विप्लव काफ्ले
भरतपुर, १६ पुस
च्याउ उत्पादक किसानले ‘च्याउसम्बन्धी राष्ट्रिय नीति’ को माग गरेका छन् । च्याउ उत्पादक किसान संघ नेपालले पुस ९ गतेबाट सुरु गरेकोे ‘राष्ट्रिय च्याउ जागरण अभियान’अन्तर्गत नारायणगढमा आयोजना गरिएको अन्तरक्रियामा किसानहरुले च्याउ क्षेत्रलाई सरकारले बेवास्ता गरेको दुखेसो पोखे ।

संघका केन्द्रीय अध्यक्ष प्रेमनारायण अधिकारीले सरकारी नीति तथा कार्यक्रममा ‘च्याउ’ शव्दनै लोप भएको बताए । “राष्ट्रिय निती चाहियो, ल्याव, विउ बैंक, अनुसन्धान केन्द्र बनाउनुप¥यो भन्दै आइरहेका छौँ”, उनले भने, “तर, अहिलेसम्म च्याउ उत्पादन गर्न न बजेट विनियोजन भएको छ, न कुनै योजना बनेका छन् ।” उनले विदेशबाट अनाधिकृत रुपमा भित्रने च्याउका कारण स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको बताए । “च्याउ खेतीबाट करिव ३५ हजारले रोजगारी पाएका छन्, ३ अर्ब बराबरको कारोबार हुन्छ”, उनले भने, “तर, सरकारी चासोमा च्याउ पर्नै सकेन ।” अस्थिर सरकार, कर्मचारी हेरफेरका कारण धेरै वर्षदेखि राष्ट्रिय निती बनाउन दिइएको दबाब समेत कार्यान्वयन हुन नसकेको सम्झे । “अहिले स्थिर सरकार छ, तीनै तहका सरकार छन्, सातै प्रदेशमा जागरण अभियान चलाएका छौँ”, उनले भने, “च्याउ किसानको हितमा सरकारले सोच्लान् भन्ने आशा लिएका छौँ ।”
नेपालमा मात्रै पाइने १ सय ३१ च्याउका जात छन् । सन् १९७३ मा पहिलो पटक कन्ये च्याउको उत्पादन सुरु भएको पाइन्छ । नेपालमा हाल कन्ये, गोब्रे, दूधे र सिताके जातका च्याउको व्यावसायिक खेती गरिँदै आएको छ । इरिंगे, गानोदर्मा, यार्चागुम्बा लगायतका दुर्लभ र बहुमूल्य च्याउको अध्ययन, अनुसन्धानले गती लिन सकेको छैन । कन्ये ८० लाख, गोब्रे ९ लाख, सिताके १ लाख ५० हजार, दूधे २ हजार केजी वार्षिक उत्पादन हुने अनुमान छ । ४२ जिल्लामा च्याउको व्यवसायीक खेती हुदै आएको छ ।
कार्यपत्र प्रस्तुत गर्दै पूर्वमन्त्री, नेकपाका केन्द्रीय सदस्य तथा च्याउ उत्पादक किसान केशवलाल श्रेष्ठले १० वर्षसम्म च्याउमा कर मिनाहा गर्नुपर्ने बताए । “युवालाई आकर्षित गर्न उत्पादनका आधारमा मूल्यमा ५० प्रतिशत अनुदान, मेसीन तथा उपकरणमा ७० प्रतिशत अनुदान दिने निती बनाउनुपर्छ”, उनले भने, “१० वर्षसम्म च्याउमा कुनै कर नलाग्ने निती बनाउन सके उत्पादन लागत बढ्नेछ, च्याउमा नेपाल आत्मनिर्भर हुनेछ, विदेशमा निर्यात गर्ने अवस्था पुग्नेछ ।”
उनले अझै पनि परम्परागत शैलीमा च्याउ खेती गर्ने अवस्था रहेकाले प्रविधि, सीपबारे तालिम दिनुपर्ने बताए । च्याउको नियमित उपभोगले रोग प्रतिरोधक क्षमता विकास हुने, पोषण प्राप्त हुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । च्याउ ‘फ्याट र कोलोस्टोरोल फ्रि’ हुन्छ ।
भारतबाट दैनिक ५ हजार केजी च्याउ काठमाडौं भित्रने गर्छ । “माग बढेको छ, स्वदेशी उत्पादनले पुग्दैन”, केन्द्रीय अध्यक्ष अधिकारीले भने, “स्वदेशी किसानलाई प्रोत्साहन गर्ने हो भने विदेश निर्यातसम्म गर्ने सम्भावना छ ।” उनले निजी क्षेत्रका ठूला ४५ ल्यावबाट नेपालमा बिउ उत्पादन भइरहेको बताए । २० दिनमै उत्पादन लिन सकिने, धेै जग्गा नचाहिने, हावापानी सुहाउँदो भएकाले नेपाललाई च्याउमा आत्मनिर्भर बनाउन सकिने प्रचुर सम्भावना रहेको बताए ।
चितवन च्याउ उत्पादन संघका अध्यक्ष बाबुराम केसीले संकलन केन्द्र निर्माणका लागि स्थानीय सरकारले चासो दिनुपर्ने बताए । “चितवनमा दैनिक ३ हजार केजी च्याउ उत्पादन भएको छ, ३० जना व्यवसायीक किसान छन्”, उनले भने, “संकलन केन्द्र नहुदा बिक्रि गर्न अप्ठ्यारो छ, संकलन केन्द्र निर्माण गर्न पहल हुनुपर्छ ।” उनले च्याउ उत्पादन गर्न आवश्यक पराल समेत बाहिरी जिल्लाबाट ल्याउनुपरेको बताए ।
मकवानपुरका च्याउ उत्पादक किसामन उमेश गौतमले किसानलाई वर्गीकरण अनुदान वितरण गर्नुपर्ने बताए । “५ लाख अनुदान लिन ५ लाख लगानी गर्नुपर्ने अवस्था छ”, उनले भने, “साना, ठुला सबै किसानलाई समेट्ने निती बन्नुपर्छ, झोला बोक्ने र पहुँच भएकालाई मात्रै अनुदान दिने परिस्थित हटाउनुपर्छ ।” किसानहरुले कर्जा लिन खोज्दा वित्तिय संस्थाले सहजै नदिने गरेको बताए ।
जागरण अभियान २९ गते काठ्माण्डौ पुगेर समापन हुनेछ । नारायणगढमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य विजय सुवेदीले च्याउ उत्पादन बढाउन विशेष कार्यक्रमको आवश्यकता देखिएको बताए ।





