धु्रवराज खनाल
रत्ननगर, २८ मंसिर
आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ चितवनको सौराहामा हात्ती महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा आगामी पुस १० गतेदेखि १८ गतेसम्म १६ औं संस्करणको हात्ती महोत्सव हुन लागेको हो ।
लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनुका साथै वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्न र सचेतना फैलाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको शुक्रबार सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसवर्षको नारा ‘हात्ती मेरो साथी’ राखिएको छ । बाघमारा सामुदायिक वनको चौरमा हुने महोत्सवमा हात्तीसँग सम्बन्धित गतिविधि समावेश हुनेछन् ।
हात्ती महोत्सवका संयोजक एवं क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष राममणि खनालका अनुसार महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फास्टवाक प्रतियोगिता, हात्तीका छावाहरुको रोमाञ्चकारी फूटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती पेन्टिङ प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।
नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको यसपालिको महोत्सवलाई महत्वका साथ लिइएको छ । भ्रमण वर्षकै कारण यसअघि हटाइएको टाँगादौड, गाडादौड र डुँगादौडलाई यसवर्ष फेरि समावेश गरिएको छ । महोत्सवको समयावधि लम्बिएकाले ती खेलहरुलाई पुनः समावेश गरिएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले बताए ।
भ्रमण वर्षलाई लक्षित गर्दै यसपालिको महोत्सवको समयावधि थप गरिएको छ । सौराहामा भ्रमणको शुभारम्भका लागि यसवर्ष ४ दिन समय थपिएको क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईले बताए । “प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ सौराहाबाट गर्न लागेको छ”, संघका अध्यक्ष भट्टराईले भने, “सरकारले नै अपनत्व लिन लागेकाले यसपालिको हात्ती महोत्सवको महत्व बढ्नेछ ।”
यसअघि पुस ११ देखि १५ गतेसम्म महोत्सव हँुदै आएको थियो । तर, यसवर्ष पुष १० देखि १८ गतेसम्म लम्ब्याइएको हो । प्रदेश ३ सरकारले पनि हात्ती महोत्सवलाई अपनत्व ग्रहण गर्न लागेकाले यसपालिको महोत्सव थप गरिएको भट्टराईले बताए ।
महोत्सव सम्पन्न गर्नका लागि कूल १ करोड १८ लाख ९१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ । पत्रकार सम्मेलनमा रत्ननगर–६ का वडाध्यक्ष बलराम दाहाल, क्षेत्रीय होटल संघ–चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरे, क्षेत्रीय रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङले हात्तीको महत्वबारे जानकारी गराउँदै यसपालिको महोत्सवले भ्रमण वर्षलाई फाइदा पु¥याउने विश्वास व्यक्त गरे ।





