अक्सफोर्ड सहकारीको ठगी धन्दा:९ लाख ऋणलाई २० लाख भनेको आरोप

ध्रुवराज खनाल

रत्ननगर, ७ माघ

चितवनको खैरहनी–८, पर्सा बजारमा रहेको अक्सफोर्ड बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको आरोप एक ऋणीले लगाएकी छन् । खैरहनी–७, मझुईकी विमला चौधरीले आफूले ९ लाख ३० हजार ऋण लिएकोमा सहकारीले २० लाख रुपैयाँ लगेको भनेर किर्ते कागज बनाएको आरोप लगाइन् ।

आफूले २४ लाख ७४ हजार सहकारीलाई फिर्ता गरिसकेको दावी गरेकी छन् । चौधरीले दुई पटक गरेर ९ लाख ३० हजार ऋण लिएको स्वीकार गरेकी छन् । तर, “त्यत्रो रकम दिइसकें, अझै बाँकी छ भन्छन्”, चौधरीले भनिन्, “सोझाको फाइदा उठाउँदै खाली भरपाइमा सही गर्न लगाएर ऋण धेरै देखाइयो ।” सहकारी भने २० लाख रुपैयाँ ऋण दिएको दावी गर्छ ।

चौधरीले २०७४ मंसिरमा ५ लाख र चैतमा ४ लाख ३० हजार ऋण लिएकोमा ३ पटकको ब्याज ३ लाख ७५ हजार र चैत अन्तिममा कूल २४ लाख ७५ हजार तिरेको दावी गर्छिन् । चौधरीले लिएको ऋणलाई सहकारीले तीन पटक गरेर २० लाख रुपैयाँ सापटी दिएको बताएको छ ।

सापटी भनेर दिएको रकम नउठ्ने देखेपछि सहकारीले पछि जग्गा दृष्टिबन्धक गरी सापटीलाई ऋण बनाएको थियो । यसबीचमा चौधरीले मासिक ब्याजसमेत तिर्दै आएको बताएकी छन् । ब्याज तिर्दा सहकारीले कुनै रसिद पनि नदिएको विमलाले बताइन् । सहकारीले तीन वटा खाली भरपाईमा चौधरीको सही गराएर पछि रकम थपेको उनको भनाइ छ ।

यता सहकारीले भने चौधरीलाई केही समयको लागि २० लाख रुपैयाँ सापटी स्वरुप दिएको जनाएको छ । सहकारीले सापटी भनिरहँदा १८ प्रतिशत ब्याज भने लिएको बताउँछ । चौधरीले २० लाख रुपैयाँ लगेको र सोको साँवा र ब्याजबापत चैतमा चौधरीसँग बैंकमा गएर २१ लाख रुपैयाँ एकमुष्ट ल्याएको संस्थाका उपाध्यक्ष एवं ऋण समिति संयोजक राजकुमार सुयाँलले बताए ।

त्यसलगत्तै पुनः उनले आफ्नो ससुरा बुद्धिराम चौधरीको नाममा ८ लाख रुपैयाँ ऋण लिएको र सोको लागि जग्गा धितो राखेको चौधरीले बताइन् । सहकारीले समेत ८ लाख रुपैयाँ दिएको स्वीकार गरेको छ । ८ लाख नगद दिँदासमेत भरपाई भने १४ लाखको फेलापरेको छ ।

यसले सहकारीले आन्तरिकरुपमा कागजपत्र मिलाई ऋणीहरुलाई ठगी गरेको प्रष्ट देखिएको छ । यो खबर बाहिर आउने डरले सहकारीले अहिले पीडित महिला र परिवारलाई जग्गा फुकुवा गरिदिने र कुनै पनि लेनदेन बाँकी नरहेको कागज गर्न दबाब दिइरहेको छ । चितवन जिल्ला सहकारी संघका उपाध्यक्ष हरिप्रसाद पौडेलले सामान्यतया सहकारीले व्यक्तिलाई सापटी भनेर रकम दिन नमिल्ने बताउँछन् । तर, सहकारीहरुले आफ्नो विनियम बनाउने हुँदा सो सहकारीको विनियम हेर्नुपर्ने उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट