चितवनको पहाडी क्षेत्रमा ‘बालकृष्ण सर’ भनेपछि नचिन्ने कमै हुन्छन् । चेपाङ समुदायको बाहुल्य रहेको पहाडी क्षेत्रमा उनी खटेको सत्र वर्ष भयो । चितवनको अत्यन्तै विकट मानिने कान्दा गाउँमा शहरको थोरै भनेपनि नाता जोडिनुमा उनको भूमिका महत्वपूर्ण छ ।
राप्ती नगरपालिकाको कान्दामा रहेको कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् बालकृष्ण थपलिया । पैदलयात्राको दूरीको हिसाबले जिल्ला सदरमुकामबाट सबैभन्दा टाढा रहेको गाउँ यही हो । धादिङ जिल्लासँग सीमाना जोडिएको यस गाउँ पुग्न पूर्व–पश्चिम राजमार्गको भण्डाराबाट करिब डेढ घण्टा गाडी चढेर ६ घण्टा भन्दा बढी पैदल यात्रा गर्नुपर्छ । शिक्षाको माध्यमबाट यस गाउँको मुहार फेर्न उनी निरन्तर लाग्दै आएका छन् ।
२०६७ सालको जेठ महिनामा विषालु च्याउ खाएर बिरामी परेको चेपाङ परिवारलाई अस्पतालसम्म ल्याउने उनै थिए । त्यतिखेर एकै परिवारका सात जनालाई बचाउन नसके पनि एक नाबालक बाँचे । मुख्य कुरो त त्यो समयमा उनले सक्रियता नदेखाएको भए आजको दिनमा पनि कान्दा गाउँ अनकन्टार रहन्थ्यो भन्दा अतिशयोक्ति हुँदैन ।

चितवनमा यति विकट ठाउँ छ र यहाँ पनि मानव समुदायकै बसोबास छ भन्ने कुरा धेरैलाई त्यही समयबाट थाहा भयो । लगत्तै यस गाउँको विकासमा, यहाँका स्थानीय बासिन्दाको सहयोगमा केही गर्न सकिन्छ कि भन्ने सोच राखेका सामाजिक संस्था तथा अभियान्ताहरु कान्दा पुगे । रुपान्तरण अभियानको अभिलाषा बोकेर गाउँ उक्लिएका मितेरी फाउण्डेसन र लक्ष्मी प्रतिष्ठान नामका सामाजिक संस्थाहरुको सहयोगले अहिले कान्दा गाउँको मुहार फेरिँदैछ ।
अहिले यहाँ सुविधा सम्पन्न छात्रबास छ । छात्रबासमा करिब डेढ सय चेपाङ बालबालिकाहरु बसेर पढ्छन् । स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरुमा सहभागी गराइएको छ । उनीहरुलाई आयआर्जनमा प्रोत्साहन गर्न उन्नत जातका बीउ वितरण गर्नेदेखि पशुपालनमा सहयोग पनि भए । बेला–बेलामा स्वास्थ्य शिविर पनि सञ्चालन भए । घर–घरमा रोपिएका स्याउ, ओखर, रुद्राक्षका बिरुवा बढेर फल दिन थालिसकेका छन् । यी सबै कामको सुत्रधार हुन् उनै शिक्षक थपलिया ।
वीरेन्द्र आदर्श माविबाट एसएससी र जनआदर्श बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तहको पढाइ सकेका थपलिया २०५९ सालमा कान्दा पुग्दा विद्यालयको भवन खरले छाएको झुप्रोमा थियो । तीन कक्षासम्म पढाइ हुन्थ्यो । शिक्षक उनी एक्लै लिए । त्यही पनि निजीस्रोतमा । तत्कालीन लोथर गाविसले मासिक २ हजार ५ सय रुपैयाँ तलब दन्थ्यो ।
उनका दाजु कमलबहादुर यस गाउँमा प्रौढ शिक्षा पढाउँथे । उनीमार्फत बालबालिकाले पढ्न पाएनन् भन्ने थाहा पाएपछि यहाँ विद्यालय खोलियो । दाजु आफूले पढाउन छाडेपछि भाइ बालकृष्णलाई शिक्षकका लागि आग्रह भयो । करिब ९ महिना भारतको पञ्जाबमा होटलमा काम गरेर फर्किएका बालकृष्णले कान्दा जाने निधो त गरे तर त्यहाँ पुग्न उनलाई हम्मे भयो । उनलाई लिन गाउँका अगुवा सीताबहादुर चेपाङ विरेन्द्रनगर झरेका थिए । सीताबहादुर सम्झन्छन्, “धेरै हिँडेका बानी रहेनछ । तुरुक्कै आँसु झारे । काफल, ऐंसेलु खुवाउँदै बल्ल–बल्ल गाउँ पु¥याएँ ।”
