भरतपुर, ७ माघ
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । नेपाल प्रेस युनियन चितवनको सभा कक्षमा मंगलबार सम्पन्न केन्द्रीय समितिको बैकले आगामी चैतको २१ र २२ गते महाधिबेशन गर्ने निर्णय गरेको हो ।

युनियनको प्रतिष्ठान, जिल्ला शाखा र विदेश गरी ८७ शाखा छन् । शाखाबाट आएका झण्डै एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताए । युनियनका शाखामध्ये ७० भन्दा बढी शाखामा अधिवेशन सम्पन्न भइसकेको छ । अधिवेशन हुन बाँकी शाखामा अधिवेशन माघ मसान्तभित्र सम्पन्न गरी सक्ने बैठकले निर्णय गरेको महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लयर्स एशोसिएशनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय बैठकले गरेको सिवाकोटीले जानकारी दिए । अध्यक्ष सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासचिव सिवाकोटी रहेको तीन सदस्यीय विवाद समाधान समितिसमेत गठन भएको छ ।
महासचिव सिवाकोटीको संयोजकत्वमा सांगठनिक र कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक समिति र उपमहासचिब प्रेम केसीको संयोजकत्वमा स्थानीय व्यवस्थापन समितिसमेत बैठकले गठन गरेको छ । अधिवेशन हुन बाँकी रहेका १५ वटा शाखाको अधिवेशन तथा बाँकी रहेको अन्य शाखाको समेत सदस्यता शुल्क माघ मसान्तभित्र केन्द्रीय कार्यालयमा नबुझाएमा महाधिवेशनमा मतदानको अधिकार नहुने बैठकले निर्णय गरेको छ ।
बैठकले चितवन शाखालाई उत्कृष्ट शाखा घोषणा गर्ने निर्णयसमेत गरेको छ । नेपालगञ्जमा हुने नवौँ महाधिवेशनले युनियनको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । यसअघि बैठकको शुभारम्भ गर्दै अध्यक्ष सिग्देलले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने माग गरे ।
सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष सुरेश आचार्य, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले सरकारले ल्याएका विधेयक जनपक्षीय हुनुपर्ने धारणा व्यक्त गरे । यसअघि युनियनको आठौँ राष्ट्रिय महाधिवेशन वि.सं.२०७१ भदौ २१ र २२ गते पोखरामा भएको थियो ।





