भाषा, कला र साहित्य देशका पहिचान हुन्ः लीला दाहाल अधिकारी

कायाकैरन दैनिकको साप्ताहिक साहित्यिक परिशिष्ट शनिबासरीयको ‘मेरो सिर्जना’ स्तम्भमा मंसिर महिनाको पाहुना थिइन् लीला दाहाल अधिकारी । अघिल्ला शनिबारका श्रृंखलामा उनको समग्र साहित्यिक लेखनीबारे धेरथोर चर्चा ग¥यौं । लामो समयदेखि साहित्य सिर्जना गरिरहेकी अधिकारीको रुचि विशेषगरी गजल लेखनमा छ । उनले अहिलेसम्म थुप्रै गजल लेखेकी छन् । उनी पूर्वी चितवन गजल मञ्चकी उपाध्यक्ष हुन् । गजल मञ्च चितवनकी आजीवन सदस्य उनी पूर्वी चितवन साहित्य समाजमा अध्यक्ष छिन् । उनी रेडक्रसलगायतका सामाजिक संघसंस्थामा पनि आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य रहेकी उनी युवा रेडक्रस सर्कल अन्नपूर्ण शिशु निकेतनकी शिक्षक नायक हुन् । सामाजिक क्रियाकलापमा पनि सक्रिय स्रस्टा अधिकारीसँग हामीले समग्र साहित्य सन्दर्भमा रहेर कुराकानी गरेका छौं । शनिबासरीय परिशिष्टका लागि सिर्जनात्मक सहयात्राको अन्तिम श्रृंखला(मंसिर २८) सम्मको साहित्यिक सहकार्यका लागि हार्दिक आभार व्यक्त गर्दछौं । यस अन्तिम श्रृंखलामा उनीसँग लेखराम सापकोटाले गरेको कुराकानी समेटेका छौं ।

हिजोआज तपाईंको साहित्य लेखनको सिलसिला कसरी चल्दैछ ?
धन्यवाद । हिजोआज अलि व्यस्त भएकोले साहित्य लेखनलाई त्यति धेरै समय दिन सकेको छैन । स्रष्टाको रुचिलाई व्यस्त समय र कुनै पनि तनावले सामान्य प्रभाव त पार्न सक्ला । तर, सिर्जनाको क्रम भने रोक्न सक्दैन । त्यसैले समय निकालेर केही न केही कोर्ने गरेको छु । समय सन्दर्भका पत्रपत्रिकामा लेख, समीक्षा र खासगरी आख्यान सिर्जनालाई अगाडि बढाउँदै छु ।

कुन विधामा कलम चलाउँदा आफूले चाहेजस्तो खरर सिर्जना गरिएको झैं लाग्छ ?
लेख्न त म कविता, गजल, मुक्तक, कथा, अन्य सान्दर्भिक लेख, यात्रा स्मरण, समीक्षा आदि लेख्छु । तर, साहित्यका अरु विधाभन्दा मलाई आख्यानमा नै आफूले चाहेजस्तो लेख्न सक्छु जस्तो लाग्छ । यस विधामा लेख्दा छन्द अलङ्कार, बहरजस्ता कुनै पनि अंकुशले बाँधिनु पर्दैन । आख्यान लेख्दा आफ्नै दैनिक जीवनलाई व्यक्त गरेझैँ सहज लाग्छ र जीवनमा मन नपरेका कुरा भोग्नुपर्दाको असन्तुष्टि र भोकलाई पनि पात्रको माध्यमद्वारा व्यक्त गरी सन्तुष्टि लिन सकिन्छ । आख्यान लेख्दा आफ्ना विचार र अभिव्यक्ति निर्वाधरुपमा पोख्न मिल्ने भएकोले यस विधामा मेरो कलम चलाउँदा खरर चाहेजस्तो सिर्जना गरिएको झैं लाग्छ ।

