नवलपुर, ८ माघ
नवलपुरको हुप्सेकोट गाउँपालिका अधिकृतले चलाएको गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि उक्त क्षेत्र तनाबपूर्ण बनेको छ ।अधिकृतले अध्यक्षको गाडी सिक्नका लागि चलाउने क्रममा दुर्घटना भएको हो । दुर्घटनाको विषयलाई लिएर गाउँपालिका क्षेत्रमा हिजो अपरान्हबाटै तनाव सुरु भएको थियो ।

गाउँपालिकाको ग १ झ ३८९ नम्बरको जीपको ठक्करबाट हिजो अपरान्ह ७ वर्षीय बालकको मृत्यु भएको थियो । दुर्घटनामा तीन जना घाइते भएका छन् ।घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
स्थानीले घटनाको विरोध गरेपछि गएरातीबाटै तनाव उत्पन्न भएको थियो । स्थानीयले सवारी चालक र चलाउने व्यक्तिलाई पक्राउ गर्नुपर्ने र गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे आएर घटनाको बारेमा सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।
बिरोधका बीच कार्यालय समय सकिएर रातको समयमा दुई जना कर्मचारीले कार्यालय खोलेपछि स्थानीयले उनीहरुलाई कार्यालय भित्रै राखेर ताला लगाइदिएका थिए । ताला विहानपख प्रहरीले बल प्रयोग गरेर खोलेको छ ।
हुप्सेकाट गाउँपालिकाका उपाध्यक्ष कोपिला मल्ललाई छाडेर आउने क्रममा गाडी दुर्घटनामा परेको भनिएपनि स्थानीयले सिक्ने क्रममा दुर्घटना भएको बताएका छन् ।
गाडीका चालक नभएको र गाउँपालिकाका कर्मचारी (अधिकृत) शिव सुवेदीले गाडी सिक्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । सुवेदी फरार छन् । गाउँपालिकाका कार्यकारी अधिकृत लिलाबल्लब न्यौपानेले गाडी कसले चलाएको भन्ने बारे एकिन भइनसकेको बताए । आफू कार्यलय बाहिर रहँदा दुर्घटना भएको उनले बताए ।