मोटरबाटो नहुँदा वीरेन्द्रनगरबाट हिँडेर कान्दा पुग्न १२ घण्टा लाग्थ्यो । विगत सम्झँदै थपलिया भन्छन्, “त्यतिखेर म नआएको भए विद्यालय बन्द हुन्थ्यो । यस्तो अनकन्टार ठाउँमा को आओस् ।” अहिले पनि जागिरका लागि यहाँ जान कोही पनि सहजै स्वीकार्दैनन् । “बिस्तारै गाउँको माया लाग्न थाल्यो । गाउँलेले पनि ‘सर’ भनेर माया गर्न थाले”, थपलिया भन्छन्, “पैसा कमाउनेभन्दा पनि यस गाउँलाई केही त गर्नैपर्छ भन्ने भयो ।” कमजोर आर्थिक अवस्थाका कारण सानोमा दुःख गरेर हुर्किएका कारण गरीबका दुःख बुझ्न सहज हुने बताउँछन् उनी ।

२०६२ सालमा राहत कोटा विद्यालयमा पनि पुगेपछि भने उनलाई पनि राहत मिल्यो । उनी राहत कोटामा गए । पहिलेको निजीस्रोतमा अर्का शिक्षक आए । विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन थाल्यो । “२०६७ सालमा च्याउले मान्छे मरेपछि गाउँको बारेमा धेरै कुरा बाहिर आयो”, उनले भने, “त्यसपछि नै होला सरकारी निकायले पनि अल्लि ध्यान दिन थालेको । निजी संस्थाहरुले पनि धेरै सहयोग गरे ।” गाउँमा सुविधा सम्पन्न छात्राबास नै बन्यो । विद्यालयका कक्षा कोठा ठूला र व्यवस्थित बने । त्यसले एउटै कक्षामा धेरै कक्षाको पढाइ सञ्चालन गर्नुपर्ने बाध्यता हट्यो ।
अहिले कक्षा १ देखि ८ सम्म पढाउने मान्यता पाएको छ । माथिल्लो कक्षा नहुँदा पहिले विद्यार्थीहरु कक्षा ५ मै दोहो¥याएर/तेहे¥याएर पनि पढ्थे । अहिले ५ जना सरकारी र ५ जना निजी श्रोतबाट गरी १० जना शिक्षक शिक्षिकाहरु यहाँ अध्यापन गर्दछन् । यहाँ पढेका केही विद्यार्थीहरुले एसएलसी परीक्षा उत्तीर्ण गरिसकेका छन् । केही विभिन्न विद्यालयहरुबाट एसईई परीक्षा दिने तयारीमा छन् ।
थपलियाको अबको लक्ष्य गाउँमा कक्षा ८ सम्म नियमित आवासीय पढाई सञ्चालन गरेर विद्यार्थीमार्फत अभिभावकलाई जागरुक बनाउने छ । कान्दामा पर्यटकीय संभावना पनि प्रचुर रहेको उनी बताउँछन् । यसका लागि सरकारी निकायलाई निरन्तर घचघच्याई रहेको बताउँछन् उनी । “स्थानीय सरकारको ध्यान यहाँ सम्म पुग्न सकेकै छैन”, उनी भन्छन्, “गाउँसम्म सडकको पहुँच पु¥याउने, गाउँमै विद्युत् उत्पादनको वातावरण बनाउने, स्थानीय बासिन्दालाई उन्नत बालीको उत्पादन तथा उन्नत जातको पशुपालनमा प्रात्साहित गर्न प्रयास गरिरहेका छौं ।” पेशाले शिक्षक भएपनि गाउँको अगुवाको भूमिकासमेत निर्वाह गर्नुपर्ने अवस्था रहेको भन्दै उनी भन्छन्, “सकिञ्जेल गाउँकै सेवामा लाग्नेछु ।”
२०३८ साल फागुन १५ गते साविकको भण्डारा गाविस–३ मा जन्मिएका थपलियाको श्रीमती र १–१ जना छोरा–छोरी छन् ।
प्रस्तुतिःराजेश घिमिरे




