‘आँखा र आँखाहरु’ पढेपछि (समीक्षा)

प्रकृति प्रेमी

नेपाली साहित्यको प्रमुख विधामध्ये कथा पनि एउटा हो । अहिलेसम्म आइपुग्दा केही स्रष्टाहरुले आफूलाई कथाकारकै रुपमा स्थापित समेत गरिसकेका छन् । यसमा महिला कथाकारहरु पनि समेटिन्छन् । पारिजात, माया ठकुरी यसका ज्वलन्त नाम हुन् । पछिल्लो समय मोफसलमा रहेर पनि चर्चाको शिखरमा छिन् कथाकार सुमित्रा न्यौपाने ।
२०७५ मा भएको राष्ट्रिय कथा प्रतियोगितामा तृतीय स्थान हासिल गरेपछि उनको उचाइ थप चुलिएको छ । उनको पहिलो कृति, कथा सङ्ग्रह ‘आँखा र आँखाहरु’ (२०७१) माथि केन्द्रित रहेर टिप्पणी गर्ने दुस्साहस गरिएको छ ।
आँखा र आँखाहरु कथा सङ्ग्रहमा ‘सपना र पलाँसहरु’ , ‘बन्द आवरण’, ‘आँखा र आँखाहरु’, ‘सम्बन्ध’, ‘नियति’, ‘अदिती’, ‘अनभिज्ञता’, ‘रगतको नाता’, ‘अधिकार’, ‘सतीसाल’, ‘विवाहित कुमारी’, ‘प्रारब्ध’, ‘फैसला’, र ‘एक अध्याय’ गरी जम्मा चौध वटा कथाहरु सङग्रहित छन् ।
‘पूर्णिमा साहित्य प्रतिष्ठान’ले प्रकाशन गरेको संग्र्रहमा प्रतिष्ठानका उपाध्यक्ष पुष्कर रिजाल ‘पुप्प’ को प्रकाशकीय लेख, सनत रेग्मी र नयनराज पाण्डे तथा सम्पादक महानन्द ढकालको शुभकामनाले सुसज्जित छ । सुन्दर आवरण चित्र विक्रम शिशिरले तयार पारेका हुन् भने लेआउट तथा डिजाइनको सम्पूर्ण जिम्मा लक्ष्मी भट्टराईले लिएकी हुन् । यो कथा सङ्ग्रह शब्दघर छापाखाना, काठमाडौंबाट छापिएको हो ।
‘सपना र पलाँसहरु’ कथाको मुख्यपात्र सुमनको अमेरिकाप्रति उच्च मोह छ । डिभी परेकी सलुसँग कागजी विहे गरेर अमेरिका सिर्जित समस्या, छोरा युगल दूव्र्यसनीको शिकार बन्न पुगेको तथा उसकी श्रीमती सरला पनि जीविकोपार्जनकै निमित्त यौन व्यवसायमा लागेको सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।
‘बन्द आवरण’ कथामा जागिरे आमाबुबाबाट कमी भएको माया पाउन मोहिनी निमालसँगको प्रेममा पर्छे, शारीरिक समागमनपछि छोरी जन्मिन्छे तर पैतृक सम्पत्तिको घमण्ड र रवाफिलो जीवनशैली छाड्न नसक्दा छोरी र गरिब श्रीमान् त्यागेर माइत गएर बस्छे ।
समय बित्दै जान्छ, अध्ययन सकेर मोहिनी व्यवसायमा लाग्छे, व्यावसायिक भेटघाटकै क्रममा उसको आफ्नै छोरी मोनिकासँग भेट हुन्छ, लामो समयसम्म नचिने पनि कुरा कानीमा ससंकित बनेकी उसले पछि मात्रै पुरानो तस्बिरका कारण चिन्छे छोरीलाई ।
‘आँखा र आँखाहरु’ सङ्ग्रहको शीर्षक कथा हो । एउटी दृष्टिविहीन बालिका गंगा जसले हजुरबा, ममी कस्ता होलान् ? फूल कस्तो होला ? घरमा पालेको भोटे कुकुर कस्तो होला ? छाम्दा साह्रो हुने गमलाको रुप कस्तो होला ? स्कुलमा पढेका प्राकृतिक छटा, भौगोलिक सुन्दरता कस्ता होलान् ? जस्ता अनेकौं अनेक आफ्नै प्रश्नहरुको जवाफ मृत्युशैयामा रहेका आफ्नो हजुरबाको मृत्युपछि पाउनेछिन् । यो कथाले पाठकहरुलाई निकै भावुक बनाउँछ ।
