विप्लव काफ्ले
भरतपुर, २८ मंसिर
अण्डा उत्पादक किसान र अण्डा वितरकबीच विवाद चुलिएको छ । नेपाल अण्डा उत्पादक संघले कात्तिक २१ गतेको भेलाले फर्मबाट ठूलो अण्डा प्रति क्रेट २ सय ७५, मध्यम अण्डा २ सय ५५ रुपैयाँ कायम गरेको थियो । तर, चितवन नवलपुर दाना वितरक संघले प्रति क्रेट ५ रुपैयाँ कम राखी मूल्य निर्धारण गरेपछि विवाद चुलिएको हो ।
अण्डा बिक्रेताहरुको भेलाबाट फर्मबाट ठूलो अण्डा २ सय ७० र मध्यम अण्डा २ सय ५० मा उठाउने निष्कर्ष निकालेको थियो । तर, अण्डा वितरकले प्रति क्रेट २ सय ५० रुपैयाँसम्म अण्डा खरिद गरेर बेच्दै आएका थिए । उत्पादक संघले निर्धारण गरेभन्दा कम मूल्यमा अण्डा बेचेको पाएपछि मंसिर पहिलो हप्ता आक्रोशित किसानले केही फर्मका अण्डा नष्ट गरेका थिए । अण्डा उत्पादक संघले तोकेको मूल्यमा कारोबार नगरे, तोकिएको मूल्यको बिल नदिए, ढुवानी गर्दा संघको सिफारिसपत्र नलिए अण्डा रोकिन पुगे जवाफदेही नहुने सूचना नै निकालेको थियो । नयाँ मूल्य निर्धारण गरेपछि अण्डा बिक्रेताहरुको २७ गते शुक्रबार नेपाल कुखुरा व्यवसायी मञ्चको कार्यालय भवनमा बसेको समीक्षा बैठकमा तोडफोड भएको छ ।
आक्रोशित करिब ३० जनाको समूहले बैठकमा सहभागीलाई हातपात गर्ने, ज्यान मार्ने धम्कीसमेत दिएको छाता संगठन नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ । अध्यक्ष ऋषिराम पौडेलद्वारा जारी विज्ञप्तिमा ‘मञ्चको ध्यानाकर्षण भएको’ उल्लेख छ । विगतमा समेत अण्डा व्यवसायीले मञ्चको कार्यालयमा प्रवेश गरी यस्तै क्रियाकलाप गरेको हुँदा यस प्रकारका क्रियाकलाप गर्ने व्यक्तिहरुको पहिचान गरी हदैसम्मको कारबाही गर्न स्थानीय प्रशासनलाई अनुरोध गरेको छ । मञ्चका सचिव रामलाल भुषाल, सदस्य विरबहादुर गुरुङलगायत अण्डा सप्लायर्स व्यवसायीलाई अभद्र व्यवहार भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
अण्डाको मूल्यमै विवाद
उत्पादक र वितरकहरु अण्डाको मूल्यमै समानता नभएको स्वीकार गर्छन् । अण्डा, दाना सप्लायर्सहरुको संस्था चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे हालको मूल्य बढाएर नयाँ मूल्य कायम गर्न खोज्दासमेत विरोध भएको बताउँछन् । “किसानलाई बचाउनै हामीले २ सय ५० बाट बढाएर २ सय ७० मा उठाउने निर्णय गरेका थियौँ”, उनले भने, “त्यही पनि विरोध भयो, २ सय ७५ मै किन्नुपर्छ भन्दै धम्काउने काम भएको छ ।” उनले अहिले धादिङ, मकवानपुर, बनेपा, काभ्रेलगायत जिल्लामा समेत अण्डा उत्पादन बढेपछि अण्डाको मूल्यमा गिरावट आएको दाबी गर्छन् ।
“अण्डाको मूख्य बजार काठमाडौं हो, अन्य जिल्लाबाट सस्तोमा अण्डा जान्छ”, उनले भने, “यहाँ हामीले २ सय ७० कायम गर्न खोज्दासमेत उल्टै आरोप खेप्नुप¥यो ।” उनका अनुसार संघमा १ सय ६ जना आबद्ध छन् । चितवन, नवलपुरबाट दैनिक सरदर ४ हजार पेटी अण्डा सप्लाई हुने गरेको उनले बताए । १ पेटीमा ७ क्रेट हुन्छ । १ क्रेटमा ३० अण्डा हुन्छन् । “अण्डा वितरकलाई नदिनुस्, बरु आँफै बढी मूल्यमा बेच्न पाउने अधिकार छ”, पाण्डेले भने, “बजार मूल्य नै नपाएका बेला बढी मूल्य दिएर वितरकले किन्न सक्दैनन् ।”
नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी ‘विचौलिया’ हावी भएको बताउँछन् । “उत्पादकले मूल्य निर्धारण गर्ने हो, यहाँ वितरकले नै मूल्य तोकेको अवस्था छ”, उनी भन्छन्, “संघले तोकेको मूल्यमै कारोबार गर्न सबै किसान सहमत छन् ।” उनका अनुसार देशभरिको अण्डा उत्पादन र खपतलाई ध्यानमा राखेरै संघले मूल्य तोकेकाले घटाएर अर्को मूल्य नतोक्न चेतावनी दिए । उनका अनुसार प्रतिगोटा अण्डा उत्पादन गर्दा ११ रुपैयाँ लागत पर्छ । दानाको मूल्य १ वर्षको अवधिमा २० प्रतिशतसम्म बढेको छ । “सस्तोमा पाए अण्डा उठाउने, नत्र छोड्ने काम अब रोकिनुपर्छ”, उनले भने, “सधै किसानलाई मारमा पार्न नदिन संघ तयार छ ।” उनले शुक्रबार अण्डा बिक्रेतामाथि भएको अभद्र व्यवहार गर्ने काममा संघको कुनै भूमिका नरहेको जीकिर गरे । “तोडफोड, अभद्र गर्न हामीले पठाएका छैनौँ”, उनले भने, “आक्रोशित समूहबारे हामी बेखबर छौँ ।”