चितवनमा महिला सर्जकहरू कत्तिको सिर्जनशील छन् ?
चितवन साहित्य सिर्जना र साहित्य गतिविधिमा निकै अगाडि बढेको छ । गजलको राजधानी पनि मानिएको चितवनमा महिला सर्जकहरु पनि उत्तिकै सिर्जनशील छन् । तर, पनि महिलाहरुलाई घर व्यबहार वा काम व्यस्तताले गर्दा चाहे जति लेख्न नसकेका हुन् कि जस्तो लाग्छ । लेखिहाले पनि परिवारको सहयोग नहुँदा कति महिला अघि बढ्न सकेका छैनन् । महिलालाई हेर्ने दृष्टि अझै पनि सकारात्मक बनेको छैन । तै पनि चितवनका महिला सर्जकहरुले सम्भावनाका भिरमा पैतालाले टेकेर साहित्य सिर्जना अघि बढाएका छन् ।

सिर्जनशील बन्न अध्ययन गर्नैपर्छ कि यत्तिकै देखेरै, भोगेरै पनि सिर्जनशील बनिन्छ ?
कि पढेर जानिन्छ, कि परेर भनेजस्तै कति कुरा मानिसले भोगेर र देखेर पनि लेख्न सक्छन् । तर, साहित्य लेखनमा अध्ययनको ठूलो महत्व हुन्छ । अध्ययनविना साहित्य सिर्जना अधुरो र अपुरो हुन्छ । हामीले आफ्नो साहित्य क्षेत्र अघि बढाउनु छ भने पहिले अध्ययनमा नै जोड दिनुपर्दछ । अध्ययनमा ठूलो शक्ति छ । त्यसैले साहित्यमा सिर्जनशील बन्न अध्ययनको ज्यादै खाँचो छ ।

साहित्य सिर्जना र गतिविधिमा लाग्न महिलालाई कत्तिको सजिलो छ ?
साहित्य सिर्जना र गतिविधिमा लाग्न महिलालाई निकै कठिन छ । मैले माथि नै भनिसकेको छु कि महिलाले घर परिवार, बालबच्चा सम्हाल्नुपर्ने भएकोले पहिलो कुरो बढी व्यस्त हुन्छन् । दोस्रो कुरो, समय मिलाएर केही सिर्जना गरिहाले पनि पुस्तक प्रकाशन गर्न सहयोग पाउँदैनन् । आफूले लेखेका कयौं सिर्जना महिलाहरुले घरभित्रै थन्क्याएर बसेका छन् । घर परिवारको सहयोग पाउने भाग्यमानी थोरै महिला छन् यहाँ। झन् साहित्य गतिविधिमा अगाडि बढ्न त कति गाह्रो छ कति । हिजोआज विभिन्न साहित्य गतिविधि हुने गर्दछन् । तर, कति कार्यक्रममा महिलाहरु चाहेर पनि उपस्थित पाउँदैनन् । मेरै हकमा भन्दा पनि मैले कतिपटक विद्रोह गर्नुपरेको छ । समाजमा बस्ने सबैको सकारात्मक सोचाइ हुँदैन । यस्तै नकारात्मक सोचाइ भएको मान्छेले एकपटक मेरो परिवारमा आएर साहित्य गतिविधिमा लाग्ने सबै मानिस बिग्रेका हुन्छन् भनेछन् । मलाई घरपरिवारबाट प्रश्न गरियो । मैले राम्रोसँग आफ्नो परिवारलाई कुरा बुझाउन सकें । चितवन जिल्लाजस्तो शिक्षित जिल्लामा त यस्तो परिस्थिति आउँछ भने दुर्गम ठाउँमा बस्ने महिलाहरुले कति संघर्ष गर्नुपर्ला एकपटक सोच्नुहोस् त ! कति मानिसहरु आफूले पनि केहि नगर्ने र अरुले राम्रो गरेको र अघि बढेको देखिनसहने बानी हुन्छ । जबसम्म यस्ता नकारात्मक सोचाइलाई परिवर्तन गर्न सकिँदैन र महिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिँदैन, तबसम्म महिलाहरु साहित्य सिर्जना र गतिविधिमा अघि बढ्न अप्ठ्यारो छ । तर, पनि कति महिलाहरु अप्ठ्याराहरु पन्छाएर अघि बढीरहनु भएको छ, यो देख्दाचाहिँ खुसी लाग्छ ।

तपाईं कत्तिको अध्ययनशील हुनुहुन्छ ? कस्ता पुस्तक, कस्ता लेखन तपाईंको रुचिमा पर्छन् ?
म समय मिलेसम्म अध्ययन गर्ने गर्दछु । मलाई अध्ययन गर्न असाध्यै रहर लाग्छ । मलाई लाग्छ कि, म अध्ययन गरेर कहिल्यै थाक्दिन । विद्यालयको खाली समय होस् कि भान्साको काम सकेको समय होस्, कुनै बिदाको दिन होस् मेरो प्राथमिकता अध्ययनलाई नै हुन्छ । हुन पनि अध्ययनले व्यक्तिलाई धेरै कुरा सिकाउँछ । विशेषगरी म लामो यात्रामा रहँदा पनि अध्ययन गर्ने गर्छु । जहिले पनि जहाँ जाँदा पनि मेरो झोलामा कुनै न कुनै पुस्तक भएकै हुन्छ । कति पुस्तक त मैले बसमा यात्रा गर्दा नै पढेर सकेको छु । त्यसैले मैले मात्र होइन कि, सबैले अध्ययन गर्ने बानी बसाल्नुपर्छ । मैले कति यस्ता मानिसहरु देखेको छु कि, उनीहरु आफ्नो सिर्जना सबैले पढिदिउन् भन्ने भाव राख्छ्न् । तर, आफूले कसैको सिर्जना पढ्दैनन् । यो गलत सोचाइ हो । त्यसै पनि आजभोलि सामाजिक संजालमा दिन बिताउनेको संख्या बढी छ । यसले समाजमा नकारात्मक असर पार्दछ ।हाम्रा बालबच्चाहरुमा पनि अध्ययन गर्ने बानीको विकास गर्न जरुरी छ । सबैको घरमा एउटा सानो भएपनि पुस्तकालयको आवश्यक छ जस्तो लाग्छ मलाई । म हरेक प्रकारको पुस्तक पढ्ने गर्छु तर पनि बिशेष गरि विशिष्ट ब्यक्तिका आत्मकथाका पुस्तक मेरो पहिलो रोजाइमा पर्दछन् । जसको अध्ययनबाट मैले धेरै प्रेरणा पनि पाएको छु ।

तपाईं शिक्षिका पनि हुनुहुन्छ । बाबुनानीलाई सिर्जनशील बनाउन शिक्षकको भूमिका कस्तो हुनुपर्छ ?
आजभोलि बाबुनानीहरु त्यति सिर्जनशील बन्न चाहँदैनन् । तर, पनि एउटा असल शिक्षकले उनीहरुलाई सिर्जनशील बन्न हर समय प्रेरित गर्नुपर्छ । विद्यार्थीहरुलाई आफ्नो अध्ययनसँगै प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलापमा सहभागी गराएर उनीहरुलाई सिर्जनशील बनाउनुपर्छ । यस्तै विभिन्न कथा, कविता, निबन्ध लेखन आदि प्रतियोगिता गराएर उत्कृष्टलाई पुरस्कार दिँदा पनि उनीहरुमा सिर्जनशील बन्ने रहर जाग्दछ । यस्तै चित्र बनाउन लगाउने, कुनै दृश्य वा चित्र देखाएर त्यसका बारेमा भन्न वा लेख्न लगाउने गर्नुपर्छ । आफू जान्ने छु भनेर आफंैमात्र एकोहोरो भनिरहने गर्नुहुन्न । विद्यार्थीभन्दा तपाईं धेरै जान्ने हुन सक्नुहुन्छ । तर, उसैलाई भन्न र लेख्न अभिप्रेरित गर्दा सिर्जनशीलता बढेर जान्छ । हाम्रो वरपरको वातावरणमा गणित, विज्ञान, समाज, भाषा सबै छ । किताबबाट भन्दा वातावरणबाट सिक्न उकास्नुपर्छ । यसो गर्दा हाम्रा बालबालिकाहरुमा सिर्जनशीलता बढाउन सकिन्छ ।

अहिलेसम्म आएकामध्ये महिला स्रस्टाले पढ्नैपर्ने पुस्तक कुन–कुन होलान् ?
सबै पुस्तकका आ–आफ्नै बिशेषता हुन्छन् । पुस्तक पढिसकेपछि त्यस पुस्तकबाट केहि न केहि जीवनोपयोगी कुरा पक्का पाइन्छ । खासै महिलाले यो नै पुस्तक पढ्नैपर्ने भन्ने हुँदैन । आफ्नो रुचिअनुसार जुन पुस्तक पढ्दा पनि हुन्छ । तर, मैले अध्ययन गरेको पुस्तकमध्ये पुष्पा बस्नेको ‘पुतलीको घर’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’, महेश थापाको ‘मरीचिका’, आनी छोइङ डोल्माको ‘फूलको आँखामा’, अमर न्यौपानेको ‘सेतो धरती’, ‘मलालाको जीवनी’जस्ता प्रेरणादायी पुस्तकहरु पढ्दा अझ राम्रो होला ।

पूर्वी चितवनमा पनि तपाईंहरू निकै सक्रियताका साथ साहित्यिक गतिविधिमा संलग्न हुनुहुन्छ । स्थानीय निकायबाट पनि राम्रो सहयोग मिलेको सुनिन्छ । खासमा कस्तो छ पूर्वी क्षेत्रको साहित्यिक अवस्था ?
पूर्वी चितवन पनि अहिले साहित्य क्षेत्रमा निकै अघि बढेको छ । विभिन्न साहित्यिक संस्थाहरुले आ–आफ्नो साहित्य गतिविधि अगाडि बढाएका छन् । यहाँको रत्ननगर नगरपालिकाले पनि राम्रो सहयोग गरेको छ । यो वर्ष ५ जना स्रष्टालाई साहित्य सम्मान पनि गरेको थियो । मेयर नारायण वन र उपमेयर विमला दुवाडी दुबै साहित्यलाई माया गर्ने व्याक्तित्व हुनुहुन्छ । यस्तै वडा नम्बर २ का वडाध्यक्ष तिलक पौडेल आफैं साहित्यकार हुनुहुन्छ । यस्तै रत्ननगर नगरपालिकाका सदस्य तथा प्रवक्ता राजेन्द्र हमाल पनि साहित्यलाई असाध्यै माया गर्नुहुन्छ । हामीले गरेका हरेक कार्यक्रममा तन–मन–धनले सहयोग गर्नुहुन्छ । तर, सबै स्थानीय तहमा यस्ता काम भएका छैनन् । उहाँहरु(जन प्रतिनिधिहरु)लाई के भन्न चाहन्छु भने कुनै पनि देशको पहिचान भनेको त्यस देशको भाषा कला साहित्य नै हो । त्यसैले विभिन्न योजनामा छुट्याएका बजेटमध्ये कला र साहित्यलाई पनि छुट्याउन र सहयोग गर्न अनुरोध गर्दछु । समग्रमा भन्नुपर्दा पूर्वी चितवनको साहित्यिक माहोल उर्लंदो अवस्थामा छ ।

साहित्यमा रुचि राख्ने नयाँ पुस्तालाई के भन्नुहुन्छ ?
नयाँ पुस्तालाई साहित्यमा रुचि छ भने अध्ययनसँगै लेखन कार्यलाई पनि अघि बढाउन अनुरोध गर्दछु । मनले चाह्यो भने असम्भव केहि छैन । गर्न सक्छु भन्ने आँट, साहस र हिम्मत भने हुनुपर्दछ । विशेषगरी महिला स्रष्टालाई यो भन्छु कि, यहाँ हात समातेर माथि पु¥याउनेभन्दा खुट्टा तानेर तल झार्ने बढी छन् । त्यस्तालाई कलम र शब्दको युद्धले पछार्नुपर्दछ । जीवनका हरेक क्षेत्रमा स्वनिर्भरता बढाउन सकियो भने कसैले पनि कुनै अवस्थामा नारीलाई हेप्न सक्दैनन् । नारी–पुरुष दुबै समान हुन् भन्ने सत्यलाई प्रमाणित गर्न कर्म गर्दै जाऔँ र कर्ममाथि विश्वास गर्दै जाऔं । अवश्य सफल भइन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट