भरतपुर, १७ पुस
सरुवा भएको १३ दिन हुँदा पनि तोकिएको ठाउँमा नगएपछि चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ललाई ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले ताकेता गरेको छ । १२ घण्टाभित्र सरुवा भएको ठाउँमा जान प्रदेश कार्यालयले निर्देशन दिए पनि प्रहरी उपरीक्षक (एसपी) मल्लले बेवास्ता गरेका छन् ।
गत पुस ४ गते विभिन्न ठाउँमा सरुवा भएका अरु २३ जनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय पठाइएका मल्लले चितवन छाडेका थिएनन् । उच्च राजनीतिक शक्तिकेन्द्रको दबाब आएपछि मल्लको सरूवा कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको चर्चा चलेको थियो ।
मल्लले रमाना नलिएपछि चितवनको प्रहरी प्रमुखमा सरुवा भएकी एसपी गंगा पन्तले जिम्मेवारी सम्हाल्न पाएकी छ्रैनन् । प्रदेश प्रहरी कार्यालयले बुधबार साँझ लिखित पत्रमार्फत चितवनमा कार्यरत डीएसपीलाई चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरबन्दीमा रमाना गरी सोको जानकारी दिन भनेको थियो ।
तर, उनले प्रदेश कार्यालयलाई पनि टेरेनन् । उनी चितवन छोडेर नजाने अडानमा छन् । “म चितवन दरबन्दी भएको मान्छे अन्त किन जानु ?”, कायाकैरनसँग बिहीबार साँझ फोनमा उनले भने, “यो विषयमा मेरो थप प्रतिक्रिया केही छैन ।”
प्रदेशको पत्रानुसार उनले बिहीबार साँझसम्म त्रिभवुन विमानस्थल सुरक्षा कार्यालयमा हाजिर भइसक्नुपर्ने थियो । तर, उनी बिहीबार दिनभर चितवनमै खटिए ।