हामी हिन्दु संस्कारमा जन्मे, हुर्किएकाहरुमा चाडपर्वहरुमा आफन्त दिदीबहिनीहरुको आवश्यकता महशुस गरिन्छ, अझ तिहारमा दाजुभाइले दिदीबहिनी र दिदीबहिनीले दाजुभाइबाट टीका ग्रहण गरिन्छ । म र मेरो भाइले अहिलेसम्म सानीआमा, मामा र काकाको छोरीहरुबाट टीका लगाउँदै आएका छौँ । हाम्रा चाडपर्वहरु आत्मियताका कडी बन्ने गरेका छन् । “सम्बन्ध” कथा पनि यस्तै विषयमाथि केन्द्रित छ ।
शंकर आमाबुबा लिएर आफ्नै साथी सविनालाई विवाहका लागि हेर्न गएका थिए सविनाले आफ्नो दाजुभाइ नभएको कारण सबैले हेप्ने गरेको बताइन् । सबैको स्वीकृतिपछि सविना र उनका बहिनीहरुले शंकरलाई दाजु बनाएर राखी बानिदिन्छन् र कथा टुंगिन्छ । कथाले सोचेकोभन्दा फरक मोड लिन्छ ।
‘अनभिज्ञता’ कथा चितवनकै सेरोफेरोमा बुनिएको छ । आफ्नै दाजुसँग विवाह गर्न लागेकी साथी वर्षालाई विवाहकै दिन उसको प्रेमी गृष्मसँग विवाह गराइदिएकी थिइन् उनकी साथीले ।
वर्षालाई उसकै प्रेमीसँग विवाह गराइदिएपछि खुशी हुने कि हुनेवाला भाउजूलाई दाइबाट छुटाएकोमा दुखी हुने ? अनुत्तरित प्रश्नले म पात्रलाई मात्रै होइन पाठकहरुलाई पनि अनुत्तरित बनाउँछ । अनभिज्ञतावश भएको गल्तीको वरिपरि कथा घुमेको छ ।

पहिरोमा आमाबुबा, दिदीभाइ सबै गुमाएर मामाघरमा दुःख खेपिरहेकी बुनुको कथाले धेरैपटक भावविह्वल गरायो । बिहानै उठ्नु, गोबर सोहोर्नु, गाई भैसीको स्याहार गर्नु, कहिले आधापेट त कहिले खाली पेट दिनभर बाख्रा चराउन जानू, भाँडा माझ्नु, घाँस काट्नु सधैं माइजूको टोकसो सुन्नु उनको दैनिकी थियो ।
यी सबै कुरा थाहा पाएर पल्टनमा रहेका मामाले उच्चशिक्षासम्मको अध्ययनका लागि सैनिक विद्यालयमा पढाउन लगेको विषयवस्तुले “नियति” को कथा बुनिएको छ ।
“अदिति” कथामा प्रेम छ, विश्वास छ । धनी र गरिबबीचको कथित भेदभावका कारण एकअर्काबाट छुटाएर अर्कैसँग बिहे गर्न पुगेकी अदितिले आद्योपान्त आफ्नै प्रेमि सन्तोषसङ्ग गरेको माया अवर्णनीय छ ।
आफ्नै साथी पुष्पासङ्ग सन्तोषको विवाह हुन लागेको थाहा पाएपछि कुनै बेला सन्तोषले अदितिलाई दिएका सबै उपहारहरु पुष्पालाई फिर्ता दिएकी र सन्तोषलाई सधैं माया गरिरहन आग्रह गरेको कुरा कथाको मुल विषयवस्तु हो ।
‘रगतको नाता’ मा आमा मरेपछि सौतेनी आमाको गालीगलौज, तिरस्कार र अपमान सहन नसकेपछि सूर्यकलाले आफ्नी सानी बहिनीलाई लिएर घरबाट निस्कन्छे । तत्पश्चात बाँच्नका लागि, बहिनी आर्जुलाई पढाउनका लागि सुर्यकलाले गरेका संघर्षहरु, दुःख र त्यागको कथा छ ।
