रत्ननगर, १६ पुस
सौराहामा जारी हात्ती महोत्सवमा बुधबार हात्तीलाई पिकनिक गराइएको छ । महोत्सवको सातौं दिन बाघमारा चौरमा करिब एक सय हात्तीलाई विभिन्न खाना खुवाइएको हो । लावालस्करमा बसेका हात्ती अनेक परिकार खाएर रमाए ।

१६ औं हात्ती महोत्सवको आयोजना गरेको क्षेत्रीय होटल संघ नेपाल चितवनले हात्तीका लागि पिकनिक आयोजना गरेको हो । हात्तीका लागि स्याउ, सुन्तला, केरा, उखुलगायत परिकार खुवाइएको थियो । चितवनका सफारीमा प्रयोग हुने झण्डै सय हात्तीलाई वनभोजमा सहभागी गराइएको हात्ती पिकनिक कार्यक्रमका संयोजक ध्रुव गिरीले बताए । हात्तीको वनभोज हेर्न सौराहा आएका आन्तरिक तथा बाह्य पर्यटकको भीड थियो । नेपालमा जंगली र घरपालुवा गरी करिब ५ सय हात्ती रहेको तथ्यांक छ । विश्वभर ३५ देखी ४० हजार हात्ती रहेको अनुमान छ ।





