४ महिनामै १ अर्ब ७४ करोड लगानी

विप्लव काफ्ले
भरतपुर, ४ मंसिर

चितवनमा यो वर्ष ७ सय ५१ वटा घरेलु तथा साना उद्योग खुलेका छन् । साउनदेखि कात्तिकसम्मको यो आँकडा निकै उत्साहजनक देखिएको छ । यो वर्षमात्रै १ अर्ब ७४ करोड १० लाख ४३ हजार लगानी थपिएको छ । गतवर्षमा ३ अर्ब ९९ करोड ७४ लाख ६ हजार पुँजी लगानी थपिएको थियो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार गतवर्षमा १ हजार ६ सय ८८ नयाँ दर्ता भएका थिए ।
“४ महिनामा दर्ता हुने दर सन्तोषजनक देखिएको छ”, कार्यालयका सूचना अधिकारी सुदर्शन पौडेलले भने, “दिनहुँ कार्यालयमा भीड हुन्छ ।” उनका अनुसार कृषि तथा वनतर्फका लघु उद्यम धेरै दर्ता प्रक्रियामा आएका छन् । कृषि तथा वनतर्फ लघुउद्यम ३ सय ४३, घरेलु उद्योग ३, साना उद्योग ६० वटा सहित कूल ४ सय ७ दर्ता भएका छन् । पर्यटनतर्फ १ सय २४, उत्पादनमूलकमा १ सय १८, सेवामूलक १ सय, सूचना, प्रसारणतर्फ १ दर्ता भएका छन् । “स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बन्दै गएको छ”, उनी भन्छन्, “लगानी पनि बढेको छ ।” चितवनमा हालसम्म १२ हजार ३६ वा घरेलु तथा साना उद्योग छन् ।

महिला अगाडि

कार्यालयको तथ्यांकानुसार ४ महिनाको अवधिमा दर्ता भएका घरेलु तथा साना उद्योगमध्ये महिला पुरुषभन्दा दोब्बर छन् । लगानी गर्नेमा ६ सय ६९ महिला छन् भने ३ सय ३६ जना पुरुष छन् । महिलाले दर्ता गर्दा ३५ प्रतिशत बढी छुट पाउने भएकैले महिलाहरु उत्साहित बनेका हुन् । दर्ता गर्दा सञ्चालकले बुझाउने विवरणका आधार केलाउँदा १ हजार ६ सय ८७ जना महिलाले यो वर्ष नयाँ रोजगारी पाएका छन् । पुरुषतर्फ ६ सय ५१ जनाले मात्रै पाएको देखिन्छ ।

नवीकरण र खारेजी गर्न आउने उस्तै

कार्यालयका अनुसार ४ महिनामा २ सय ८८ उद्योगको नवीकरण भएको छ । २४ वटा बन्द भएका छन् । गत वर्ष १ हजार ५ सय ५१ वटाले नवीकरण गरेका थिए । २ सय २ वटा बन्द भएका थिए । पहिलो पटक नवीकरण गर्दा दर्ता भएको ५ वर्षपछि, त्यसपछि हरेक दुई–दुई वर्षमा नविकरण गर्नुपर्ने प्रावधान हुन्छ ।
यो वर्ष २४ वटाले लगानी बढाएका छन् । गत वर्ष १ सय ४१ वटाले लगानी बढाएका थिए । गत वर्ष ४१ करोड ४९ लाख ८ हजार पूँिज बढाइएको थियो । “उद्योग, व्यवसाय चलेन बन्द गरौँ भनेर आउने नगण्य छन्”, सूचना अधिकारी पौडेलले भने, “पारिवारिक कारण देखाउँदै ज्यादै कम बन्द गर्न आएका छन् ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट