शिव गौतम
माघ ७, भरतपुर
नारायणगढको लायन्सचोक–पुलचोक सडकखण्डको किनारामा पानी ताल परेको हुन्छ । आकाशबाट परेको पानीको व्यवस्थापन गर्न नसक्दा सडक किनारामा हप्तौंसम्म पानी ताल पर्ने गरेको हो ।
सडकको किनारामा फोहर पानी ताल पर्दा शहरको सुन्दरतामा त असर पुगेको छ नै साथमा विभिन्न रोगको संक्रमण गराउने जिवाणुको खतरासमेत बढेको छ । हिउँदको समयमा नै दर्जनौं ठाउँमा यसरी पानी तालिँदा वर्षायाममा सडक किनाराको गति के होला अनुमान गर्न गाह्रो छैन । “फोहर पानी ताल पर्दा स्थानीय र पर्यटक दुवैलाई अप्ठ्यारो परेको छ”, एक स्थानीयले प्रश्न गरिन्, “यस्तो फोहर पार्ने हो भने पर्यटकले चितवनका बारेमा कस्तो धारणा बनाउलान् ?”

महानगरपालिकाले नियमित सडक किनाराको सरसफाइ गर्ने गरेको छ । तर, राजमार्गका छेउमा रहेका होटलहरूले फोहरलाई सडक किनारमा फाल्ने गर्दा ढलको प्वाल बुझिएर पनि पानी ताल पर्ने गरेको छ । त्यस्तै सडक किनारमा गाडी पार्क गरिँदा तिनको पाङ्ग्राले दबिएर पनि ढल जोड्ने च्यानल थुनिने गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष चन्द्रमित्र पण्डितका अनुसार पुङ्गीखोलामा पानीको मात्रा बढ्दा पानी सडकमा पस्ने गरेको छ ।

“कहिलेकाँही नजिकैको पुङ्गीखोलामा पानी ओभरफ्लो हुँदा राजमार्गमा पानी पस्ने गरेको छ”, उनले भने, “आकाशको पानी जम्ने गरेको चाँहि सडकको बनावटका कारण हो ” सडक विभागले ढल र सडकबीचमा खाली ठाउँ राखेकाले पानी जमेको उनको भनाइ थियो । सडक हुँदै बग्ने पानीलाई ढलमा छिर्न प्वालको व्यवस्था गरिए पनि फोहरले प्वाल थुनिँदा पानी ताल परेको वडाध्यक्ष पण्डितले बताए । “महानगरले दिउँसो सफा गर्छ । होटेल सञ्चालकहरूले लुकेर त्यहीँ फोहर फलिदिन्छन्”, उनले थपे, “सडक विभागले ढलसम्म नै बाटो पीच गर्ने हो भने पानी ताल पर्ने समस्या रोकिने थियो ।”
ढलका ढकनीमाथि मोटरसाइकल
सोही सडकखण्डमै केही ठाउँमा ढलका ढकनी फुट्दा पैदलयात्रीलाई हिँड्न समस्या भएको छ । फूटपाथमा मोटरसाइकल दौडाउँदा ढलको ढकनी भाँचिने गरेको छ । यद्यपि महानगरपालिकाले ती मोटरसाइकललाई ढकनीमाथिबाट हिँड्नमा रोक लगाउन भने सकेको देखिँदैन । “महानगरपालिकामा नयाँ ढकनी तयार अवस्थामा हुन्छन् । ढकनी फुटेको जानकारी पाउनासाथ मर्मत गर्ने गरेका छौं”, उनले सुनाए, “मोटरसाइकलहरूलाई पुरानो सब्जीमण्डीमा पार्क गरिदिन चालकहरूलाई आग्रह गरेका छौं । तर, फुटपाथमा मोटरसाइकल कुदाउनेहरूलाई रोक्न भने सकेका छैनौं ।”
लायन्सचोक–पुलचोक सडकखण्ड नेपालकै प्रमुख सडकखण्ड हो । दैनिक यही खण्ड हुँदै यात्रा गर्ने हजारौं मानिसहरूले त्यही सडक किनारा हेरेर महानगरपालिकाको चित्र परिकल्पना गर्ने गरेका हुन्छन् । भरतपुर महानगरपालिकालाई सुन्दर र पर्यटकीय गन्तव्यको रूपमा चिनाउन पनि यस्ता त्रुटीहरूको समाधान आवश्यक रहेको छ ।