समसामयिक घटनालाई विषयवस्तु बनाएर लेखिएको कथा ‘सतीसाल’ मा मौसम छन्, सरु छिन्, दुबै जागिरे छन् । उनीहरुका छोराछोरी छन् जो विद्यालयसमेत जान्छन् । तर, मौसमको अफिसमा काम गर्ने जुनुले कफीमा उत्तेजना ल्याउने औषधि मिसाएपछि गाँसिएको सम्बन्धबाट छोरा जन्मन्छन् । यो थाहा पाएपछि यता सरुले मौसमलाई माफ गर्न सक्दिनन्, उता जुनुले मौसमको माया पाउन सक्दिनन् । कथा यसरी टुंगिएको छ ।
सानुका बुबाको सधैं रक्सी पिउने, झगडा गर्ने अनि पुर्खाैैली सम्पत्ति, जग्गा बेचेर दुईचार महिना हराउने बानीले दिक्क भएर सानु काठमाडौं गएर पढ्छे । यसै क्रममा सानुको उमेशसँगको भेट र सामिप्यताले प्रेमको बिरुवा हुर्कन्छ र बिहे गर्छन् उनीहरु । तर, बिहेलगत्तै सानुले आफ्नो बुबालाई निमेशको ड्याडीको रुपमा देखेपछि बेहोश हुन्छे ।
दाजुबहिनीबिच बिबाह भए पनि आफ्नै बुबाको दोहोरो चरित्रको कारण दाजुबहिनीबीच हुन लागेको पापको सम्बन्धबाट ऊ जोगिन्छे, शारीरिक सम्बन्धबाट दुबै जना जोगिन्छन् । यसरी ऊ विवाहित हुन्छे । तर, कुमारित्व बचाउन सकेकोमा ‘विवाहित कुमारी’ हुन्छे ।
बाल विवाह गरेकी बसन्ती लोग्नेको देहावसानपछि पाँच छोराछोरीमध्ये बाँकी रहेका तीन छोराछोरीलाई राम्ररी हुर्काउँछे, पढाउँछे । छोरी एसिया डिभी परेर अमेरिका, कान्छी छोरी एरिया अष्ट्रेलिया तथा छोरा अनुज बेलायत थिए । पैसाको कुनै कमी थिएन बसन्तीलाई । पशुपतिक्षेत्रमा रहेको वृद्धाश्रममा दान गर्थिन् । तर, भाग्यको खेला उनी भ¥याङबाट लडेर घाइते भइन्, छोराछोरी कसैको पनि मुख नदेखी आफ्नी बालसखी चम्पाको काखमा प्राण उत्सर्जन गरिन् ।
गृहयुद्धका बेला विद्रोही पक्षले अपहरण गरेर लडाकु बनाएपछि दुई, तीन पटक पुगेको थियो विजय घरमा । पछि वृन्दाबाट छोरा आर्यन जन्मन्छ । देशमा शान्ति आयो । विजय घर फर्कन्छन् र सामान्य व्यवसायमा लाग्छ । दिन बित्दै जान्छ आर्य वर्णका बाबुआमाबाट जन्मिएको छोरा मंगोलियन देखिँदै जान्छ । विजय अचम्म पर्छन् । छोरामाथि शंका लाग्छ त्यो भन्दा बढी श्रीमतीमाथि ।
यो मेरो छोरा होइन भनेर उनले मुद्दा हाल्छन् । जिल्ला र पुनरावेदन अदालतमा हारेपछि सर्वोच्चमा मुद्दा पुग्छ । डिएनए रिपोर्टका आधारमा सौम्य विजयको छोरा नभएको फैसला अदालतले सुनाउँछ र कथा टुंगिन्छ । कथा वास्तविक घटनामा आधारित जस्तो लाग्छ । यो कथा केही लामो भएर पनि निकै मार्मिक र मन छुने छ । कथा पढ्दै जाँदा कथाका पात्रहरुको साक्षी बक्न अदालतनै पुगेको भान हुन्छ ।
सङ्ग्रहको अन्तिम कथाको रुपमा ‘एक अध्याय’ रहेको छ । यो कथामा कथाकारको चातुर्यता देखिन्छ । कथाकै माध्यामबाट आफ्ना कुरा कथनात्मक शैलीमा पाठकहरुलाई सुनाउँछिन् । मेरा कुरा, मेरो भनाइ वा दुई शब्द भनेर कृतिको सुरुमा लेखिने जुन प्रचलन रहेको छ । त्यसलाई फरक शैली अपनाएको कुरा कथाको अन्तमा मात्र थाहा हुन्छ । आफ्नै विषयवस्तुलाई सन्तुलित तरिकाले भन्न सक्नु कथाकारको चातुर्यता, विवेकसीलता एवं क्षमता पनि हो ।
यस कथाकी मुख्य पात्र सुमिता हुन् । गुल्मी माझगाउँमा जन्मी हुर्किएकी उनी उच्चशिक्षाका लागि नेपालगन्ज आउँछिन् । साहित्य अध्ययन र लेखनमा कलम बढ्दै जान्छ उनको । गजलकार, साहित्यकार महानन्द ढकालसँग मागी विवाह पश्चात् छोरीहरु आयुष्मा र आरुषी (आर्या) जन्मिन्छन् । शिक्षा आयोगबाट मा.वि.तहको शिक्षकमा नाम निकालेर स्थायी हुन्छिन् ।
यसरी उनको दैनिकी चलिरहेकै अवस्थामा कथा सङग्रह निकाल्ने तयारी हुन्छ । शीर्षक छनौट, विषयवस्तु निर्धारण, पात्र र परिवेश चित्रण, शुभकामना लेखनलगायत सबैमा साथ दिने वरिष्ठ एवं समकालीन स्रष्टाहरुलाई धन्यवाद दिन्छिन् । सम्झिन्छिन् र सुमिता नामकी मुख्य पात्र सुमित्रा न्यौपानेको रुपमा उपस्थित भएपछि ‘एक अध्याय’ कथाको पनि समाप्ति हुन्छ ।
‘आँखा र आँखाहरु’ कथा सङग्रहमा समाविष्ट कथाहरु मौलिक छन् । पठनीय छन् । पात्रहरुले कथामा न्याय गरेका छन् । पात्र छनौट र परिवेश उचित प्रकारको छ । हरेक कथाहरु पाठकको मन तान्न सफल छन् । उपर्युक्त शीर्षकको प्रयोगले कथा जीवन्त बनेका छन् ।
कथाहरुमा मानवीय समवेदनाको उच्चतम प्रयोग गरिएको छ । कथा पढ्दै गर्दा कृतिमता कहीं भेटिँदैन । पुरुषहरु मात्रै होइनन् नारीहरु स्वयं नारीकै विपक्षमा उत्रिन्छन् भन्ने कुरा सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । माओवादी द्वन्द्वको कथांशसमेत राम्रो तरिकाले प्रस्तुत गरिएको छ ।
कुनै–कुनै कथामा स्थानविशेषको वर्णन गर्दै गर्दा पाठकलाई त्यही ठाउँमा पुगेको अनुभूति दिलाउन नसक्नु कथाकारको केही कमजोरी देखिन्छ । जस्तो कि भरतपुर वा नारायणगढ, कोहलपुर वा नेपालगञ्ज या गुल्मी नै किन नहोस् यी ठाउँहरुको सजीव चित्रण गर्न नसक्नु कथाकारको कमजोरी मान्छु म ।
त्यस्तै प्रेयसी, आफूले प्रेम गरेकी युवती वा प्रेमिका जसको वर्णनमा पुरानै शैलीको प्रयोग छ, जुन पृथक लागेन मलाई । ‘आँखा र आँखाहरु’ कथामा गंगाको हजुरबुबालाई अस्पताल पु¥याएर अन्तिम श्वास जान दिएको भए अझै सान्दर्भिक हुने थियो । कथाकार बाँकेमै बसोबास गर्ने भएकोले वादी समुदाय र बहुसंख्यक थारु समुदायका कथा बुनिएको भए सङ्ग्रह अझै उत्कृष्ट बन्ने थियो सायद ।
२०७१ सालमा प्रकाशित भएको कथा सङ्ग्रह आँखा र आँखाहरु चर्चाको शिखरमा रहिरहेको छ । आगामी दिनमा कथाकार सुमित्रा न्यौपानेका थुप्रै कथा कृतिहरु प्रकाशन हुन सकून् र सगरमाथाको शिखर चुम्न सकून् शुभकामना छ ।

कलाकुञ्ज, चितवन

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट