ध्रुवराज खनाल
रत्ननगर, १६ पुस
३ नम्बर प्रदेश सरकारले नेपालकै तेस्रो तथा प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य सौराहाबाट भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ । सौराहाका बुधबार औपचारिक कार्यक्रम गरेर प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ गरेको हो ।

प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलगायत प्रदेशका मन्त्रीहरुले संयुक्तरुपमा भ्रमण वर्षको बेलुन उडाउनुका साथै प्रदेशको लोगो सार्वजनिक गरेर भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । सोही अवसरमा जिल्ला समन्वय समिति चितवनले जिल्लाका पर्यटकीय गन्तव्यलाई समेटेर तयार पारेको पर्यटन वृत्तचित्रसमेत सार्वजनिक गरिएको छ । कार्यक्रम शुभारम्भअघि सौराहाको हात्ती चोकदेखि गैंडाचोकसम्म प्रदेशका विभिन्न जातजातिको संस्कृति प्रदर्शन गरिएको थियो ।
काठमाडौंको ठमेलमा मंगलबार ‘स्ट्रीट कल्चर डान्स’ कार्यक्रम गरेको प्रदेश सरकारले बुधबार सौराहामा औपचारिक कार्यक्रम गरेर भ्रमण वर्षको शुभारम्भ गरियो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभामुख श्रेष्ठले प्रदेश ३ नेपालकै उत्कृष्ट पर्यटकीय प्रदेश बन्ने दाबी गरे । “प्रदेश ३ भौगोलिक र सांस्कृतिक विविधताले धनी छ”, सभामुख श्रेष्ठले भने, “उत्कृष्ट गन्तव्य बनाउन साझेदारीमा काम गर्नुपर्छ ।”
प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले प्रदेशको पर्यटन पूर्वाधारका लागि चालु आर्थिक वर्षमा १ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरेको बताए । “दिगो पर्यटन विकासका लागि यो वर्ष पर्याप्त बजेट छ”, मन्त्री नेपालले भने, “बृहत साझेदारीमा वातावरणलाई सन्तुलनमा राखी पर्यटनको विकास गर्नुपर्छ ।” मन्त्री नेपालका अनुसार यस वर्ष प्रदेशले १० वटा हिल स्टेशन, १० वटा पर्यटन गन्तव्य पूर्वाधार निर्माण, ११९ तहमा तीन–तीन वटा गन्तव्य पहिचान गर्न लागेको छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जिल्लाभर पर्यटन गतिविधि बढाएर भ्रमण वर्षमा ४ लाख पर्यटक भित्र्याउने योजना रहेको बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दीपक भट्टराई, प्रदेशको पर्यटन मन्त्रालयका सचिव शिवकुमार वाग्लेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।





