर्त राखेर माछापालन, पशुपालन र कृषि कार्य गर्न सहमति दिएको थियो ।
अमिलियाको पीडा
अमिलियामा २०२२ सालदेखि बस्ती बस्न सुरु भएको थियो । राप्ती दुन परियोजनाअन्तर्गत लमजुङ, गोर्खा, तनहुँ, बाग्लुङदेखि आएकाहरु बाँसबारी क्षेत्रमा बस्दै आएका थिए । निकुञ्ज क्षेत्रभन्दै उनीहरु अमिलियामा बसाइसरे । निकुञ्जसँगै जोडिएको गाउँ भएकाले वर्सेनि जंगली जनावरको निसानामा पथ्र्यो । अमिलियाका अगुवा लालबहादुर विक पछिल्लो १० वर्षमा ६ जनाले जनावरकै आक्रमणमा परी ज्यान गएको बताउँछन् ।
रिउको बाढीले ७ जनाले ज्यान गुमाए । “ध्रुवे हात्तीले पछिल्ला वर्षमा निकै त्रसिद बनायो, २ जनाको ज्यान पनि लियो”, उनी सम्झन्छन्, “बाघले घरमै सुतिरहेको बच्चालाई मा¥यो, खेतमा जाँदा भालु गैडाले मारे ।” हरेक वर्ष जंगली जनावरको आतंक बढेपछि स्थानीय घरनै छाडेर हिड्न बाध्य भएको बताउँछन् । केहीले जग्गा बेचे, केहीले त्यसै छाडेर सरे । जग्गाधनी बसाईसरेपनि केही भूमीहिनले जग्गा कमाउन बसे ।
२०६७ सालको बाढीले सुकुमबासीका घरसमेत भत्काइदियो । त्यसपछि उठीबासनै लाग्यो । अमिलियाबाट पीडित भएकाहरुमाडी–१ बरुवा बजार नजिकै वडा कार्यालय अगाडि १६ अस्थायी घरमा अझै छन् । तत्कालीन गर्दी गाविसले भैरवपुरमा १८ कठ्ठा जग्गा किनेर राखेको ठाउँमा २२ घरहरु छन् । “रिउ र निकुञ्जबाट पीडित बनेको वस्ती अमिलियाको अस्तित्वनै हराउन पुगेको थियो”, उनी भन्छन्, “व्यावसायिक माछापालन सुरु हुने खबरले खुसी छु ।” २०३० सालको बाढीबाट प्रभावितलाई पुनर्बास योजना अन्र्तगत बाँकेको खजुरीमा जग्गाको लगत कट्टा गरी स्थानान्तरण गरिएको थियो । लगतकट्टा गरिएको करिव साढे ३ सय विघा जग्गामा नगरपालिकाले व्यवसायीक फलफुल खेती गर्ने योजना बनाएको छ ।
सपनावती र अमिलियाको साइनो
निकुञ्जबाट निस्केको सपनावती खोला अमिलियामा सिँचाइ गर्ने नहरका रुपमा परिचित थियो । गर्मीमा चिसो, जाडोमा तातो पानी बग्थ्यो । पछि यो खोला पुरिँदै गयो । यो खोलामा माछा र घोंगी प्रशस्तै पाइन्थ्यो । “अमिलियामा रिउको मात्रै होइन, सपनावतीको पानीले पनि खेतीलाई योगदान गरेको थियो”, समूहका अध्यक्ष खड्का भन्छन्, “सपनावतीकै साइनो बिर्सन नसकेरै समूहको नामाकरण ग¥यौँ ।” मेयर ढकालले बसाईसराई दर उच्च रहेका पाँचपाण्डव वस्तीमा छिटै तटबन्धन गरेर व्यवसायीक खेतीको योजना बनाउन सहयोग गरिने बताए । बोटे सिमरा बस्ती समेत निकुञ्ज र बाढीबाट बढी प्रभावित क्षेत्र हो ।





